शैक्षिक

निर्वाचन आयोग घेर्न गएका पूर्वप्रधानमन्त्री डा भट्टराई पक्राउ



काठमाडौँ, २० चैत । आफूले मागेको चुनाव चिन्ह नदिएको भन्दै निर्वाचन आयोगको कार्यालय घेर्न पुगेको नयाँशक्ति नेपाललगायत राजनीतिक दलका नेताहरु पक्राउ परेका छन् ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले आयोग परिसरबाट नयाँ शक्तिका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा ९क्रान्तिकारी माओवादी०का उपाध्यक्ष सिपी गजुरेल, सांसद गङ्गा चौधरीलगायतका नेतालाई पक्राउ गरेको हो ।
पक्राउ परेका नेतालाई महानगरिय नगर प्रहरी कार्यालय भुकुटीमण्डपमा राखिएको छ । निषेधित क्षेत्र तोड्न खोजेकाले उहाँहरुलाई पक्राउ गरिएको महानगरिय प्रहरी प्रभाग दरबारमार्गले जनाएको छ ।

पूर्वप्रधानमन्त्री डा भट्टराईका स्वकीय सचिव विश्वदिप पाण्डेले आयोग परिसरमा धर्नामा बसेका नेता तथा कार्यकर्तालाई प्रहरीले बिनाकारण पक्राउ गरेको बताउनुभयो । आयोग परिसरमा प्रदर्शनकारी र प्रहरीबीच ठेलमठेल हुँदा केही प्रदर्शनकारी र केही प्रहरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

नयाँ शक्तिले आफूहरुलाई चुनाव चिन्ह ‘आँखा’ दिनुपर्ने माग गर्दै आएको छ । तर आयोगले भने संसद्मा रहेका दललाई वरियतामा अगाडि राखेर पहिले प्रयोग गर्दै चुनाव चिन्ह दिने र अन्यलाई भने आयोगले नै चुनाव चिन्ह दिने जनाउँदै आएको छ ।