झापा,२१ फागुन ।मेची–महाकाली अभियानमा तराईमा नेकपा पुगेको एमालेले अकस्मात केन्द्रीय कमिटीको संख्या विस्तार गरेको छ । झापाको बिर्तामोडमा शुक्रबार राति बसेको स्थायी कमिटीको बैठकले एकैपटक २० जना मधेसी र थारु नेताहरुलाई केन्द्रीय कमिटीमा प्रवेश गराएको छ ।
मेचीकाली अभियान सुरु गर्नुअघि एमालेले एकैचोटि २० जना मधेसी र थारु नेतालाई केन्द्रीय सदस्यमा थपेको हो ।
नेताहरु हिजो झापामा आएपछिशुक्रबार राति बिर्तामोडमा बसेको एमालेको स्थायी कमिटी बैठकले १२ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।मनोनयन हुनेहरुमा रघुबीर महासेठ, धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव र रामदयाल मण्डल, रामचन्द्र साह तेली, रवीन्द्र बैठा, हरीनारायण महतो, रत्नेश्वर गोइत, लालबाबु यादव र यदुवंश झा रहेका छन ।
यीमध्ये महासेठ, झा, गोइत र महतो धनुषा जिल्लाका हुन् । धर्मनाथ साह, धर्मनाथ यादव र रामचन्द्र यादव र गंगा यादव सिरहाका हुन् । त्यस्तै रामदयाल मण्डल महोत्तरीका हुन् भने तेली पर्सा र बैठा सर्लाहीका हुन् ।
त्यसैगरी बैठकले ८ जनालाई बैकल्पिक केन्द्रीय सदस्यमा मनोनय गरिएको छ । वैकल्पिक केन्द्रीय सदस्य हुनेमा नारदमणि राना थारु, जुली महतो, मञ्जु चौधरी, शान्ता चौधरी, हरी राजबंशी, सरोज यादव र सुधीर साह, सरला यादव र महम्मद हारून रहेको पार्टीका प्रचार विभाग प्रमुख एव सचिव योगेश भट्टराईले जानकारी गराए ।
साथै बैठकले कैलालीका हनुमान चौधरी र मायाराम चौधरीलाई केन्द्रीय सल्लाहकार परिषदमा मनोनयन गरेको छ ।
एमालेको केन्द्रीय कमिटी हाल वैकल्पिक सहित १८५ सदस्यीय थियो । २० जना थपिएपछि अब केन्द्रीय कमिटी २०५ सदस्यीय बन्न पुगेको छ । यसअघि केन्द्रीय कमिटीमा मधेसी र थारुको प्रतिनिधित्व १७ जना मात्रै रहेकोमा अब ३७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्