काठमाडौं, १२ चैत । आबुधाबीस्थित नेपाली दूतावासको सेल्टर हाउसमा १५ नेपाली महिला आश्रय लिएर बसिरहेका छन् । दूतावासका अनुसार झापाकी सावित्री गौतम, जसु शाही, मेनुका खरेल, प्रेजिना योङहाङ, मकवानपुरकी घले, चरिमाया ब्लोन, इलामकी आशामाया राई, कैलालीकी अनुजा भण्डारी, चितवनकी सविता पाठक, सिन्धुपाल्चोककी मंगली तामाङ, शर्मिला नेपाली, धनकुटाकी सिर्जना राई, बर्दियाकी पार्वती ओली र दोलखाकी सुकुमाया तामाङ आश्रय लिएर बस्दै आएका छन् ।
ती सबै नेपाली एजेन्टरतस्करको डरले घरबाट भागेर उद्धारका लागि दूतावास आइपुगेका हुन् । साउदी र कुवेतमा घरेलु कामदारको हैसियतमा एक दशक बिताएकी रञ्जितालाई कामको डर र भाषाको चिन्ता थिएन ।
तर नेपाली चेलीलाई जीवनले गर्ने व्यवहार देखेर निकै डर लाग्यो । भाग्ने मौका छोपेर बसेकी बेला उनी जीवनको पञ्जाबाट फुत्केर नेपाली दूतावासको शरणमा आइपुगिन् ।
‘उर्मिला प्रजालाई रगत छाद्ने गरी पिटे, उनलाई एउटा गल्लीबाट भगाएर हामी अर्को गल्लीबाट निस्किन सफल भयौं,’ उनले नेपाली दूतावासमा बयान दिइन्, ‘जब म उनको कम्पनीमा पुगें, घर छाडेर आएका र काममा जान नमान्ने दिदीबहिनीलाई निकै तुच्छ व्यवहार गरेको पाएँ । हामीलाई निकै अपशब्द बोल्ने, कुट्ने र हातपातसम्म गर्न पछाडि पर्दैनथे ।’
जीवनको म्यानपावर मोनालाइजा र सुजन भण्डारीको मर्हाबा लेबर रिक्रुटमेन्ट जस्ता यूएईमा सयौं म्यानपावर खुलेका छन् । त्यस्ता म्यानपावरमा कार्यरत नेपालीबाटै नेपाली युवतीलाई घरमा जबर्जस्ती पठाउने र नजानेलाई कुटपिट गरिन्छ ।
‘एउटा घरेलु कामदारलाई स्पोन्सरको घरसम्म पठाउँदा लाखौरुपैयाँभन्दा बढी फाइदा हुने भएकाले नेपाली दलाल सक्रिय छन्,’ श्रम सहचारी हिरा यादवले भनिन्, ‘हरेक म्यानपावरमा नेपाल हेर्ने नेपाली नै दलाल हुन्छन् ।’
एजेन्टले भनेको नमान्ने युवती दुर्व्यवहारमा पर्छन् । ‘सुजनले त हाउसमेडमा आउने युवतीमाथि दुर्व्यवहार गर्थे । कोठामा थुनेर राखेका युवतीमाझ जसलाई पायो त्यसलाई हातपात गर्न तम्सिन्थे,’ दूतावास पुगेकी शाहीले कान्तिपुरसँग फोनमा भनिन्, ‘हामीलाई धम्की दिने, डर देखाएर त्रसित बनाउँथे ।’
पीडितले दूतावासलाई घर मालिकभन्दा पनि नेपाली एजेन्टरतस्करीबाटै शारीरिक शोषण गर्न खोजिने बयान दिएका छन् । ‘मलाई १२/१३ वटा बच्चा हेर्नुपर्ने घरमा काम गर्न पठाइएको थियो,’ गौतमले भनिन्, ‘उनीहरूको अफिसमा गएर अर्को घर परिवर्तन गर्ने मन थियो । तर अफिसमा जानु भनेको आफू झन् पीडित हुनु हो । त्यही भएर दूतावासमै आएका हौं ।’
कारबाही छैन, उद्धार मात्र
कानुनी कारबाही नहुँदा तस्करहरूको मनोबल झन् उच्च हुने गरेको छ । ‘तिमीहरू जहाँ गए पनि हामीलाई कसैले केही गर्न सक्तैन,’ जीवनको भनाइ उद्धृत गर्दै घलेले भनिन्, ‘दूतावासले के गर्छ र !
नेपाली दूतावास पनि तस्करलाई कारबाही गर्नेभन्दा पनि उद्धारमा मात्रै केन्द्रित छ । गएको एक वर्ष (सन् २०१६) मा ९१ महिलालाई आश्रय स्थलमा राखेर उद्धार गरेको छ । कार्यवाहक राजदूत टण्डनले भने, ‘हामी उद्धारमा मात्रै केन्द्रित हुँदा तस्करले केही कारबाही नभएको जस्तो अनुभूति गरेका मात्रै हुन्, तर कारबाहीका लागि पनि चरणबद्ध रूपमा अगाडि बढेका छौं ।’
उनले हाउसमेडलाई ल्याई शोषण गर्नेको नाम सार्वजनिक गर्नुका साथै अध्यागमनलाई जानकारी गराउने काम भएको बताए । ‘नाम र तस्बिर सार्वजनिक गर्नु नै सामाजिक कारबाही हो,’ उनले भने, ‘अझै नसुध्रिए कानुनी कारबाहीका लागि दुवै देशको सरकारसँग समन्वय गर्छौं । आवश्यक परे डिपोर्ट गरी कानुनी कारबाही थाल्छौं ।’
दूतावासले लेखेर पठाए पनि नेपालस्थित निकायहरूले दलालहरूलाई कारबाही गरेको पाइँदैन । एसएसपी सर्वेन्द्र खनालले श्रीलंकासम्म गई बनाएको अध्ययन प्रतिवेदन त्यत्तिकै थन्किएको छ ।
कूटनीतिक पहल
यूएई सरकारले पनि घरेलु कामदार आपूर्ति गर्ने म्यानपावरसम्बन्धी कानुन कडा बनाउने प्रक्रिया अगाडि बढाइसकेको छ । स्थानीय नागरिकलाई मात्रै म्यानपावर सञ्चालन गर्न पाउने र ठूलो राशि सरकारलाई धरौटी जम्मा गरेपछि मात्रै अनुमति दिने तयारी गरेको नेपाली दूतावासको जानकारीमा छ ।
दूतावासले पनि तत्काल भिजिट भिसामा आउनेलाई हाउसमेडको भिसामा परिवर्तन गर्ने काम रोक्न यूएई सरकारसमक्ष तीन पटक अनुरोध गरिसकेको छ ।
‘संस्थागत रूपमा ल्याउने अवस्था भएपछि हामीले यूएई सरकारलाई भेटेर र पत्राचार गरेर भिजिट भिसामा आउनेलाई हाउसमेडमा परिवर्तन नगरिदिन अनुरोध गरेका छौं,’ टण्डनले भने, ‘नेपालले वैध रूपमा घरेलु कामदार ल्याउन अनुमति दिने गरेको विषय पनि स्थानीय समुदायलाई जानकारी दिने कार्य भइरहेको छ ।’कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्