सम्पादकीय

१९५० को सन्धि खारेजी कि संशोधन ?



काठमाडौं, २५ चैत । नेपाल–भारत सम्बन्धको सबै पक्ष अध्ययन गरेर प्रतिवेदन दिने म्यान्डेट पाएको प्रबुद्ध व्यक्ति समूहको तेस्रो बैठकमा नेपालले १९५० को सन्धिका चार धाराले नेपाललाई अप्ठ्यारो परेको धारणा राखेको छ ।

तर, सन्धि संशोधन गर्ने कि खारेज गरेर नयाँ सन्धि गर्र्ने भन्नेमा नेपालले स्पष्ट धारणा राखेको छैन । इपिजीको बिहीबारको बैठकमा भारतीय पक्षको पनि ठोस जवाफ आएन ।

‘सन्धि पुनरावलोकन गर्ने कि खारेज गर्ने भन्ने विषयमा छलफल हुन बाँकी छ । त्यसलाई समसामयिक बनाउन खोजिएको छ,’ ‘इपिजीको नेपालतर्फका संयोजक डा। भेषबहादुर थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘के गर्ने भन्ने छलफलका क्रममा अन्तिममा थाहा होला ।

सन्धि असान्दर्भिक भएको भन्नेमा भारतीयहरू छलफल गर्न तयार रहेको र यसलाई सकारात्मक रूपमा लिनुपर्ने थापाले बताए । ‘पहिला कुरा राख्दा भारतीयहरू कानमा तेल हालेझैँ गरेर बस्थे,’ उनले भने, ‘अहिले भारतीयहरू पनि सिरियस छन् । कुरा सुन्न र छलफल गर्न तयार भएका छन् ।’

नेपालका तर्फबाट सदस्य नीलाम्बर आचार्यले बुधबारको बैठकमा सन्धिका असान्दर्भिक धारा भन्दै २, ५, ६ र ७ ले नेपाललाई अप्ठेरो पारेको बताएका थिए । इपिजी सचिवालय नारायणहिटीमा सञ्चारकर्मीसँग आचार्यले भने, ‘मैले नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखेर प्रस्तुतीकरण गरेको छु ।’

संयोजक थापाका अनुसार १९५० को सन्धिमा पहिले र अहिलेको अवस्था फरक रहेको विषयमा भारतीय पक्षले पनि महसुस गरेको छ । ‘भारतीयहरूले पनि अहिले कुरा सुनेका छन् ।

किनभने दुवै देशका प्रशासनिक उच्च तहमा नै यसबारे परिमार्जन गर्ने सहमति भइसकेको छ,’ थापाले भने, ‘वार्ता सौहार्दपूर्ण भएको छ । हाम्रो कुरा भारत पक्षले सुनेका छन्, उनीहरूको कुरा पनि हामीले सुनेका छौँ ।’

तेस्रो बैठकमा १९५० को सन्धि, जलस्रोत, व्यापार तथा पारवहन, सीमावर्ती क्षेत्रमा देखिएका समस्या र सीमाको समग्र व्यवस्थापनबारे पनि कुराकानी भएको थापाले बताए ।

नेपाली पक्षले नेपालको अन्तराष्ट्रिय भूमिका विस्तार भएको, शान्तिस्थापक सेनादेखि अन्य अन्तर्राष्ट्रिय गतिविधिमा नेपालको संलग्नता बढेको, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य पनि बदलिएको भन्दै सन्धि–सम्झौताका असान्दर्भिक विषय हटाउनुपर्ने धारणा राखेको थापाको भनाइ थियो ।

‘हामीले प्रस्तुत गरेका विषयमा के–के गर्ने, छलफलपछिका विषयलाई कुन स्वरूप दिने भन्नेमा अर्को बैठकमा कुराकानी होला,’ उनले भने । नयाँ पत्रिकामा समाचार छ ।