Banner News

विराटनगर र बुटवलबाट घोषणाः महासंघको आगामी नेतृत्वका लागि प्रधान र गोल्छा मैदानमा



काठमाण्डौ,७ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि दुई समूहले आ–आफ्नो समूहको तर्फबाट उम्मेदवारी घोषणा गरेका छन् । दुबै समूहको उम्मेदवारी घोषणासंगै महासंघको आगामी नेतृत्वका लागि चर्को प्रतिस्पर्धा शूरु भएको छ । महासंघको विधानअनुरुप वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने प्रावधान भएपछि वरिष्ठ उपाध्यक्षका प्रत्यासी शेखर गोल्छाले बुटवलबाट र अर्का प्रत्यासी किशोर प्रधानले गएको फागुन २२ गते नै विराटनगरबाट आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।

महासङ्घको आगामी नेतृत्वका लागि आइतबार यहाँ एक कार्यक्रमकाबीच उम्मेदवारी घोषणा गरिएको छ ।

बुटवल उद्योग वाणिज्य सङ्घको आतिथ्यतामा देशभरका उद्योगी व्यवसायीको माझमा महासङ्घका अध्यक्ष पशुपति मुरारका र पूर्वअध्यक्ष चण्डीराज ढकालले उम्मेदवारहरुको नाम घोषणा गरेका हुन् ।

जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गर्नुभएको छ । त्यस्तै कोषाध्यक्षका लागि ज्ञानेन्द्रलाल प्रधान र महासङ्घको कार्यकारी सदस्यका लागि बुटवल उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले उम्मेदवारी घोषणा गरिएको छ ।

घोषणासभामा महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्रको अस्तित्वलाई स्थापित गराउन शेखर गोल्छाको समूह योग्य रहेको बताउँदै निजी क्षेत्रको समस्या र चुनौतीको न्यूनिकरणका लागि गोल्छाको नेतृत्व सफल हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छाले आफ्नो परिवार नेपाल उद्योग वाणिज्य महासङ्घ स्थापनाकालदेखि नै संलग्न रहेको उल्लेख गर्दै सरकारले ल्याउने निजी क्षेत्रसँग सम्बन्धित विभिन्न ऐनमा निजी क्षेत्रको धारणा राख्ने र अन्तर्राष्ट्रिय समन्वयलाई फराकिलो बनाउने बताए ।