नुवाकोट,२४ माघ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नुवाकोटलाई त्रिदेशीय मार्ग बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
स्थानीय बट्टारमा आयोजित ‘चौथो नुवाकोट महोत्सव’को समापन अवसरमा मन्त्री डा महतले नुवाकोटबाटै भारत–नेपाल–चीन जोडिने छोटो दूरीको रक्सौल–वीरगन्ज–गल्छी–विदुर–धुन्चे–रसुवागढी–केरुङ नाका पुगिने भएका कारण आर्थिक रुपले समृद्ध जिल्ला बनाउन आफूले पहल गर्ने बताए ।
अर्को प्रसङ्गमा मन्त्रीले तीनै तहको निर्वाचन तोकिएको अवधिमा हुनुपर्ने बताए । संविधान संशोधन मधेसकेन्द्रित दलले भनेजस्तो नहुने समेत बताउँदै उहाँले भन्नुभयो, “मधेसवादी दलहरूले भनेजस्तो कुनै पनि हालतमा हुन सक्दैन, संविधान संशोधन सहमतिको आधारमा हुन्छ, सबैको आवश्यकता र मागलाई सम्बोधन हुने गरी सहमति खोज्नुको विकल्प छैन, सबैले केही लेनदेनलाई स्विकार्नुपर्ने हुन्छ ।”
कार्यक्रममा कृषि विकास राज्यमन्त्री राधिका तामाङले महोत्सवले नुवाकोट हुंँदै नेपाल–चीन जोड्ने रसुवागढी नाकाबाट विकास, उत्पादन, कृषि, उद्योगलगायत सम्भावना उजागर गर्न मद्दत पुगेको बताइन ।
एघार दिनसम्म सञ्चालित महोत्सवमा रु चार करोडभन्दा बढीको कारोबार भएको र दुई लाखभन्दा बढी दर्शकको सहभागिता रहेको आयोजक नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले बताए।
प्रतिक्रिया दिनुहोस्