कञ्चनपुर, ३ चैत । एमाले अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले गोली हानी हत्या गरेका सहिद गोविन्द गौतमको परिवारलाई पार्टीको तर्फबाट ५ लाख प्रदान गर्ने घोषणा गरेका छन् । पार्टीको मेची–महाकाली अभियान अन्तर्गत कञ्चनपुर पुगेका ओलीले सहिद गौतमका परिवारलाई चिन्ता नलिन पनि आग्रह गरेका छन् ।
उनले आपफूले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सहिद गोविन्दको हत्याका विषयमा भारत सरकारलाई माफी मगाउन आग्रह गरेको पनि स्मरण गराए । ‘नेपाली स्वाभीमानको रक्षा गर्ने दौरानमा सहादत प्राप्त गर्नु भएका गोविन्द गौतमप्रति हृदयदेखि श्रद्धाञ्जली अर्पण गर्छु । चिन्ता नलिन परिवारजनलाई हामी आग्रह गर्छौं’ ओलीले भने, ‘यस देशमा अरु कोही नभए पनि एमाले छ । अप्ठ्यारो परेका बेलामा एमाले साथमा छ भनेर सम्झनुस् । गोविन्द गौतमको परिवारलाई पार्टीका तर्फबाट ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्छु ।’
ओलीले नेपाल सधैं गरिव रही रहन नसक्ने वताउँदै नेपाललाई विकसित देश बनाउन एमालेसँग योजना भएको वताए । ‘यो गरिव हुने देश होइन, यहाँ कर्णाली नदि छ सेती नदि छ, यहाँ हिमाल छन्, पहाड छन् समथर तराई छ’ ओलीले भने, ‘यहाँ अव उद्योगहरुको स्थापना गर्नु पर्छ । अन्य देशहरुसँग ब्यापार गर्ने ब्यवस्था मिलाउनु पर्छ । हामी सधैं गरिव हुन सक्दैनौं, गरिवी हटाउने योजना र कार्यक्रम एमालेसँग छ ।’
ओलीले संविधान कार्यान्वयन र संक्रमणकालको अन्त्य गर्न तीनवटा तहको निर्वाचन गर्नु पर्ने वताउँदै सरकारले ७ महिनासम्म निर्वाचन टार्ने उद्यम गरेर विताएको पनि वताए । उनले चुनाव नगराए एमालेले सरकारलाई नछोड्ने वताए । ‘निर्वाचन नगराए नालायक सरकारलाई छोड्ने छैनौं’ ओलीले भने ।
कार्यक्रममा सहिद गौतमको परिवारलाई एमालेले प्रदान गरेको ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो । एमाले कञ्चनपुरका अध्यक्ष तार लामा मार्फत सहिद गोविन्दको परिवारलाई एमालेले ५ लाख रुपैयाँको चेक दिएको हो । यस्तै गोविन्दका छोरीहरुका लागि एमालेले २ वटा ल्यापटप पनि प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्