काठमाडौं, २८ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भुकम्प प्रभावित क्षेत्रमा ४ हजार स्वयंसेवक परिचालनको तयारी गरेको छ ।
प्राधिकरणले भूकम्प प्रभावितहरुलाई भुकम्प प्रतिरोधी घर निर्माणबारे जानकारी दिन आवश्यक रहेको निष्कर्षसहित चार हजार स्वयमसेवक परिचालनको तयारी गरेको हो ।
प्राधिकरणका सचिव डाक्टर सञ्जय शर्माले प्राधिकरणले स्नातक तहमा सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीलाई स्वयम्सेवकको रुपमा परिचालनका लागि एक हप्ते तालिम सुरु गरिसकेको बताए ।
उनका अनुसार पहिलो चरणमा पोखरा विश्वविद्यालय अन्र्तगतका १ हजार ५६ जना विद्यार्थीलाई तालिम सुरु गरिएको छ । तालिमपछि इन्जिनियरिङका विद्यार्थीलाई तीन सातासम्म भुकम्प प्रभावित क्षेत्रमा परिचालन गरिने छ ।
पोखरा विश्वविद्यालय वाहेक अन्य विश्वविद्यालय अन्र्तगतका ३ हजार विद्यार्थीलाई पनि तालिम दिएर प्रभावित क्षेत्रमा परिचालन गरिने सचिव शर्माले जानकारी दिए । प्राधिकरणले यसअघि भुकम्प प्रतिरोधी घर निर्माणका लागि भन्दै इन्जिनियरिङका करिब २ हजार ७ सय विद्यार्थीलाई इन्जिनियर र ओभरसियरका रुपमा परिचालन गरेको थियो ।
अहिले तिनै इन्जिनियर र ओभरसियरले भूकम्प प्रभावितहरुले सुरु गरेका घरको प्राविधिक जाँच गर्दै आएका छन् । प्राधिकरणले भुकम्पपछि जोखिमयुक्त बनेका वस्तीमध्ये हालसम्म १ सय १७ वटा वस्तीको मात्र भौगर्भिक अध्ययनको काम सकेको छ । प्राधिकरणले ४ सय ७५ वटा वस्तीलाई जोखिमयुक्त वस्तीका रुपमा पहिचान गरी भौगर्भिक अध्ययन थालेकामा हालसम्म ५६ वटा वस्ती सार्नुपर्ने देखिएको छ ।
प्राधिकरणका सचिव डाक्टर शर्माले जोखिमयुक्त वस्तीको भौगर्भिक अध्ययनका लागि १४ वटा टोली परिचालन भएकाले २ साताभित्र प्रतिवेदन आइसक्ने बताए । जोखिमयुक्त वस्ती स्थानान्तरण गरी एकीकृत वस्ती विकासका लागि विधि र मोडालिटी बनाउने काम भइरहेको प्राधिकरणले जनाएको कारोबार दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्