हेटौंडा, २७ फागुन । सप्तरीमा सत्तारुढ मधेसी मोर्चाको सशस्त्र आक्रमणपछि तीन दिन स्थगित भएको नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियान हेटौंडाबाट जोडिएको छ । हेटौंडाको भुटनदेवी मैदानमा हजारौंको सहभागिता बीच आयोजित जनसभालाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गरे ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले तीन दिनअघि राजविराजमा भएको केही युवाहरुको मृत्युप्रति आफूलाई दुःख लागेको वताए । सत्तारुढ मधेसी मोर्चाले एमालेको शान्तिपूर्ण कार्यक्रममाथि हिंसात्मक हमला गर्दा घटना भएकाले त्यसको जिम्मेवारी पनि सत्तारुढ दलहरुले लिनु पर्ने ओलीको भनाई थियो ।
उनले एमाले साइन बोर्ड झुण्ड्याउने पार्टी नभएको र कुनै प्रकारको आक्रमण र अवरोधबाट एमालेलाई जनताको हृदयमा बस्नबाट कसैले रोक्न नसक्ने वताए । ‘नेकपा एमाले ऐतिहासिक जिम्मेवारी पूरा गर्दै आएको पार्टी हो, यो साइनबोर्ड झुण्ड्याएर बस्न बनेको पार्टी होइन’ ओलीले भने, ‘तपाईंहरुलाई लागेको होला एमालेको अभियान तीन दिन स्थगित भयो तर, हाम्रो अभियान निरन्तर छ । कसैले दुई दिनका कार्यक्रम बिथोलेर एमालेलाई जनताको हृदयमा बस्नबाट रोक्न सक्दैन ।’ ओलीले एमाले टाट्नामा बाँधेको खसीबोकाजस्तो कसैले खटाएको ठाउँमा जाने वा नजाने पार्टी नभएको वताए ।
ओलीले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले नेपाल भित्र पसेर नेपाली युवाको हत्या गरेको भन्दै त्यसको भत्र्सना गरे । नेकपा एमाले देशको रक्षार्थ बलिदान दिनु परे पनि तयार रहेको वताउँदै ओलीले भने– ‘एसएसबीले गोली हानी होनाहार नेपाली युवाको हत्या गरिरहेको छ, सरकार त्यसमाथि लोलोपोतो गर्दै वक्तब्य निकालीरहेको छ । घटनाको छानविन गरी तथ्य बाहिर ल्याओस्, दोषीलाई कारवाही गरोस् ।’
सभालाई सम्बोधन गर्दै एमाले महासचिव ईश्वर पोखरेलले राष्ट्रहित विपरित रहेको संविधान संशोधनलाई कुनै हालतमा पास हुन नदिने वताए । पोखरेलले भने– ‘अहिले चुनाव आवश्यक छ, संविधान संशोधन होइन । जसको इसारामा शेरबहादुर र पुष्पकमलजीले संशोधन प्रस्ताव ल्याएका हुन् त्यतै फिर्ता पठाए हुन्छ ।’
सप्तरीमा तीन दिनअघि सत्तारुढ मधेसी मोर्चाको सशस्त्र आक्रमणपछि स्थगित भएको अभियान शुक्रवार हेटौंडाबाट पुनः जोडिएको हो । अभियानमा मकवानपुर र पूर्वी चितवनका गाउँ गाउँबाट हजारौंको जुलुस भुटनदेवी मैदानमा आएको थियो । हावा हुरी र सिमसिम पानीका बीच पनि एमाले सभामा सहभागिहरुले नेताहरुलाई हौस्याउँदै नारा लगाएका थिए । कार्यक्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि सम्बोधन गरेकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्