काठमाडौं, २१ माघ । धितोपत्र बोर्ड र नेपाल स्टक एक्चेन्जका कार्यकारी अधिकृतबीचको झगडा दिनप्रतिदिन बढ्दै जाँदा नेपालको सेयर बजारमा एकपछि अर्को गर्दै पहिरो गएको छ ।
पहिरो रोकथाम गर्ने विषयमा नियमक निकायको रुपमा रहेको बोर्डले कुनै पहल गरेको छैन भने स्टकका प्रमुख भने आफ्नो विषय नभएको भन्दै चुपचाप बसेका छन् । आफ्नो गल्ती ढाकछोप गर्नका लागि कम्युनिस्ट नेतृत्वको सरकारलाई सेयर बजार फाप्दैन भन्दै हल्ला समेत फिजाइएको छ ।
बोर्डका अध्यक्ष रेवतबहादुर कार्की र स्टकका महाप्रबन्धक सीताराम थपलियाबीचको विवादका कारण सेयर बजार नराम्ररी प्रभावित भएको हो ।
दुवै जस्ता काण्डमा बात लागेका डा. रामशरण महतका कार्यकर्ता हुन् । डा. महतलाई थैली बुझाएर पद पड्काएका दुवै काँग्रेसीको कारण सेयर बजारमा समस्या पैदा भएपनि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई दोष लगाएर उनीहरु उम्कन खोजेका छन् । बोर्ड अध्यक्ष कार्की र स्टकका महाप्रबन्धक थपलियाले एकले अर्कोलाई जसरी भएपनि सिध्याएर नै छाड्ने योजनाका साथ लागेको बताइन्छ ।
त्यो रेबेले मलाई काम गर्न दिएन भन्दै थपलिया आफ्ना निकटस्थहरुसँग कार्कीलाई सिध्याउने कुरा गरिरहेको भेटिन्छन् भने कार्की पनि त्यो पिउसो म सँग निहुँ खोज्दो रहेछ भन्दै त्यसको सारा पोल मिडियामा ल्याएर छताछुल्ल पारिदिने बताउँदै आएका छन् ।
सेयर दलालसँग उठाएको रकमको भागबन्डा नमिल्दा उनीहरुबीच मारामारा सुरु भएको हो । जसका कारण स्टकका सारा निर्णय बोर्डले रोख्दै आएको छ । बोर्डले रोकिदिएका कारण स्टकलाई विद्युतीय बनाउनेलगायतका काम समेत प्रभावित हुँदै आएको छ ।
बोर्डले आफ्नो स्वीकृति बिना नै काम भएको भन्दै स्टकले पठाएका सबै फाइल सदर गर्नुपर्छ भन्ने कुनै बाध्यता नरहेको बताउँदै आएको छ । यतिसम्मकी कार्कीले थपलिया बोर्डमा आए त्यसलाई भित्र छिर्न समेत नदिनु भन्ने उर्दी जारी गरेका छन् ।
कार्कीको उर्दीका कारण थपलियाले पनि कार्की बोर्डमा रहुन्जेल आफू पनि त्यसको अफिस नजाने घोषणा नै गरेका छन् । दुई वटा साँढे जुध्दा तोरी बारी फाडिए जस्तै दुई काँग्रेसको पैसाको झगडाका कारण मुलुकको सेयर बजार नराम्ररी प्रभावित भएको जन आह्वान साप्ताहिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्