काठमाडौं, २१ फागुन । एमालेको तराईकेन्द्रित १५ दिने राष्ट्रिय जागरण अभियान आजबाट शूरु हुँदै छ ।
‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमानः राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान’ भन्ने मूल नाराका साथ झापाको काकडभिट्टाबाट सुरु हुने अभियानको उद्घाटन अध्यक्ष केपी ओलीले गर्दै छन् ।
६ भाषामा प्रचार र सांस्कृतिक अभियानः अभियानमा सहभागी हुन आह्वान गर्दै एमाले कार्यकर्ताले नेपाली, भोजपुरी, मैथली, अवधी, थारू र डोट्याल गरी ६ भाषाको अपिलसहित घरदैलो गरिरहेका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघको अगुवाइमा तराईका मातृभाषाहरूमा देशभक्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका पक्षमा सांस्कृतिक कार्यक्रम पनि गरिने भएको छ ।
दैनिक हाजिरी, मदिरा निषेधः एमालेले अभियानमा सहभागी हुने नेता–कार्यकर्ताका लागि १८ बुँदे तथा स्वयंसेवकका लागि नौबुँदे आचारसंहिता जारी गरेको छ । उनीहरूले दैनिक हाजिरीपुस्तिकामा हाजिर गर्नुपर्ने, सामूहिक मेस र आवासमा रहनुपर्ने, मदिरा र धूम्रपान सेवन गर्न नपाइनेलगायतका आचारसंहिता पालना गर्नुपर्नेछ ।
तराईवासीलाई अपाच्य हुने, बिझाउने या अनुचित लाग्ने कुनै कामकुरा गर्न निषेध गरिएको आचारसंहितामा छ ।
झापाबाट सुरु हुने मेचीकाली अभियानको दोस्रो दिन आइतबार मोरङको बिराटचोकमा आमसभा हुँदैछ । एमाले मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै संविधानका पक्षधरहरुको उपस्थितिमा हुने ऐतिहासिक सभा हुने जनाएको छ ।
एमाले मोरङका अध्यक्ष विनोद ढकालका अनुसार २२ गते विहान १० बजे उर्लाबारीमा स्वागत तथा कोण सभा हुनेछ । उर्लाबारीमा मोरङ क्षेत्र नम्बर १ र ९ का जनताले अभियानमा सहभागी टोलीको स्वागत गर्नेछन् ।
त्यसपछि मोरङ क्षेत्र नम्बर २, ४ र ९ नम्बर क्षेत्रका जनताको सहभागितामा पथरी, र कानेपोखरीमा स्वागत तथा झाँकी प्रदर्शन, बेलाबारीमा क्षेत्र नम्बर ३ का जनताको सहभागितामा सांस्कृतिक कार्यक्रम हुनेछ ।
त्यसपछि मोरङको कोशी हरैचा नगरपालिका अन्तर्गत विराटचोकमा विशाल सभामा परिणत हुने एमाले मोरङ अध्यक्ष ढकालले बताए ।
एमालेका अध्यक्ष केपीशर्मा ओलीले सम्बोधन गर्ने सभामा सहभागी हुन मोरङ क्षेत्र नम्बर ५, ६ र ७ का जनताले विराटनगर केन्द्रबिन्दु बनाएर विहान १० बजे विभिन्न स्थानबाट र्याली सहित सभास्थल जाने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्