सम्पादकीय

सरकार बलियो बनाउन राप्रपाका तीन मन्त्री थपिए, गच्छदार पनि चाँडै सरकारमा जाने



काठमाडौं, २७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनः विस्तार गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका तर्फबाट उपप्रधानसहित दुई मन्त्री र एक राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्रीले राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्रीमा नियुक्त गरेका छन् ।

राप्रपाकै प्रमुख सचेतक दिलनाथ गिरीलाई संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ । राप्रपाका परशुराम तामाङलाई पर्यटन राज्य मन्त्रीमा नियुक्त गरिएको छ । योसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् ४६ सदस्यीय भएको छ । नवनियुक्त मन्त्रीहरूले बिहीबार साँझ नै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

राप्रपाका तीन मन्त्री थपिएसँगै केही मन्त्रीहरूको जिम्मेवारीसमेत हेरफेर गरिएको छ । यसअघि माओवादी केन्द्रका कोटाबाट स्थानीय विकासमन्त्री बनेका हितराज पाण्डेको ठाउँमा राप्रपा अध्यक्ष थापालाई लगिएको हो । मन्त्री पाण्डेलाई विनाविभागीयका रूपमा राखिएको छ ।

यता, कांग्रेसको कोटामा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको ठाउँमा राप्रपाकै दिलनाथ गिरीलाई लगिएको हो । शाहीलाई भने खानेपानी तथा सरसफाइमन्त्रीको जिम्मा दिइएको छ । खानेपानी तथा सरसफाइमन्त्री रहेका प्रेमबहादुर सिंहलाई विज्ञान तथा प्रविधिमन्त्री बनाइएको छ । विज्ञान मन्त्रालय यसअघि प्रधानमन्त्री स्वयंले हेर्दै आएका थिए । यता, राप्रपाका तर्फबाट यसअघि नै दीपक बोहरा आपूर्तिमन्त्री तथा विक्रम पाण्डे भूमि सुधार तथा व्यवस्थामन्त्रीका रूपमा सरकारमा सहभागी बनेका थिए ।

सरकारले संविधान संशोधनमा दुई तिहाइ पु¥याउने उद्देश्यले मन्त्रिपरिषद् विस्तार गरेको हो । यता, सरकारभन्दा बाहिर रहेको विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई पनि सरकारमा सहभागी गराउने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । ‘छलफल भइरहेको छ, उहाँहरू पनि चाँडै सरकारमा सहभागी हुनुहुनेछ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो । प्रधानमन्त्री प्रचण्डले यसअघि नै गच्छदारलाई सरकारमा सहभागी गराउने खोजेको प्रयास उपप्रधानमन्त्रीको वरीयता क्रममा विवाद देखिएपछि असफल बनेको थियो ।

गच्छदारले उपप्रधानमन्त्रीसहित भौतिक मन्त्रालय वा सञ्चार मन्त्रालयमध्ये एकमा चासो देखाएका छन् । तर, उपप्रधानमन्त्रीमा भने दोस्रो वरीयता हुनुपर्ने गच्छदारको अडान छ । नेपाली कांग्रेसको तर्फबाट उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका विमलेन्द्र निधि प्रधानमन्त्रीपछिको दोस्रो वरीयतामा छन् । गच्छदारले आफू दोस्रो वरीयतामा हुनुपर्ने माग राख्दै आएका छन् । राप्रपाका कमल थापाले पनि दोस्रो वरीयताको माग गर्दै आए पनि उनी तेस्रो वरीयतालाई स्वीकार गरेर मन्त्रिपरिषद्मा सामेल हुन पुगेका हुन् ।

राप्रपाले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहलाई स्विकारेर सरकारमा सहभागी बनेको जनाएको छ । पार्टी प्रवक्ता सुशीलकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्धारित समयभित्र निर्वाचन सम्पन्न गर्ने सुनिश्चितता एवं संविधान कार्यान्वयनका लागि राप्रपाका तर्फबाट शीर्ष नेतृत्व तहबाटै मन्त्रिपरिषद्मा सहभागिता होस् भनी प्रधानमन्त्री प्रचण्ड तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुभएको आग्रहलाई सकारात्मक रूपमा लिँदै पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा राप्रपाको तर्फबाट थप तीनजना मन्त्रीहरू सहभागी हुनु भएको छ ।’ राजधानीमा समाचार छ ।