काठमाडौं, २५ फागुन । निर्वाचन आचारसंहिता जारी भएको तीन दिनपछि शुक्रबार काभ्रे जिल्लाको कामिडाँडा पुगेका तत्कालीन नेकपा माओवादी जनमुक्ति सेनाका कमाण्डर एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले युद्धका भोगाइहरू सेनाको हेलिकोप्टरमा चढेर सम्झिएका छन् ।
त्यतिबेला सेनाको हेलिकोप्टर उड्दा पनि जमिनमुनी लुक्ने नेता अहिले त्यही सेनाको सुरक्षामा १० वर्षपछि कामिडाँडा पुग्दा द्वन्द्वका सम्झनामा डुब्न पुगे । प्रचण्डले सम्झँदै गए र जनसभामै भावुक हुँदै भने, ‘त्यो सल्लाघारीको जंगलभित्र हामीले धेरै दिन देशको, विश्वको र हामीले सञ्चालन गरेको युद्धको समीक्षा ग¥यौं ।
केही साथी द्वन्द्वमै जानुपर्छ, थप लडाइँका लागि अझै सेनाको विस्तार गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो, केही साथी शान्ति पूर्ण आन्दोलनबाट अगाडि बढ्नुपर्छ भन्नुहुन्थ्यो । जंगलै जंगल थुप्रै दिन लगाएर कामिडाँडा आयौं । मकवानपुरको फापरबारी हुँदै कामिडाँडा आउँदा राजधानीमा फौजी कारबाही र शान्तिपूर्ण आन्दोलनबारे समीक्षा गरेका थियौं । त्यहीबेला रिमको बैठक पनि बसालेका थियौं । मैले आज हेलिकोप्टर रोकेको त्यही चौरमा जनमुक्ति सेनाको टोलीलाई युद्धको अन्तिम संबोधन गरेको थिएँ । बंकर अझै बाँकी होलान् । विशेष प्रकारको हलमा हामीले दिएको प्रवचन ताजाजस्तै लाग्छ ।’
प्रचण्डले सम्झँदै गए, ‘हिजोजस्तो थियो आज कामिडाँडा उस्तै रहेछ । मलाई लाग्याथियो यो अझै विकासको पथमा गइसकेको छ । हिजोको कामिडाँडा र आजको कामिडाँडामा केही फरक पाइन । यसले नेपालको राजनीति र परिवर्तनमा ऐतिहासिक महत्व राखेको छ । तर, नेपालका प्रमुख राजनीतिक दल यसलाई स्विकार्न तयार छैनन् ।
प्रचण्ड भावुक हुनुअघि स्थानीय तथा पार्टीका नेता मर्दनसिं तामाङले पुरानो सत्ताले गरेको निर्णय कार्यान्वयन नहुँदा जनता हैरानीमा परेको गुनासो पोखेका थिए । पार्टीले ऐतिहासिक भन्ने तर कागजमा मात्रै सीमित हुँदा कामिडाँडाको विकास हुन नसकेको उनको गुनासो थियो । माओवादीले शुरु गरेको १० वर्षे आन्दोलनलाई शान्तिपूर्ण रूपमा अवतरण गराउने गरी आयोजित भूमिगत बैठक बसेको च्यासिङखर्क गाविसको कामिडाँडामा शुक्रबार पुगेका पुष्पकमल दाहाललाई स्थानीयले पुरानै सत्ताको निर्णय कार्यान्वयनका लागि सम्झाए ।
‘हामी नयाँ सत्तामा छौं, दुईपटक हाम्रो पार्टीका अध्यक्ष कमरेडले सत्ताको नेतृत्व गरिसक्नुभएको छ तर तपाईं नै हाम्रो कमाण्डर भएर गरिएको पुरानो सत्तालाई तिर्नुपर्ने बिजुली महसुलको राजश्व मिनाहा कहिले छुट हुन्छ ?’ एमाओवादी नेता तथा प्रस्तावित बेथानचोक गाउँपालिकाका संयोजक मर्दनसिं तामाङ ‘पेमा’ ले प्रश्न गरे । ‘हामी हाम्रो सत्ता कायम हुँदा गरिएको बिजुलीको महसुल नतिर्ने निर्णय तत्काल कार्यान्वनको माग गर्दछौं,’ उनले भने, ‘विगतमा हामीले गरेको निर्णयका कारण हजारांै व्यक्तिले महसुल बुझाएनन्, अहिले विद्युत् प्राधिकरणले कालोसूचीमा राख्दैछ ।’
मर्दनसिं तामाङले हिजोको कामिडाँडाले जनयुद्धमा पार्टीलाई ऐतिहासिक योगदान पु¥याएको स्मरण गराउँदै तत्काल सडक पक्की, कृषि पर्यटनलगायत योजनामा ध्यान पु¥याउन मागपत्र पेस गरे । विकास र पूर्वाधारले धेरै पछि परेको च्यासिङखर्कको कामिडाँडामा ढुंखर्क–बल्थली हुँदै गएको सडक र गोल्माकोट ढुंखर्क जाने सडक कालो पत्रे गर्न, डाँडापारिका १० गाविसलाई सडक सञ्जालमा जोड्न, कामिडाँडालाई चियाको पकेट क्षेत्र घोषणा गरी कृषि पर्यटकीय क्षेत्र घोषणा गर्न, बेथाञ्चोक नारायणस्थानलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न, बिजुलीको महसुल नबुझाएको कारण संकटमा परेका सर्वसाधारण र भूकम्प पीडितको गुनासो तत्काल संबोधन गर्न तामाङले प्रधानमन्त्री दाहाललाई पत्र बुझाएका हुन् । ‘१० वर्षअघि जहाँ थियौं, जस्तो थियो कामिडाँडा अहिले पनि त्यस्तै छ,’ उनले भने ।
१० वर्षपछि कामिडाँडा पुगेका माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धमा गरिएको कामको समीक्षा, देश र विदेशमा भएको घटनाक्रमको विश्लेषणसमेत गरी निर्णय लिएको ऐतिहासिक स्थान कामिडाँडा जस्ताको तस्तै भएकोमा दुःख व्यक्त गरे । ‘कामिडाँडा र चुनवाङ जनयुद्धको ऐतिहासिक निर्णय भएका स्थान हुन्, हामीले यसलाई कहिल्यै भुल्ने छैनौं, निर्वाचन आचारसंहिता लागेकाले कामिडाँडाबासीका मागलाई तत्काल संबोधन गर्न नसकिएला तर आगामी कार्यक्रम र बजेटमा समेट्नेछौं,’ प्रधानमन्त्रीले भने ।
०६२ सालमा कामिडाँडाबाटै माओवादीले संविधानसभामार्फत शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने निर्णय गरेको हो । त्यहीँ आयोजित केन्द्रीय कमिटीको भूमिगत बैठकमा अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीका नेता सहभागी भई रिमको बैठकसमेत बसेको थियो । माओवादी केन्द्रले शहिद सप्ताहको छैटौं दिन जिल्लाभरिका शहिद परिवारलाई निमन्त्रणा गरेको थियो । शहिद परिवार सम्मान तथा जनसभालाई संबोधन गर्दै प्रधानमन्त्री दाहालले जनमुक्ति सेनालाई अझै फराकिलो बनाएर युद्धलाई अघि बढाउने कि शान्ति–सम्झौतामा जाने भन्ने गरमागरम बहस भएको स्थान कामिडाँडालाई बिर्सन नहुने बताए । ‘हामीमा ठूलो बहस भयो, शान्ति–सम्झौतामा जाने कि लडाइँमै जाने भन्ने दोधार रह्यो ।’
कार्यक्रममा माओवादी नेता अमिक शेरचन, कमानसिं लामा, सूर्यमान दोङ, रुकु चौलागार्इं, इन्द्रबहादुर थिङ, पेमा लामालगायतले कामिडाँडाको चर्चा गरेका थिए । काभ्रेमा माओवादीका २ सय ८० जना कार्यकर्ता युद्धका क्रममा मारिए भने २० भन्दा धेरै परिवारका सदस्य अझै बेपत्ता छन् । साँस्कृतिक कार्यक्रमसँगै आयोजित जनसभामा कांग्रेस, एमाले पार्टी परित्याग गरी पार्टी प्रवेश गर्नेहरू पनि थिए ।
तत्कालीन माओवादीले काभ्रेको कामिडाँडालाई आधार इलाकाको रूपमा लिएको थियो । महाभारतको काखैमा रहेको कामिडाँडा विश्वमै चर्चित छ । रोल्पाको थवाङ, रुकुमपछि काभ्रे जिल्लाको दुर्गम भेगमा पर्ने कामिडाँडा सशस्त्र द्वन्द्वको समयदेखि चर्चामा थियो । भौगोलिक विकटताका कारण कामिडाँडा सशस्त्र युद्घमा होमिएका माओवादीका लागि सुरक्षित स्थल हुने नै भयो त्यसैले युद्धभर तिनले कामिडाँडामा कब्जा जमाए ।
सदरमुकाम धुलिखेलभन्दा ३५ किलोमिटर टाढा रहे पनि विकासबाट वञ्चित कामिडाँडामा माओवादीले एशियाली मापदण्डमा पु¥याउने घोषणा गरेपछि स्थानीयमा खुशीको सीमा रहेन । जनआस्था साप्ताहिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्