काठमाडौं, २३ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दक्षिणकोरियाली नागरिकको दुई हजार पाँच सय अमेरिकी डलर चोरी भएको छ ।
झन्डै १५ वर्षदेखि नेपालमा व्यापार गर्दै आएका कोरियाली नागरिक हुवा इन सुकको रकम चोरी भएको हो । सुक शुक्रबार साँझ कोरियन एयरबाट काठमाडौं आएका थिए । दक्षिणकोरियाको इन्चोन विमानस्थलबाट काठमाडौं आउने क्रममा सुकले पैसा भएको झोला ‘ह्यान्ड ब्याग’ बनाएका थिए ।
कोरियाली नागरिकको पैसा चोरी भएको घटनाबारे आफूहरूलाई जानकारी नभएको विमानस्थल प्रहरीले जनाएको छ । ‘ह्यान्ड ब्याग’ राख्ने ठाउँमा नअटेपछि कोरियन एयरका कर्मचारीले सुकको झोला अन्य सामान भएकै स्थानमा लगेर राखिदिएका थिए ।
सुकको अरू सामान कन्टेनरभित्र रहेकाले ह्यान्ड ब्यागमात्र कन्टेनरबाहिर पर्यो । त्यसमा सुकको अन्य सामग्रीका साथै पर्समा ५ हजार नेपाली रुपैयाँ र खामभित्र २ हजार ५ सय डलर थियो । उनले ल्याएको जम्मा तीन हजारमध्ये ५ सय डलर विमानस्थल अध्यागमनमा भिसा लिँदा चाहिने भिसा ‘फी’ तिर्न झिकेका थिए ।
शुक्रबार साँझ काठमाडौं ओर्लिएपछि सुकले ‘ह्यान्ड ब्याग’ हेर्दा खाममा भएको २ हजार ५ सय अमेरिकी डलर र पर्समा रहेको ५ हजार नेपाली रुपैयाँ नभएपछि विमानस्थल प्रहरीलाई खबर गरेको स्रोतले बताएको छ । कोरियाली नागरिकले रकम हराएको जानकारी दिएपछि विमानस्थलमा हल्लीखल्ली मच्चिएको थियो ।
‘म पैसा हराएकोमा कुनै नेपालीलाई दोष लगाउन चाहन्नँ’, कोरियाली नागरिक सुकले भने, ‘मेरो हराएको पैसाभन्दा नेपाल र दक्षिणकोरियाको सम्बन्ध माथि छ।’ नेपाल एयरलाइन्सले कोरियन एयरको ग्राउन्ड ह्यान्डलिङको काम गर्दै आएको छ ।
नेपाल एयरलान्यसका कर्मचारीले कोरियन एयरबाट आउने सम्पूर्ण सामान झार्ने र ल्याउने काम गर्छन् । कोरियन नागरिकको पैसा हराएको थाहा पाएपछि विमानस्थल प्रहरीले कोरियन एयरका कर्मचारी, लोडर र ग्राउन्ड ह्यान्डलिङमा काम गर्ने नेपाल एयरलान्सका कर्मचारीलाई सोधपुछ गरेको स्रोतले बताएको छ ।
प्रहरीले सीसीटीभी दृश्य हेर्दा कसैले पैसा लगेको देखिँदैन । जहाजबाट सामान निकाल्ने क्रममै उक्त रकम चोरिएको हुनसक्ने विमानस्थल स्रोतले बताएको अन्नपूर्ण पोस्टमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्