सम्पादकीय

भत्ता थोरै हुँदा टिक्नै गाह्रोः खेलाडी



काठमाडौंः विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय टिमको तयारी सुरु गरेको छ ।

१२ औं दक्षिणएसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणका कारण स्थगित भएको राष्ट्रिय टिम तयारी राखेपको वार्षिक कार्यक्रमअनुसार फागुन २६ देखि सुरु भएको हो । तर अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी अघि बढाइएको टिम तयारीमा सहभागी खेलाडी भने राखेपले उपलब्ध गराउँदै आएको न्यून भत्ताका कारण विभिन्नखाले मानसिक दबाब झेल्न बाध्य छन् ।

अपर्याप्त भत्ताका कारण उनीहरूको ध्यान अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीभन्दा पनि अपर्याप्त डाइट र बसोबासको समस्यामा बढी केन्द्रित हुने गरेको छ । अर्को वर्ष इन्डोनेसियाको राजधानी जकार्तामा हुने एसियाली खेलकुद र सन् २०१९ मा नेपालमै आयोजना हुने भनिएको १३ औं सागलाई ध्यानमा राखी पदकको सम्भावना भएका १२ वटा एकल खेललाई प्रशिक्षणमा समावेश गरिएको राखेपले जनाएको छ ।

राष्ट्रिय टिम तयारीका लागि खेलाडी चयन गर्दा १२ औं सागको नतिजा, सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हासिल गरेको सफलता र एकल खेललाई प्राथमिकतामा राखिएको जानकारी राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले दिए ।

उनले १२ औं साग र सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक जितेका खेलाडीलाई राष्ट्रिय तयारी टिममा सहभागी गराइएको बताए । राखेपले राष्ट्रिय टिममा सहभागी खेलाडीमध्ये उपत्यका भित्रकालाई दैनिक तीन सय र उपत्यका बाहिरकालाई ६ सय रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ ।

खेलाडीलाई प्रदान गरिने दैनिक भत्तामध्ये दुई सय रुपैयाँ भने (डाइट) का लागि कटाउने गरिएको जानकारी संयोजक रानाभाटले दिए । उनका अनुसार यस आर्थिक वर्षमा राष्ट्रिय टिम तयारीका लागि तीन करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

राष्ट्रिय टिम तयारीमा सहभागी खेलाडीले राखेपले दिने भनेको भत्ताबापतको रकम हालसम्म आफूहरूले नपाएको गुनासो गरेका छन् ।

१२ औं सागकी स्वर्णपदक विजेता उसुकी नीमा घर्तीमगरले दिनहुँ (डाइट) खान पाए पनि पकेट खर्चबापतको रकम अहिलेसम्म नपाएको बताइन् । समग्रमा हामीलाई दिइने डाइट त ठीकै छ तर भत्ताबापतको बाँकी रकम भने अहिलेसम्म पाउन सकिएको छैनु, उनले भनिन् ।

उसुका राष्ट्रिय खेलाडी राजु लामाले पनि निकै दुस्ख सहेर राष्ट्रिय टिमको तालिम गरिरहेको बताए । धादिङ ७ जीवनपुरका लामा काठमाडौंमा कोठा भाडामा लिएर प्रशिक्षणमा सहभागी छन् । ुकाठमाडौंमा आफन्त कोही छैनन् । प्रशिक्षणकै लागि कोठा भाडामा लिएर बसेको छु । महिनामा चार हजार रुपैयाँ कोठाभाडा तिर्नुपर्छ । राखेपले दिने भनेको भत्ता पनि अहिलेसम्म पाएको छैन । आफ्नै खर्चले अहिलेसम्म धानिरहेको छुु, उनले दुखेसो पोखे ।

यसैगरी कराँते प्रशिक्षक कुशल श्रेष्ठले उपत्यकाभित्रका लागि दैनिक तीन सय रुपैयाँ दिनु उचित भए पनि उपत्यकाबाहिरका लागि भने न्यायसंगत नभएको बताए । ‘उपत्यकाबाहिरका प्रशिक्षकका लागि त समस्या नहोला तर खेलाडी भने मारमा परेका छन् । ६ सय रुपैयाँले खान र बस्न पुग्दैन । यस विषयमा परिषद्ले पुनर्विचार गर्नैपर्छ’, उनले भने ।

तेक्वान्दो खेलाडी रेजिना कार्कीले पनि डाइट र भत्ता पर्याप्त नभएको बताइन् । ‘दिनको तीन सय रुपैयाँ भत्ता दिने भनिएको छ । दुई सय रुपैयाँ त डाइटमै काटिन्छ । एक सय रुपैयाँले के गर्ने ?’ उनले गुनासो गरिन् ।

राष्ट्रिय टिम तयारी समितिका संयोजक रानाभाट पनि खेलाडीलाई उपलब्ध गराएको भत्ता पर्याप्त नभएको बताउँछन् । तालिमका लागि अर्थ मन्त्रालयबाट बजेट निकासा गर्दा शीर्षक नै तोकिएको छ ।

यसमा हामीले केही गर्न मिल्दैन । तर भत्ता पर्याप्त नभएको विषय हामीले मन्त्रालयमा पठाइसकेका छौं । आशा छ अर्को आर्थिक वर्षदेखि बजेटमा बढोत्तरी हुनेछु, उनले भने।रानाभाटले मन्त्रालयमा प्रस्ताव पठाउँदा उपत्यकाभित्रका लागि दैनिक पाँच सय र मोफसलका खेलाडीका लागि दैनिक एक हजार रुपैयाँ प्रस्ताव गरिएको बताए । अन्नपूर्ण पोष्टमा समाचार छ ।