चितवन, २६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासँग सहमति बनेपछि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने बताए ।
प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले वैशाख वा जेठमा निर्वाचन हुने बताउँदै मिति भने मधेसी मोर्चासहित अन्य दलसँगको सहमतिपछि मात्र तय गरिने बताए ।
मन्त्रिपरिषद्बाट निर्णय गरेर निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न भनिएको भन्दै प्रधानमन्त्रीले यो नै मिति तोक्नुसरह भएको बताए । प्रधानमन्त्री दाहालले भन्नुभयो “मधेसी मोर्चा र अरुलाई पनि सामेल गरेर चुनाव गराउनु छ, त्यसका निम्ति मात्रै प्राविधिक रुपमा गते नभनिएको हो ।
संविधान संशोधन विधेयक पारित गराउने पहिलो कोसिस हुने भन्दै प्रधानमन्त्रीले समझदारी बनाउन अप्ठ्यारो भयो भने अर्का प्रयास थालिने बताए । स्थानीय तहसम्बन्धी सम्पूर्ण ऐन बनिसकेको भन्दै प्रधानमन्त्रीले निर्वाचनका लागि आवश्यक पर्ने कुनै ऐन बन्न बाँकी छैन भने ।
उहाँले थ्रेसहोल्डसम्बन्धी ऐन अहिले भर्खर आवश्यक नरहेको बताए। स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमाथि कार्यदल बनाएर मन्त्रिपरिषद्ले १५ दिनको समयसमेत दिइसकेको पनि प्रधानमन्त्री भनाइ थियो । उनले सोही रिपोर्टका लागि दुई हप्ता सदन स्थगित गरिएको पनि बताए ।
स्थानीय तहको निर्वाचन हुनेमा कुनै शङ्का नरहेको भन्दै उहाँले तहसम्बन्धी ऐन बनेर पारित भइसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्