शैक्षिक

गर्मी बढेसँगै खानेपानीको समस्या



बैतडी, २० चैत । गर्मीयाम सुरु भएसँगै बैतडीमा खानेपानीको समस्या बढ्दै गएको छ । जिल्लाको तल्लोस्वराडमा पर्ने मेलौली नगरपालिका–२ सलेना–६ मेलौलीमालगायतका क्षेत्रमा खानेपानीको समस्या भएको हो ।

मुहानको पानी घट्दै जान थालेपछि खानेपानीको समस्या भएको स्थानीय मधु भट्टले बताउनुभयो । पुरानो खानेपानी आयोजना मर्मत सम्भार नहुँदा र जनसङ्ख्या वृद्धि हुँदा समस्या भएको छ उनले भने ‘खानेपानी नहँुदा पानीकै लागि एक घन्टा टाढा जानुपर्ने भएको छ’ खानेपानीका लागि टाढा जानुपर्छ त्यो पनि खोलाको दूषित पानी पिउनुपर्ने बाध्यता रहेको समेत उनले बताए ।

दशरथचन्द नगरपालिकाको ग्वाल्लेक मुहान करिब ११ किमी टाढाबाट तीन दशकअघि बनाएको खानेपानी आयोजना जीर्ण बन्दा समस्या खानेपानीको समस्या भएको हो ।

मेलौली बजारमा खानेपानीको समस्या भएपछि जिप, घोडा खच्चरमा पानी बोकाउनुपर्ने बाध्यता रहेको स्थानीय सुरत पार्कीले बताए । उनले भने ‘नजिक खानेपानीको मुहान नहुँदा टाढाबाट बोकाउनुपर्ने भएको छ’ विशेष गरेर होटल सञ्चालकलाई खानेपानीको समस्या हुने गरेको छ ।

दशरथचन्द नगरपालिकाको ग्वाल्लेक मुहान करिब ११ किमी टाढाबाट मेलौलीमा खानेपानी लगेको भए पनि बेलाबेलामा मर्मत सम्भार नहुँदा समस्या हुने गरेको छ । यस्तै मेलौलीकै–२ सलेनामा खानेपानीको चरम समस्या भएको छ । सुक्खायाम सुरु भएसँगै आफूहरुले पानीका लागि एक घन्टाको पैदल दूरीबाट पानी ल्याउनुपरेको सलेना इन्दिरा चन्दले बताए ।

अहिले खानेपानीका लागि एक घन्टाको दूरीमा रहेको कुवाबाट पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय दीपा जोशीले जानकारी दिए ।

उनले भने ‘गाउँका कुवामा समेत पानी सुकेपछि खानेपानीको समस्या भएको छ’ पानीको अभावमा शौचालय प्रयोग गर्न समेत समस्या भएको सलेना स्वास्थ्यचौकीका इन्चार्ज नारायण चन्दले बताए । रासस