काठमाडौं,१८ चैत्र । सत्तारुढ दल र मधेसी मोर्चाका बीच आज अपरान्ह बालुवाटारमा बैठक बस्ने भएको छ । सो बैठकले कतिपय गतिरोधलाई चिर्दै निर्वाचनको देशव्यापी वातावरण बनाउँनेतर्फ अघि बढ्ने संकेतहरु देखिएको छ । यस अघि निर्वाचनको विरोध गर्दै आन्दोलन गर्दै आएको मोर्चा केही लचिलो हुने अनुमान गरिएको छ । खासगरी तराईका जनतामा निर्वाचनको मोह बढ्दै जान थालेपछि मोर्चाले चलाउँदै आएको आन्दोलनले गति समाउन सकेको छैन् ।
तराईका जिल्लाका गाउँ,शरहमा निर्वाचनको रौनक बढ्दै जान थालेको छ । यसले गर्दा पनि मोर्चा चुनावको विरोधमा जान नसक्ने देखिएको छ । जसले गर्दा आज सत्तारुढ दल र मोर्चाका नेताहरुबीच हुने छलफलले निर्वाचनको देशव्यापी माहोल बनाउनेमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
मोर्चाले चुनावको विरोध गर्दै त्यसका विरुद्ध आन्दोलन गर्दै आएको भए पनि तराईमा भने चुनाबी माहोल बढ्दै गएको छ । तराईका युवाहरुको चुनावप्रतिको आकर्षणले आन्दोलनरत मोर्चालाई चुनावको विपक्षमा जनमत तयार गर्न गाहे परिरहेको छ ।
तराईमा स्थानीय चुनावको वातावरण बन्दै गएपछि मधेसवादी दलहरुलाई पनि चुनावमा जान दवाव पर्न थालेको छ । चुनाव बाहिस्कार गर्ने घोषणा गर्दै आएका ती दलहरुले पनि छुट्टा–छुट्टै रुपमा चुनावको तयारीमा आन्तरिकरुपमा जुट्न थालेपछि चुनावका कारण मोर्चामा समस्या आउँन थालेको छ । त्यसैले पनि यतिखेर मोर्चाका नेताहरु सेफ ल्यान्डिङको खोजी रहेको देखिन थालेको छ ।
यसैबीच तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी मोर्चा सरकारसँग सहमति गरेर चाँडै चुनावमा जान इच्छुक रहेको बताएका छन् । आफूहरु चुनावको बाधक नभएको ठाकुरले स्पष्ट पारेको कुरा यसबीच वाहिर आइसकेको छ ।
केही दिन अघि सुरेशकुमार यादवसँगको एक अन्तरवार्ताका क्रममा मोर्चाका नेता ठाकुरले चुनावमा जाने इच्छा सार्वजनिक गरेका हुन् । उनले चुनाव चाहेकै कारण मधेस जानुको साटो काठमाडौंमै बसेर सरकारसँग वार्ताका लागि बसेको वताएका थिए । सत्तारुढ दल र मधेसी मोर्चाबीच आज छलफल हुँदै छ ।
छलफलमा सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाका शीर्ष नेताहरुको सहभागिता रहने प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ । छलफल संविधान संशोधनको प्रक्रिया अघि बढाउने विषयमा केन्द्रित हुने बताइएको छ । श्रोतका अनुसार प्रधानमन्त्री दाहालले संशोधन प्रस्तवमा सहमति गरी स्थानीय निर्वाचनमा सबैलाई सहभागी गराउन पहल गर्नुहुने छ । मधेसी मोर्चाले भने परिमार्जन सहितको संविधान संशोधन पारित गर्नु पर्ने र तत्काल निर्वाचनको मिति घोषणा फिर्ता गर्नु पर्ने माग राख्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्