काठमाण्डौं ८,फागुन । आज निर्वाचनको मिति तोक्ने अपेक्षा गरिएको थियो । हिजो वालुवाटारमा मधेसी मोर्चा र प्रधानमन्त्री बीच भएको भेटघाटमा मोर्चाका नेताहरुले निर्वाचनको मिति घोषणाको विषयलाई लिएर असहमति जनाएका थिए । प्रधानमन्त्रीले आजै सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुसंग छलफल गरी निर्वाचनको मिति सम्भवत भोली गर्ने गरी सहमति गरेको स्रोतले जानकारी गरायो ।
भोलि सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोक्ने र संशोधन प्रक्रिया पनि अगाडि बढाउने सहमति गरेका छन्। बैठकले मधेसी मोर्चाको असन्तुष्टि मत्थर पार्नका लागि मधेसमा स्थानीय तहको संख्या बढाउने सहामति पनि वैठकले गरेको छ।
कांग्रेस–माओवादी केन्द्रको बैठकले स्थानीय निकाय पुनर्संरचना आयोगसँग छलफल गरी मधेसमा स्थानीय तहको केही संख्या थप्ने निर्णय गरेको हो। मधेस केन्द्रीत पार्टीहरुले निर्वाचन अघि संविधान संशोधनका साथै पहाड तथा मधेसका स्थानीय तहको संख्या जनसंख्याको आधारमा तोक्नु पर्ने पनि माग राख्दै आएका छन्।
तराईका २० जिल्ला र पहाड तथा हिमालका ५५ जिल्लामा जनसंख्याका झन्डै आधिआधि रहे पनि स्थानीय तहको संख्या भने पहाड तथा हिमालमा धेरै छ। आयोगले मुलुकभर ७१९ वटा गाउँ, नगरपालिकाको संख्या तोकेको छ। त्यसमध्ये तराईका २० जिल्लामा २४० अर्थात् ३४ प्रतिशत संख्या तोकेको छ भने पहाडी र हिमाली जिल्लामा ४७९ अर्थात् ६६ प्रतिशत स्थानीय निकाय तोकिएका छन्।
प्रतिक्रिया दिनुहोस्