Banner News

कांग्रेसको बैठक जारीः मधेसी मोर्चाको पछि लाग्ने कि ? चुनाबमा जाने अन्यौलता कायमै



काठमाण्डौ,१५ चैत । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले आज तेस्रो दिन पनि निरन्तरता पाउने भएको छ । आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम नसकिएपछि बैठकले आज पनि निरन्तरता पाएको हो । जारी केन्द्रीय समितिको बैठकमा चुनाबमा जाने कि मधेसी मोर्चाले उठाउँदै आएको संविधान संम्शोधनको विषयमा अघि बढ्ने भन्ने विषयमा कांग्रेसको जारी केन्द्रीय समितिको बैठक अझै टुंगोमा पुग्न सकेको छैन् । हिजोको बैठकमा केन्द्रीय समितिका सदस्यहरुले धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरुको मतविभाजन भएको देखिएको छ ।

तराई मधेसका केन्द्रीय सदस्यहरुले संशोधन प्रस्तावलाई तत्काल प्रक्रियामा लैजानु पर्ने माग राखेका छन् । केन्द्रीय सदस्यहरु फर्मुल्ला मन्सुर, महेन्द्र यादव, सुरेन्द्र पाण्डे लगायतले सीमांकनसहितको संशोधनलाई अगाडि बढाउनु पर्ने मत राखेका हुन् ।

त्यसैगरी अर्को पक्षले भने सीमांकनलाई थाती राखेर भएपनि एमालेलाई समेत साथमा लिएर अघि बढ्नु पर्ने बताएको छ । कृष्ण सिटौला, बालकृष्ण खाँड, नविन्द्रराज जोशी, प्रदिप पौडेल लगायतले यस्तो मत राखेका हुन् ।

कांग्रेसकै पहलमा संशोधन प्रस्ताव आएको भन्दै उनीहरुले कांग्रेसले मात्र चाहेर संशोधन हुन नसक्ने बताएका थिए। अब समय सीमाका कारण पनि सम्भव नहुन सक्ने भन्दै नेताहरुले चुनाव रोक्न नहुने मत राखेका छन् ।

तर, तराई मधेसबाट प्रतिनिधित्व गर्नेहरुले भने मधेसी मोर्चालाई समेत साथमा नलिई चुनावमा जान नहुने मत राखेका छन् । जसले गर्दा पनि कांग्रेस चुनाबमा जाने होकि संविधान संम्शोधनमा अघि बढ्ने हो भन्ने अन्यौलता कायमै छ ।

बैठकआज ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने कांग्रेसले जनाएको छ । मंगलबारको बैठकमा पार्टी र समसामयिक विषयमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन् ।
बैठकले यसअघि सभापति देउवाको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो । बैठकले पार्टीका ४२ वटा केन्दीय विभाग कायम गर्ने समेत निर्णय गरेको थियो ।त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरिसकेको छ ।