काठमाडौं, ५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिव एवम् पुत्र प्रकाश दाहालले आफूले ‘बाइस बोर’ नामको हतियार १५ लाखमा नभएर डेढ लाखमा किनेर राखेको खुलासा गरेका छन् ।
हतियारको विषयमा विभिन्न सञ्चार माध्यमका आएका समाचारको खण्डन गर्दै प्रकाश शुक्रबार साँझ हतियार राखेको खुलासा गरेका हुन् ।
‘निश्चित कानुनी प्रक्रिया पूरा गरी हतियार राख्न पाउने अधिकार नेपालको कानुनले सबैलाई सुरक्षित गरेको छ’, प्रधानमन्त्री पुत्र प्रकाशले भनेका छन्, ‘त्यही कानुनी प्रक्रिया पुरा गरेर मैले पनि बाइस बोर लिएको कुरा साँचो हो ।’
प्रकाशले हतियार राखेको विषयलाई अतिरञ्जित गर्नु अवश्यक नभएको भन्दै पत्रकार, पूर्व सैनिक र नेताले समेत हतियार राख्ने गरेको समेत दाबी गरेका छन् ।
‘नेपालको कानुन अनुसार प्रक्रिया संगत रुपमा हतियार राखेको कुरालाई अतिरन्जित गर्न आवश्यक छैन’, प्रकाशले भनेका छन्, ‘सयौंको संख्यामा वरिष्ठ पत्रकारहरु प्रायः सयौँ नेतागण, पूर्व सैनिक, प्रहरीलगायतले सेवाबाट निवृत्त भएपछि र लगभग दसौँ हजारले कानुन बमोजिम हतियार राख्ने गरेका छन्।’
सामाजिक सञ्जाल फेसबुकमा प्रकाशले आफूले लिएको हतियार कानुनी प्रक्रिया पूरा गरेर राखेको उल्लेख गर्दै हतियारको मूल्य डेढ लाख मात्र भएको समेत खुलासा गरेका छन् ।
‘मैले पनि त्यही कानुन बमोजिम हतियार लिएको हुँ । तर, हतियारको निश्चित मापदण्ड र शर्तहरु छन्, त्यसलाई आम नेपालीले जस्तै मैले पनि मानेको छु,’ प्रकाशले थप लेखेका छन्, ‘कतिपय संचार माध्यम र सामाजिक संजालमा मैले कानुन बमोजिम हतियार राखेको विषयमा पनि भ्रमको खेती गरिएको छ, यो पुर्णत गलत छ ।
अनि, मैले लिएको बाइस बोर १५ लाखको होइन, सरकारलाई तिरेको राजस्वसहित एक लाख पचास हजार बराबरको हो । यसबारे गरिएका गलत प्रचारबाट मुक्त हुन म सम्पुर्ण शुभचिन्तकमा आग्रह गर्दछु । अन्नपूर्ण पोष्टमा सामचार छ ।
प्रतिक्रिया दिनुहोस्