सम्पादकीय

सडकमार्गले नजिकिँदै चीन



कठमाडौं, ७ चैत । नेपालले उत्तरी छिमेक चीनसँग सडक सञ्जालबाट नजिकिने रणनीति कार्यान्वयन अघि बढाएको छ । गत वर्ष भारतले लगाएको अघोषित नाकाबन्दीपछि चीनसँग् व्यापारिक सम्बन्ध विस्तार गर्न पारवाहन सम्झौता गरेको सरकारले चीनका १३ नाकासम्म सडक पुर्‍याउन लागेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार चीनसँग रणनीतिक महत्वका १३ वटा नाकासम्म सडक जोड्न निर्माण जारी छ । तातोपानी, केरुङ र कोराला नाकासम्म ट्रयाक खुलेपनि १० वटा नाकामा ट्रयाक खोल्न काम तीव्र पारिएको हो ।

चीनसँगका पाँच नाका दुई वर्षभित्र सडक पुर्‍याउने योजनासहित काम सुरु भएको सडक विभागका उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाप्रमुख गोपाल सिग्देलले जानकारी दिए ।नागरिक दैनिकमा समाचार छ ।