काठमाडौं, १६ फागुन । उपत्यकाभित्र आगामी बुधबारदेखि २० वर्षभन्दा पुराना सवारीसाधन चल्न बन्देज लाग्ने भएको छ ।
यातायात व्यवस्था विभागका अनुसार पहिलो चरणमा सार्वजनिक प्रयोजनका सवारीसाधनको हकमा मात्रै यो नियम लागू हुनेछ । बुधबारदेखि उपत्यकाभित्र कालो नम्बर प्लेटका २० वर्ष पुराना बस, मिनीबस, माइक्रोबस, टेम्पो, ट्रक, पिकअप, ट्याक्सीलगायतका सवारीसाधन चल्न सरकारले रोक लगाउने भएको हो ।
विभागका अनुसार उपत्यकामा २० वर्षे गाडी सञ्चालनमा रोक लगाउने कार्य सफल भएपछि मुलुकभरका पुराना गाडी गुड्न प्रतिबन्ध लगाइनेछ । विभागले ३० फागुन ०७४ बाट मुलुकभर २० वर्ष पुराना गाडी सञ्चालनमा रोक लगाउने छ ।
निजी सवारीसाधनमा यो नियम लागू नहुनेः विभागका प्रवक्ता डा। टोकराज पाण्डेका अनुसार यो नियम निजी प्रयोजनका सवारीसाधनमा भने लागू हुनेछैन । ‘बुधबारबाट उपत्यकाभित्र २० वर्षभन्दा पुराना सवारीसाधन चल्न प्रतिबन्ध लगाइएको छ, तर निजी सवारीसाधनको हकमा भने यो नियम लागू हुनेछैन,’ उनले भने ।
२० वर्ष पुराना गाडीको संख्या २५ सय स् विभागका अनुसार उपत्यकाभित्र २० वर्ष पुराना सवारीसाधनको संख्या दुई हजार पाँच सय छ । पुराना सवारीसाधनका कारण वातावरण प्रदूषण, सवारी दुर्घटना, ट्राफिक जामजस्ता समस्या बढी देखिएकाले सञ्चालनमा प्रतिबन्ध गर्ने निर्णय गरेको विभागको भनाइ छ ।
‘पुराना सवारीसाधनले प्रदूषण बढाए । ट्राफिक जाम, सडक दुर्घटना, मेन्टिनेन्स तथा इन्धन खपत धेरै गरे । सहरको सौन्दर्यमा ह्रास पुगेकाले प्रतिबन्ध गर्ने निर्णय गरिएको हो,’ पाण्डेले भने । ट्राफिक प्रहरी महाशाखाका अनुसार सवारी दुर्घटनाका कारण मुलुकभर दैनिक पाँचजनाले ज्यान गुमाउँदै आएका छन् ।
उपत्यकामा भने प्रत्येक महिना १५ देखि २० जनाको ज्यान जाने गरेको छ । त्यसमध्ये ६७ प्रतिशत दुर्घटना चालकको लापरबाहीबाट हुने गरेको छ । यस्तै, १६ प्रतिशत दुर्घटना पुराना सवारीसाधनका कारण हुने गरेका छन् ।
कति गुड्छन् उपत्यकामा दैनिक गाडी रु स् काठमाडौं उपत्यकामा दैनिक ६ लाखभन्दा धेरैको संख्यामा सवारीसाधन गुड्ने गरेको यातायात व्यवस्था विभागको तथ्यांकले देखाएको छ । बागमती अञ्चलमा मात्रै नौ लाख २२ हजार नौ सय सवारीसाधन दर्ता भएका छन् ।
दर्ता भएकामध्ये अधिकांश सवारीसाधन उपत्यकाभित्र रहेका छन् । तथ्यांकअनुसार दर्ता भएकामध्ये ७० प्रतिशत सवारीसाधन दिनको एकपटक सडकमा निस्कन्छन् । यस आधारमा उपत्यकाभित्रका सडकमा मात्रै दैनिक ६ लाख ४६ हजार ३० सवारीसाधन गुड्ने गर्छन् ।
विभागका अनुसार उपत्यकाभित्र गुड्ने सवारीसाधनमध्ये सबैभन्दा धेरै मोटरसाइकलको संख्या रहेको छ । बागमती अञ्चलमा मात्रै सात लाख २२ हजार सात सय २२ मोटरसाइकल दर्ता भएका छन् । दर्ता भएकामध्ये अधिकांश मोटरसाइकल उपत्यकाभित्रकै सडकमा सञ्चालन हुन्छन् ।
विभागले उपत्यकामा बाहिर दर्ता भएका सवारीसाधन पनि सञ्चालन हुने गरेको जनाएको छ । तथ्यांकअनुसार ६० प्रतिशत सवारीसाधनको दर्ता उपत्यकाबाहिर छ । तर, विभागसँग उपत्यकामा भित्रिने सवारीसाधनको तथ्यांक नभएको नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्