नेपालगन्ज, १६ चैत । नेपाल पत्रकार महासङ्घको ६२औँ स्थापना दिवस आज यहाँ प्रभातफेरी तथा प्रवचन कार्यक्रमको आयोजना गरी मनाइयो ।
महासङ्घको बाँके शाखाद्वारा स्थानीय बिपी चोकबाट ब्यानरसहित निकालिएको प्रभातफेरीमा जिल्लाका पत्रकार, नागरिक समाजका अगुवा, राजनीतिक दलका नेता, कार्यकर्ता, कर्मचारी र अधिकारकर्मीको सहभागिता थियो ।
प्रभातफेरी नेपालगन्ज बजार परिक्रमापछि धम्बोझी चोकमा आयोजना गरिएको सभामा महासङ्घका केन्द्रीय सदस्य झलक गैरेले पेसागत हित मात्र होइन महासङ्घले नागरिकको न्यायका लागिसमेत सामाजिक काम गर्दैै आएको बताउनुभयो ।
त्यस अवसरमा महासङ्घका जिल्ला अध्यक्ष ठाकुरसिंह थारू, सहायक प्रजिअ कृष्णबहादुर खड्का, नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यलगायतका वक्ताले स्वतन्त्र तथा निष्पक्ष पत्रकारिताले मात्र पेसाको गरिमा बढाउन सक्ने बताउनुभएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्