Banner News

प्रधानमन्त्रीले भने हामीबीच कुरा मिलिसकेको छ जेठमा होइन वैशाखमा नै स्थानीय तहको निर्वाचन हुन्छ



पाँचथर, ४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन प्रमुख राजनीतिक दलबीच अनौपचारिक रुपमा सहमति बनिसकेकाले अब जसरी पनि वैशाखभित्रमा स्थानीय तहको निर्वाचन हुने बताए।

पाँचथरको याङनाम र नागिनको सिमानामा बग्ने ‘हेवा खोला’ जलविद्युत् परियोजना ‘ए’ को आज उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो खुलासा गरेका हुन ।

प्रधानमन्त्रीले भने–“मङ्गलबार बेलुका र आज बिहान मात्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेको छु, अब चाँडै असमझदारीका विषयमा सहमति गरेर वैशाखभित्रमा स्थानीय तहको निर्वाचन गर्ने छौँ ।”

उहाँले अब संविधान आइसकेको हुँदा अब मुलक समृद्धितर्फ लम्कने बेला आइसकेको बताउनुभयो । उहाँले मुलुकलाई समृद्धितर्फ अघि बढाउन ऊर्जा क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै यो क्षेत्रमा लाग्न सबै सरोकारवालालाई आग्रह गरे ।

अब सरकारले साना लघुजलविद्युत् परियोजना मात्रै नभएर अब जलाशययुक्त ठाउँ पहिचान गरी त्यस्ता नदीबाट बिजुली उत्पादन गरी मुलुकलाई समृद्ध बनाउने लक्ष्यका साथ अघि बढेको बताए।

यस्तै कार्यक्रममा बोल्दै ऊर्जामन्त्री जनार्दन शर्माले काम गर्ने शैली परिवर्तन गर्दै नयाँ तौरतरिकाबाट मुलकलाई समृद्धितर्फ अघि बढाउन सकिने धारणा राखे ।