Banner News

नेम्वाङको नेतृत्वमा संयन्त्रः मन्त्रीहरुले आचार संहिता उल्लंघन गरेपछि एमाले उजुरी बोकेर आयोग पुग्यो



काठमाडौं १५ चैत, । सरकारका मन्त्रीहरुले निर्वाचन आचार संहिता उल्लंघन गरिरहेको भन्दै एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । साथै आचार संहिता उल्लंघन गरेको निगरानी गर्न एमालेले सुवास नेम्वाङको नेतृत्वमा संयन्त्र गठन गरेको छ ।

एमालेले सरकारका तर्फबाट आचारसंहिता उल्लंघनका आपत्तिजनक क्रियाकलाप भइरहेको भन्दै मंगलवार आयोगमै पुगेर ध्यानाकर्षण गराएको हो ।
केही समय अघि सप्तरीमा सभा गरेर मधेसी मोर्चाका शीर्ष नेताहरुले एमालेलाई जहाँ भेट्यो त्यहीँ कुट्न, कालोमोसो दल्न र लखेट्न उक्साहटपूर्ण भाषण गरेकोमा समेत आयोगलाई जानकारी गरायो ।

एमालेले आयोगलाई बुझाएको लिखित ध्यानाकर्षणमा मन्त्रीहरुले आचारसंहिता विपरीत हेलिकोप्टर लिएर हिँडेको तथा गृहमन्त्रीले कांग्रेसको तर्फबाट पैसा बाँडेको विषयलाई आयोगले गम्भीरतापूर्वक लिनुपर्ने माग गरेको छ ।

त्यस्तै बजेटका कतिपय शीर्षकहरुबाट बजेटमै नभएको, संसदले पास नै नगरेका योजनामा अर्बौं रुपैयाँ रकमान्तर भइरहेकोमा आयोगको ध्यानाकर्षण गराइएको नेम्वाङले बताए ।

पुरानो मिति राखेर जिल्ला जिल्लामा चुनाव प्रभावित पार्ने गरी कर्मचारीको सरुवा र प्रहरी अधिकृतहरुको हेरफेर गरिएको भन्दै एमालेले आपत्ति जनाएको छ ।

आयोगका प्रमुख आयुक्तसहित सबै आयुक्त र सचिव समेत एमालेको प्रतिनिधिमण्डलसँग छलफलमा सहभागी थिए । साथै

एमालेले निर्वाचन आचारसंहिता उल्लंघन लगायत स्थानीय तहको निर्वाचन सम्बन्धी सबै विषयमा आयोगसँग छलफल गर्न उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङको संयोजकत्वमा एक समिति समेत गठन गरेको छ ।

स्थायी कमिटीले गठन गरेको सो समितिमा अग्नि खरेल, भानुभक्त ढकाल र राजेन्द्र पाण्डे सदस्य रहेका छन् ।