सम्पादकीय

सांसदलाई भारतीय विमानमा प्रतिबन्ध



काठमाडौं, १२ चैत । भारतका एक राजनीतिज्ञले एयर इन्डियाको कारिन्दालाई विमानभित्र चप्पलले २५ पटक हिर्काएको स्वीकार गरेका छन् । विमानभित्र सिट विवादलाई लिएर सो एयरलाइन्सका कारिन्दालाई हिर्काएको हिन्दु राष्ट्रवादी पार्टी शिवसेनाका सांसद रवीन्द्र गैकवाडले स्वीकार गरेका छन् ।

उनी भारतको तल्लो सदन लोकसभामा प्रतिनिधित्व गर्छन् । बिहीबार पुनेबाट नयाँ दिल्लीको उडानमा उनले कारिन्दालाई दुव्र्यवहार गरेका हुन् । ‘उसले मलाई दुव्र्यवहार गरेपछि २५ पटक चप्पलले हिर्काइदिएँ,’ गैकवाडले भने ।

रवीन्द्रले विजनेस क्लासको टिकट काटेका थिए, तर अकस्मात उनलाई इकोनोमी क्लासको सिट दिइएको थियो । सिटलाई लिएर रवीन्द्रले परिचारिकासँग गुनासो गरेका थिए । परिचारिकाबाट कुनै समाधान नदेखेपछि उनले विमानका कारिन्दा शिवकुमारलाई दुव्र्यवहार गरेका थिए ।

‘कारिन्दाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गुनासो गर्न घुर्की लगाएपछि मैले उनलाई हिर्काइदिएँ’, रवीन्द्रले भने ।

कुटपिटको विषयलाई लिएर भारतका निजी विमान कम्पनी र एयर इन्डियाले रवीन्द्रलाई विमान चढ्न प्रतिवन्ध लगाएको छ । एयर इन्डियाले शुक्रबार रवीन्द्रको दिल्लीबाट पुने फर्किने टिकट रद्द गरेको छ ।

‘एयर इन्डिया र इन्डियन एयरलाइन्स महासंघले सांसद रवीन्द्रलाई तत्कालका लागि सम्पूर्ण उडानमा प्रतिबन्ध लगाएको छ । विमानको कर्मचारीको सार्वजनिक सुरक्षाका लागि यस्तो कदम चालिएको हो ।’ एयर इन्डिया र इन्डियन एयरलाइन्स महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ पत्रिकामा समाचार छ ।