राजनीति

राप्रपाका शीर्ष नेता ,गाउँ,वडा,नगर र क्षेत्रमा भेटिदै



काठमाण्डौ ३फागुन । राप्रपा पार्टीलाई लोकतान्त्रिक बनाउनका लागि शीर्ष नेताले पनि वडा, गाउँ, नगर, क्षेत्र, जिल्लाबाट प्रतिनिधिका रुपमा निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ ।

राजधानीमा तीन दिनपछि हुन लागिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा तीन हजार तीन सय १५ प्रतिनिधिले भाग लिने भएका छन् ।

सो पार्टीको स्थानीय तहदेखि गरिएको प्रतिनिधि छनोटका क्रममा देशभरबाट त्यति सङ्ख्यामा प्रतिनिधि छनोट भएका हुन् । काठमाडौँको भृकुटीमण्डपमा फागुन ६ गतेदेखि ९ गतेसम्म हुने महाधिवेशनका लागि करिब ३ सय पर्यवेक्षक सहभागी हुने प्रवक्ता राजाराम श्रेष्ठले जनाएका छन् ।
तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरण भएको तीन महिनाभित्र एकता महाधिवेशन गर्न लागिएको छ । दुबै पार्टी एकीकरण अगाडि नै मुलुकलाई हिन्दू राष्ट्र कायम गराउनका लागि सहमत भइसकेका थिए ।

राजतन्त्रको बारेमा महाधिवेशनबाट निर्णय लिने भनिएको भए पनि पार्टीको आन्तरिक बैठकमा संवैधानिक राजतन्त्र कायम गर्ने समझदारी बनिसकेको बताइन्छ । सङ्घीयतालाई जनमतका आधारमा टुङ्गो लगाउनेबारेमा छलफल भइरहेको जनाइएको छ ।

निर्धारित समयमा महाधिवेशन सम्पन्न गर्नका लागि पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाको संयोजकत्वमा मूलसमारोह समिति गठन भइसकेको छ । उक्त समिति अन्तर्गत विभिन्न ११ उपसमिति समेत गठन भई तोकिएको जिम्मेवारीअनुसार काम भइरहेको जनाइएको छ ।