काठमाडौं, २० चैत । ललितपुरको जाउलाखेलमा शुक्रबार आयोजित एक कार्यक्रममा सूचना संकलन गर्न गएका प्रहरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले करिब तीन घन्टा नियन्त्रणमा लिएको खुलासा भएको छ ।
नेकपाद्वारा आयोजित पार्टीको ब्युरोस्तरीय प्रशिक्षण कार्यक्रममा सूचना संकलन गर्न ललितपुर प्रहरी परिसरका दुई र अपराध महाशाखा ललितपुरका तीन गरी पाँच प्रहरी सादा पोसाकमा खटिएका थिए ।
सूचना संकलन गर्न गएका दुईजना हबल्दार भीमबहादुर खाती र वेद विश्वकर्मा तथा तीन प्रहरी जवान गणेश श्रेष्ठ, सुरेन्द्र खान र स्किन्द्रकुमार महतोलाई नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए ।
दिउँसो तीन बजे सुरु कार्यक्रममा पुगेका ती प्रहरीलाई नेकपाका कार्यकर्ताले कार्यक्रम नसकिउन्जेल कोठामा थुनेर राखेको ललितपुर प्रहरी परिसरका एक अधिकारीले बताए । जासुसी गर्न आएको भन्दै प्रहरीप्रति नेकपाका कार्यकर्ता आक्रोशित भएका थिए ।
प्रहरीलाई नियन्त्रणमा लिने नेकपाका कार्यकर्ताको खोजी भइरहेको परिसरका वरिष्ठ अधिकारीले बताए । ‘सूचना लिन जान पाउने प्रहरीको अधिकार हो । प्रहरी थुनेर उनीहरूले ठूलो गल्ती गरेका छन् ।
प्रहरी थुन्नेको पहिचान भइसकेकाले कारबाही गरिनेछ’, प्रहरी अधिकारीले भने । ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी ठूले राईले घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीले नेकपाका गतिविधिमा विशेष निगरानी गर्ने गरेको छ । अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्