विराटचोक, २२ फागुन। मेची–महाकाली राष्ट्रिय अभियानको दोस्रो दिन आज एमालले मोरङको विराटचोकमा भव्य आमसभाको आयोजना गर्यो ।
विराटचोकको आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन सफल पार्न आह्वान गरे । उनले, अहिलेको आवश्यकता संविधान संशोधन नभएर तीनै तहको निर्वाचन भएकोमा जोड दिए ।
उपाध्यक्ष रावलले संविधान सभाको ९२ प्रतिशत बहुमतले पारित गरेको संविधानमा सबै नेपालीको हक अधिकार सुरक्षित भएको उल्लेख गर्दै संविधानलाई लिएर कहीँ कतै कमीकमजोरी भए आवश्यकता अनुसार सच्याउदै अघि बढ्न सकिने बताए ।
शनिवार बेलुका झापाको दमकमा विश्राम गरी आईतबार विहान मोरङको उर्लाबारीबाट सुरु भएको अभियान दिउँसो विराटचोक आईपुगेको हो । अभियानलाई बाटोमा पर्ने मुख्य बजारहरु पथरी, कानेपोखरी, लक्ष्मीमार्ग लगायतमा उपस्थित जनसमुहले भव्य स्वागत गरेको थियो ।
एमालेको अभियान आजै विराटचोकपछि सुनसरीको इटहरीमा आमसभा को कार्यक्रम तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्