Banner News

राजदूत उपाध्यायले भने भारतले नेपालमा हुन लागेको चुनावको कतै पनि विरोध गरेको छैन



काठमाडौँ, २० फागुन ।  भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले नेपालको चुनावलाई लिएर भारतको कुनै असन्तुष्टि नरहेको स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राजदुत उपाध्यायले भने,‘भारतले चुनावको कुनैपनि विरोध गरेको छैन, नेपालको संसद र मन्त्रिपरिषदले गरेको निर्णयलाई अरुलाई दोष दिएर हामी उम्कन मिल्दैन, त्यसैले अरुलाई दोष लगाउने बानीबाट नेपाल मुक्त हुनुपर्छ, र स्थानीय तहको निर्वाचन हुनैपर्छ, भारतले नेपालमा हुन लागेको चुनावको अहिलेसम्म कुनै विरोध गरेको छैन, र म सँगपनि कुनै असहमति व्यक्त गरेको छैन्।

’ उनले लोकतन्त्रको सुन्दर पक्ष भनेको नै चुनाव भएको जिकिर गर्दै भने,‘अब चुनाव हुनुपर्छ, त्यो आँफैले गर्ने हो, भारतलाई दोष दिएर हामी उम्कन मिल्दैन्।’
साक्षात्कारमा बोल्दै राजदुत उपाध्यायले राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणपनि छिट्टै हुने विश्वास दिलाए। उनले थपे,‘राष्ट्रपतिको भारत भ्रमणको लागि दुवै तर्फ प्रयत्नशील छौं, गृहकार्य अन्तिम चरणमा पुगेको छ, भ्रमण मिति छिट्टै घोषणा हुन्छ।’
नेपाल–भारत सम्बन्धमा अहिले कुनैपनि समस्याहरु नरहेको स्पष्ट पारे। उनले भने,‘सबै खाले चूनौतिहरु समाधान भैरहेको छन्, यो सकारात्मक कुरा हो।’ उनले नेपालमा लोडेसेडिङ् अहिले नहुनुमा पनि भारतको ठूलो हात रहेको स्पष्ट पारे।
उनले अन्तरदेशीय प्रशारण लाईन निर्माण भैसकेकोले भारतबाट ल्याईएको विजुली काठमाडौंसम्म ल्याउन सकिएको बताउँदै यसले लोडसेडिङ कमी गर्न ठूलो भूमिका निर्वाह गरेको विश्वास दिलाए।
उनले भने,‘अन्तरदेशीय प्रशारण लाईन निर्माण भएकोले हामीले विजुली पाएका छौं, अहिले हामीले थप १२० मेगावाट विजलुी माँगेका छौं।’ उनले विजुली उपलब्ध गराएकोमा मित्रराष्ट्र भारतलाई धन्यवाद दिनुपर्ने बताए। उनले अघि थपे,‘भारतकै कारणले नेपालमा लोडसेडिङ अन्त्य हुँदै गैरहेको छ, यो कुरा सबैलाई थाहा छ।’
नेपाल–भारत द्धिपक्षीय सम्बन्ध विश्वासमा परिणत भएको र अहिले उचाईमा पुगेको बताउँदै राजदुत उपाध्यायले भने,‘अहिले त द्धिपक्षीय ओभरराईड मेकानिज्म बनेको छ, रेलमन्त्री र वित्तमन्त्री पनि हालै काठमाडौं आउनुभयो।’ कुटनीतिज्ञ कला, कौशल राम्रो भयो र संयमित रुपमा प्रस्तुत गर्न सकियो भने द्धिपक्षीय सम्बन्ध अत्यन्तै सुमधुर हुने उनको विश्वास थियो।
उनले नेपालको समस्याको समाधान नेपाल आँफैले गर्ने भएकोले अरुलाई दोष दिनुभन्दापनि दलहरुवीच एकमत हुनुपर्नेमा जोड दिए। उनले थपे,‘अब चेत्नुपर्छ, समयले कसैलाई पनि प्रतिक्षा गर्दैन्, समय सिमाभित्रै हामीले सबै कामहरु गर्नुपर्छ, समय मुल्यवान छ।’ उनले संविधान कार्यान्वयनमा सबै दल एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। उपाध्ययाले थपे,‘जहाज डुब्यो भने सबै डुब्छौं, त्यसैले सबै सचेत भएर लाग्नुपर्छ।’
उनले स्थानीय तहको निर्वाचन धेरै वर्षपछि घोषणा भएकोले यसलाई सबैले भाग लिनुपर्नेमा जोड दिए। त्यस्तै धेरै वर्षपछि लगानी सम्मेलन भएकोले यो अत्यन्तै सकारात्मक काम भएको उनको भनाई थियो।