सम्पादकीय

सरकार ढाल्ने निधिको कसरत



काठमाडौं, २५ चैत । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि गम्भीर आक्षेप लगाएका छन् । कांग्रेसले सत्ताको नेतृत्व दिएबापत आफूलाई मन्त्रिपरिषद् (क्याबिनेट) बैठकमै सहभागी नगराउने षड्यन्त्र गरी गुन तिरेको भन्दै गृहमन्त्री निधि प्रधानमन्त्री दाहालविरुद्ध खनिएका हुन् ।

बिहीबार बोलाइएको मन्त्रिपरिषद् बैठक अनाचक आइतबारलाई सारेपछि कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई गृह मन्त्रालय बोलाउँदै निधि प्रधानमन्त्री दाहालविरुद्ध निकै आक्रामक बनेका हुन् । छलफलमा उनले आवश्यक परे सरकार छाड्नेसमेतको निर्णय सुनाएको एक मन्त्रीले बताए ।

‘प्रधानमन्त्री बनाइदिने कांग्रेसजस्तो सबैभन्दा ठूलो दललाई नै हेपेर मन्त्रिपरिषद् बैठकमा समेत मलाई नराख्ने र कमल थापालाई पहिलो वरीयता दिने योजना बनाएका रहेछन्, यो सूचना पाएर म काठमाडौंबाहिर नगएपछि बैठक नै सारियो,’ बैठकमा निधिको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने । ती मन्त्रीकाअनुसार प्रधानमन्त्रीको योजना थाहा पाएर आफू उपत्यकाबाहिर नगएपछि मन्त्रिपरिषद् बैठक नै सारिएको तथ्य उनले पेस गरेका थिए ।

प्रधानमन्त्री दाहालले आफू उपत्यकामा नहुने पूर्वनिर्धारित कार्यक्रमका आधारमा बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठक राख्ने योजना बनाएका थिए । गृहमन्त्री निधि बिहीबार बिहान जनकपुर जाने र स्थानीय निर्वाचनबारे पार्टीको आन्तरिक छलफलमा जुट्ने कार्यक्रम रहेको थियो ।

तर, उनले बिहानै आफू काठमाडौंबाहिर नजाने जनाई चाँडो बैठक राख्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । तर, प्रधानमन्त्रीले सो सूचना पाई आइतबारका लागि बैठक सारिएको निधिको आरोप छ ।

‘उपप्रधान तथा गृहमन्त्री बिहीबार बिहान जनकपुर जाने र जनकपुरका कार्यकर्ताहरूसँग दिनभर भेटघाट र निर्वाचनबारे छलफल गरेपछि शुक्रबार सप्तरी जाने कार्यक्रम थियो,’ निधिनिकट स्रोतले राजधानीसँग भन्यो, ‘बिहानै जनकपुरको कार्यक्रम रद्द गरेपछि प्रधानमन्त्रीले पनि मन्त्रिपरिषद् बैठक आइतबारलाई सारे । उनलाई बैठकमै नराख्ने प्रधानमन्त्रीको नियत प्रस्ट देखियो ।’

निधिनिकट स्रोतका अनुसार उनी सप्तरीको राजविराजमा एमाले सभा बिथोल्ने क्रममा सुरक्षाकर्मीसँग भएको झडपमा परी ज्यान गुमाएका परिवारलाई शुक्रबार सरकारका तर्फबाट राहत वितरण र बिहीबार बिहानै जनकपुर जाने कार्यक्रम रहेको थियो ।

मन्त्रिपरिषद् बैठक बस्ने भएपछि निधिले प्रधानमन्त्रीलाई फोन गरेर आफ्नो कार्यक्रम रद्द भएको सूचना दिएका थिए । निधिले प्रधानमन्त्रीलाई समयमै मन्त्रिपरिषद्को बैठक राखेर विषय टुंग्याउनसमेत आग्रह गरेका थिए । तर, मन्त्रिपरिषद्को बैठक आइतबारलाई सारिएपछि निधि आक्रोशित बनेका हुन् ।

सोही आधारमा उनले साँझ कांग्रेस मन्त्रीहरूको छुट्टै बैठक राखेर प्रधानमन्त्रीविरुद्ध खनिएका हुन् । मन्त्रीसँगको छलफलमा उनले प्रधानमन्त्रीले आफ्नो हैसियत भुलेर प्रधानमन्त्री बनाइदिने कांग्रेसलाई नजर अन्दाज गर्न खोजेको आरोप लगाए ।

प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणदेखि नै प्रधानमन्त्री र गृहमन्त्रीबीच उत्पन्न भएको विवादबीच राप्रपा अध्यक्ष कमल थापालाई आफूपछिको वरीयतामा रहने गरी उपप्रधानमन्त्री दिएपछि विवाद झनै चुलिएको छ ।

बिहीबार दिउँसो माओवादी केन्द्रको बैठकले पनि थापालाई सरकारमा दोस्रो वरीयतामा राख्ने सर्तमा नियुक्ति गरिएकाले दायाँबायाँ गर्न नसकिने निर्णय गरेपछि गृहमन्त्री निधिले पनि सरकारमा कांग्रेसका तर्फबाट सहभागी मन्त्रीहरूसँग छलफल गरेका हुन् । राजधानीमा समाचार छ ।