राजनीति

मोर्चालाई मानवाधिकार समुदायले भने –एमालेको अभियानमा नविथोल



काठमाण्डौं, २२ फागुन। नेकपा एमालेले हिजोबाट शूरु गरेको मेची–महाकाली राष्ट्रिय अभियान नविथोल्न मधेसी मोर्चालाई मानवाधिकार संगठनहरुले आह्रवान गरेका छन् ।

मानवाधिकार रक्षकहरुको सञ्जालका तर्फबाट जवाफदेहिता निगरानी समितिका संयोजक चरण प्रसाईले आज एक बक्तव्य जारी गर्दै दलहरूको शान्तिपूर्ण गतिबिधिमा बाधा पुर्याउने कार्य अलोकतान्त्रिक भएको बताएका छन् । उनले मोर्चाको सो योजनाप्रति मानवाधिकार समुदायको पूर्ण असहमति रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

जारी वक्तव्यको यस्तो छ

लोकतन्त्रको प्राण नागरिक सर्वोच्चतामा रहेको हुन्छ । त्यसैले बिना त्रास र दबाब नागरिकले वार्ता गर्ने, तर्क गर्ने, सङ्गठित हुने, निर्वाध आवागमन, पेशा व्यवसाय गर्ने अधिकारलाई अन्तर्राष्ट्रिय र राष्ट्रिय कानुनले मौलिक र अनुल्लङ्घनीय नागरिक हककारूपमा व्यवस्थित गरेका छन् ।

नेपाल बहुदलीय लोकतान्त्रिक देश हो भन्ने कुरामा कसैको विमति छैन । बहुदलीय व्यवस्थामा नागरिकको सङ्गठित आवाजका प्रतिनिधि राजनीतिक सङ्गठनहरू नै हुन् । सभ्य राजनीतिको अगुवा प्रतिनिधिका रूपमा शान्तिपूर्ण सभा, तार्किक र निर्वाध कृयाकलाप गर्ने कामलाई आत्मसात गर्नु र सहयोग गर्नु राजनीतिक दलहरूको नियमित काम मात्र होइन कर्तव्य पनि हो ।

नेपालमा केही समय यता हाम्रा अगुवा राजनीतिक सङ्गठनद्वारा नै सङ्गठितरूपमा अर्काको अभिव्यक्ति गर्ने अधिकारउपर बाधा विरोध गर्ने चरित्र मौलाउँदै गएको छ । यसै सन्दर्भमा नेकपा एमालेद्वारा आयोजित मेची–महाकाली राष्ट्रिय एकता यात्रामा भिडन्त हुनसक्ने भनी मधेस केन्द्रित दलका अगुवाहरूको अभिव्यक्ति आएको छ । सप्तरीमा तिनका कार्यकर्ताले एमालेका प्रचारकलाई मोसो दलेका छन् । मधेसी मोर्चाले एमालेद्वारा पूर्वघोषित कार्यक्रमलाई बाधा गर्ने गरी समानान्तर विरोधका कार्यक्रमहरूको घोषणा गरेको छ ।

दलहरूको शान्तिपूर्ण कृयाकलापउपर बाधा पु¥याउने अलोकतान्त्रिक कृयाकलापप्रति हामी पूर्ण असहमत छौँ । मधेसी मोर्चालाई आफ्नो लोकतान्त्रिक छवि धुमिल हुन नदिनेतर्फ सचेष्ट रहनसमेत आग्रह गर्दै नेपाल सरकारलाई शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध गर्न ध्यानाकर्षण गर्छौँ । साथै आमनागरिकसमक्ष पनि अरुको तर्क र विचार अभिव्यक्ति गर्ने मौलिक अधिकारको सम्मान गर्न र मुठभेड निम्तने काममा सामेल नहुन अपिल गर्छौँ ।