Banner News

प्रधानमन्त्रीले मोर्चालाई भने– कुनै पनि राजनीतिक दलको कार्यक्रममा व्यवधान गर्नु हुँदैन



विराटनगर, २२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ कुनै पनि हालतमा स्थानीय निर्वाचन स्थगन नहुने वताए ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउनका लागि छलफल भइरहेको र स्थानीय तहको सङ्ख्यामा वृद्धि गरिएपछि मोर्चा निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे ।

स्थानीय तह पुनःसंरचना आयोगले आज प्रतिवेदन बुझाउने र तराई–मधेसमा केही तहको सङ्ख्या वृद्धि हुने जानकारी दिए । प्रान्तीय र संसदीय निर्वाचनका लागि संविधान संशोधन आवश्यक रहेको तर स्थानीय तहको निर्वाचनका लागि तत्काल नै आवश्यक नरहेको बताए ।

प्रधानमन्त्री दाहालले नेकपा एमालेको मेची–महाकाली अभियानलाई सकारात्मक रुपमा लिनुपर्ने उल्लेख गर्दै द्वन्द्वको अवस्था सिर्जना हुन नदिनका लागि मोर्चालाई वातावरण सहजीकरणतर्फ अग्रसर हुन सुझाव दिए । “कुनै पनि राजनीतिक दलको कार्यक्रममा व्यवधान गर्नु हुँदैन, एक अर्काको सम्मान गर्नुपर्ने लोकतन्त्रको नीति हो, कुनै अप्रिय घटना हुन नदिन सरकार गम्भीर छ उनले भने ।