सम्पादकीय

नेपाल-चीन सैन्य अभ्यासको मोडालिटी तयार पारिँदै



काठमाडौं, ५ फागुन । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यासबारे छलफल भइरहेको छ । नेपाली पक्षले तयार पारेको मोडालिटीलाई अन्तिम रूप दिन चिनियाँ पक्षसँग छलफल गर्नुपर्ने भएकाले स्वीकृतिका लागि सो फाइल रक्षा मन्त्रालयमा पुगिसकेको छ ।

स्रोतका अनुसार संयुक्त सैनिक अभ्यासका लागि नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाका अधिकारीले अन्तिम धारणा बनाउने बारेमा नेपालमै बैठक अयोजना गर्ने तयारी भइरहेको छ । तयारी बैठककै लागि सेनाले रक्षा मन्त्रालयमा स्वीकृतिका लागि फाइल पठाएको हो ।

‘दुवै पक्ष साझा मोडालिटी निर्माणमा जुटेका छौं । मोडालिटी तयार भएपछि एकसाथ कस्तो अभ्यास हुने भन्ने बारेमा सार्वजनिक गरिनेछ,’ सैन्य स्रोतले भन्यो । सैनिक अभ्यासका लागि ‘प्रतिकार’ नाम दिइएको दुवै देशका उच्च सैनिक अधिकारी साझा रणनीति र कार्ययोजना बनाउन जुटेका छन् । अन्य मुलुकको सैन्य संरचनाभन्दा चिनियाँ सैन्य संरचना अलि फरक हुने भएकाले पनि दुवै पक्षले आन्तरिक तयारीमा जोड दिएका हुन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले अहिले नै सबै विषय टुंगो नलागिसकेको बताए । ‘तालिम सञ्चालनका लागि दुवै देशका सेनाबीच साझा धारणा बन्छ । तालिममा सहभागी हुने सैनिक संख्या, मिति, स्थान, अवधि, तालिमका क्षेत्रलगायत विषयमा अहिले छलफलकै क्रममा छ । अन्तिम टुंगो लागेपछि सार्वजनिक हुन्छ,’ सहायक रथी कार्कीले भने । उनका अनुसार प्लानिङ कन्फरेन्स बैठकले सबै विषय तय गर्नेछ ।

दुवै देशका सेनाबीच सन् २०१७ को मार्चभित्रै संयुक्त सैनिक अभ्यास गर्ने सहमति भइसकेको छ । संयुक्त सैनिक अभ्यास नेपाल र चीनबीच दौत्य सम्बन्ध कायम भएको ६३ वर्षमा पहिलोपटक हुन लागेको हो । सैनिक अभ्यासमा भारतसहित विभिन्न मुलुकका राजदूत तथा सैनिक सहचरीहरूलाई अतिथिका रूपमा बोलाइने सैनिक स्रोतले जनाएको छ ।

‘भारतसहित विभिन्न मुलुकका राजदूत तथा सैनिक सहचारीहरूलाई उद्घाटन समारोहमा निमन्त्रणा गर्ने हाम्रो योजना छ । यो तालिम विशेष महत्वको समेत हुनेछ,’ स्रोतले भन्यो । संयुक्त अभ्यासमा प्रतिविद्रोह, जंगल वारफेयर, सैनिक कूटनीति, नागरिक–सैनिक सम्बन्ध, पेसागत क्षमता अभिवृद्धिलगायत विषयहरूले प्राथमिकता पाउने सैनिक स्रोतको दाबी छ । गत पुसको अन्तिम साता चिनियाँ जनमुक्ति सेनाका अधिकारीहरू नेपाल भ्रमणमा आएको बखत संयुक्त सैन्य अभ्यासबारे छलफल भएको थियो । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले पुसको पहिलो साता बेइजिङमा पत्रकार सम्मेलन गरी नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सन् २०१७ भित्र सैन्य अभ्यास हुने घोषणा गरेका थिए ।

त्यसपछि चिनियाँ सैनिक अधिकारी सैनिक अभ्यासका लागि प्रारम्भिक छलफल गर्न नेपाल आएका थिए । सो विषयलाई लिएर भारतीय सञ्चार माध्यमले प्रमुखताका साथ समाचारसमेत सम्प्रेषण मात्र गरेनन्, भारतीय विदेश मन्त्रालयले भारतस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायसँग जानकारीसमेत लिएको थियो । भारतीय सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारका आधारमा नेपाली सञ्चार माध्यममा समेत समाचार प्रकाशित भएपछि परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले सैन्य अभ्यास नहुने सहमति नभएको बताएका थिए । त्यसको भोलिपल्ट नै चिनियाँ रक्षा मन्त्रालयले सैन्य अभ्यासको तयारी भएको बताएको थियो ।

१ अगस्ट १९५५ मा चीनसँग नेपालले कूटनीतिक सम्बन्ध विस्तार गरेको थियो । यो अवधिमा नेपाली सेनाका अधिकृतहरू विदेशमा तालिममा भाग लिँदै आएका छन् । चीनबाट पनि सहायक रथी स्तरका अधिकृतले ‘नेसनल डिफेन्स कोर्सरवार कलेज’ मा पनि भाग लिँदै आएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले भारत र अमेरिकासँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । नेपाली सेनाले भारतीय सेनासँग सूर्यकिरण नाम दिइएको संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । नेपाल–भारतका सेनाबीच सन् २०११ देखि संयुक्त सैन्य अभ्यास हुँदै आएको हो । गत ३१ अक्टोबरदेखि १३ नोभेम्बरसम्म रूपन्देहीको सालझन्डीमा नेपाल र भारतका सैनिकबीच ‘सूर्यकिरण–१०’ नामक सैन्य अभ्यास सम्पन्न भएको थियो ।

गत वर्ष मात्रे भारतको पिथौरागढमा नेपाल–भारत संयुक्त सैनिक अभ्यासको नवौं संस्करण ‘एक्स–सूर्यकिरण ९’ सम्पन्न भएको थियो ।सन् २०११ देखि हरेक वर्ष नेपाली र भारतीय सैनिकबीच संयुक्त सैन्य अभ्यास हुँदै आएका छ । सन् २०१२ जुनमा भारतको चौवत्तिया उत्तराखण्डमा यस्तै सैन्य अभ्यास भएको थियो । त्यसपछि भारतको पिथौरागढमा सेप्टम्बर–अक्टोबर २०१३ मा संयुक्त अभ्यास भएको थियो । नेपालले प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालय, अमलेखगन्जमा डिसेम्बर २०११ र डिसेम्बर २०१२ मा पनि संयुक्त अभ्यास आयोजना गरेको थियो । भारतीय सेनासँग अर्को सैन्य अभ्यास केही महिनापछि भारतमा हुने बताइएको छ ।

त्यस्तै, नेपाली सेनाले अमेरिकी सेनासँग ‘ब्यालेन्स नेल’ नामक संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । गत माघ १८ गते ‘ब्यालेन्स नेल १७–३०११’ नाम दिइएको संयुक्त अभ्यासमा नेपाली सेनाको महावीर गण (रेन्जर) र अमेरिकी सेनाको प्यासिफिक कमान्डको टोलीले संयुक्त सैन्य अभ्यास गरेको थियो ।
त्यस्तै, नेपाल र अमेरिकाबीच सन् २०१५ नोभेम्बर ३ देखि १७ दिनसम्म संयुक्त सैन्य अभ्यास भएको थियो । छिमेकी मुलुक चीनसँग भने नेपालले अहिलेसम्म सैन्य अभ्यास गरेको राजधानीमा समाचार छ ।