शैक्षिक

२० हजार नागरिकको जीवनस्तर उकास्ने सिरिसे पुल चाँडै बन्ने



काठमाडौं, १२ फागुन । ओखलढुंगास्थित लिखु खोलाको सिरिसे पुल चाँडै निर्माण सम्पन्न हुने भएको छ ।

ओखलढुंगा क्षेत्र नम्बर २ का सांसद रामहरी खतिवडा र  स्थानियको पहलमा लामो समयदेखि निर्माण रोकिएको पुलको पुन निर्माण सुरु हुने भएको छ ।

सांसद खतिवडाले डिभिजन सडक कार्यालय ओखलढुंगाका डिभिजन इञ्जिनियर राकेश महर्जन, ठेकेदार र स्थानिय बासिन्दाको उपस्थितीमा गरेको बृहत छलफलपछि पुल निर्माणले गति लिने भएको हो ।

पाँच करोड ८६ लाख रुपैयाँ लागतका पुल निर्माण सम्बन्धी सम्झौतामा २०६९ असार २४ मा हस्ताक्षर भएको थियो ।  दुई बर्षमा निर्माण सम्पन्न हुनुपर्ने पुलको हालसम्म ५० प्रतिशत काम मात्रै भएको छ ।

‘२० हजार ओखलढुंगा बासीको जीवनसँग जोडिएको सिरिसे पुलको निर्माण अब चाँडै सकिन्छ, अब म आफैं ढुंगा बोक्न आउनु पर्छ भने पनि तयार छु तर पुल निर्माण हुन्छ’, सांसद खतिवडाले भने ।

उनले पुल निर्माणमा संकटकाल घोषणा गरेर काम अघि बढाउने र सबै खाले अवरोध चिर्न आफु तयार रहेको स्पष्ट पारे । पुलको माथी राखिने स्टिल स्टल ट्रसको डिजाइन भर्खरै पास भएको छ ।

चीतवनस्थित जलप नेपालले त्यसको निर्माण गरिरहेको छ । १८० टन तौलको पुलको तौल अहिले बढेर १९५ टन पुर्याइएको छ । दोलखाको ओम वुद्ध जेभीले पुल निर्माणको जिम्मा पाएको थियो ।

सांसद खतिवडाले आगामी दशैंमा पुल तयार भइसक्ने गरि काम गर्न निर्देशन दिए । अन्य तीन वटा पुलको निर्माण गरिरहेको कम्पनीले भने आगामी फागुनमा पुल तयार पार्ने बताएको छ ।

स्थानिय बासिन्दा जीत बहादुर रोक्काले ठेकेदारको लापरवाहीले पुल निर्माणमा ढिलाई भएको आरोप लगाए । त्यस्तै, अर्का स्थानिय देवेन्द्र पौडेलले पनि ठेकेदारको लापरवाही नै पुल निर्माणमा ढिलाईको कारण भएको बताए ।

गाम्नाङटार, टारकेराबारी, यसम, पोकली, नर्मदेश्वर, श्रीचउर लगायत १४ गाबिसका २० हजार नागरिकको जीवनस्तर उकास्न पुलले सहयोग पुर्याउने छ ।