काठमाडौं, २४ चैत । स्थानीय तहको चुनावको तयारीमा जुटेको प्रमुख प्रतिपक्षी एमालेले निर्वाचनको केन्द्रीय कमाण्ड तयार गरेको छ । अधिकांश केन्द्रीय नेताहरुलाई बिषयगत जिम्मेवारी दिएर काममा खटाएको छ ।
स्थायी समितिद्वारा उपाध्यक्ष बामदेव गौतम र महासचिव ईश्वर पोखरेल नेतृत्वमा गठन गरिएका मूल दुई समिति रहनेछन् । ती समितिभित्र बिषयगत जिम्मेवारीसहितका उपसमिति गठन गरेर नेताहरुलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
एमालेका अनुसार घोषणापत्रको सम्पूर्ण कामको मुल नेतृत्व गौतमले गरिरहेका छन् । गौतम अन्तर्गतको समितिभित्र बिषयगत छलफल भइरहेको छ । उनले संविधानअनुसार समाजवाद उन्मुख दिशामा जानका लागि आवश्यक पर्ने कार्यक्रम घोषणापत्रमा ल्याउने तयारी गरेका छन् ।
महासचिव पोखरेल नेतृत्वको समितिभित्र बिषयगत रुपमा नेताहरुलाई जिम्मेवारी बाँडफाँट भएको छ । निर्वाचन आयोगलगायत निकायहरुसँग समन्वय गर्न संसदीय दलका उपनेता सुवास नेम्वाङको संयोजकत्वमा उपसमिति गठन भएको छ । उक्त उपसमितिमा रघुजी पन्त, राजेन्द्र पाण्डे, अग्नी खरेल र भानुभक्त ढकाल छन् । निर्वाचन आयोगका गतिविधि र पार्टीका चुनावी काम यो उपसमितिले गर्नेछ ।
सुरक्षा निकायलगायत प्रशासनसंग समन्वय महासचिव ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र कृष्णगोपाल श्रेष्ठले गर्ने तय भएको छ । प्रचार संयोजनको जिम्मा प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई दिइएको छ ।
प्रदेशमा निर्वाचनको तयारीका काम सम्बन्धमा जानकारी लिन र समन्वय गर्न भानुभक्त ढकाल, वंशीधर मिश्र, रघुजी पन्त, बेदुराम भुसाल, रामकुमारी झाँक्री, छविलाल विश्वकर्मा र अग्नी खरेललाई जिम्मा दिइएको छ ।
स्थायी कमिटीको निर्णयअनुसार सबै केन्द्रीय सदस्यहरू, केन्द्रीय निकाय, सल्लाहकार परिषद्, केन्द्रीय विभाग, जनसंगठनका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु एवं सांसदहरूलाई चैत्र मसान्तसम्ममा सम्बन्धित भूगोलमा पुगेर निर्वाचन अभियानमा सहभागी हुन निर्वाचन समन्वय समितिले निर्देशन दिएको छ ।
सम्पर्क समन्वय कमिटी र मातहत सम्पर्क मञ्चका सबै सदस्यलाई स्थानीय तह निर्वाचनमा सम्पूर्ण रुपमा केन्द्रीत हुन आग्रह गरेको छ । कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्