सम्पादकीय

कुन- कुन विषयमा छलफल भयो कांग्रेस बैठकमा ? संशोधन र निर्वाचनप्रति यस्तो छ कांग्रेसको धारणा



काठमाडौं, १५ चैत । कांग्रेस केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवाले राखेका नौ एजेन्डामाथि छलफल जारी छ । सोमबार सबैजसो सदस्यले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको विषयमा धारणा राखेको छन ।

स्थानीय तहअनुसार पार्टी संरचना बनिनसकेकाले उम्मेदवारको टिकट कसरी वितरण गर्ने भन्नेमा सदस्यहरूले भिन्न–भिन्न मत राखेका छन् । संस्थापन पक्ष, नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौला पक्षको मत विभाजित छ ।

कांग्रेस विधानले क्षेत्र र जिल्ला दुवैलाई नगरको टिकट दिने अधिकार दिएको छ । तर, बैठकमा संस्थापन पक्षका नेताहरूले मिल्नेसम्म क्षेत्रीय समितिको सिफारिसमा जिल्ला समितिले टिकट दिने, मिल्न नसकेको स्थानमा केन्द्रबाट नै टिकट दिनुपर्ने गरी मापदण्ड बनाउनुपर्ने धारणा राखेका थिए ।

पौडेल पक्षका नेताले जिल्ला र क्षेत्रमा रहेको पार्टीको मौजुदा समितिलाई नै स्थानीय तहमा उम्मेदवार चयन गर्ने अधिकार दिनुपर्ने मत राखेका थिए ।

क्षेत्रीय समितिको सिफारिसमा जिल्ला समितिले उम्मेदवार टुंग्याउनुपर्ने उनीहरूको भनाइ छ । सिटौलाले क्षेत्र र जिल्लामा नयाँ संयन्त्र गठनको प्रस्ताव राखेका थिए ।

उनको प्रस्तावमा क्षेत्रमा क्षेत्रीय सभापतिको संयोजकत्वमा निवर्तमान सभापति, सो क्षेत्रका सांसद र केन्द्रीय सदस्यको सिफारिस कमिटी बनाउने र जिल्लामा सभापतिको नेतृत्वमा निवर्तमान सभापति, जिल्लाका सांसद र केन्द्रीय सदस्य तथा जिल्लाका उपसभापति र सचिव रहेको समिति बनाएर टिकट दिनुपर्ने उनको प्रस्ताव छ। नयाँ पत्रिकामा समाचार छ ।