काठमाडौं, २६ चैत । खान सेइखुन भूतको सहर बनेको छ, यहाँका सडकमा मुर्दा शान्ति छाएको छ । मंगलबार रासयनिक ग्यास आक्रमणमा मारिनेका परिवार र आफन्त शोकमा डुबेका छन् ।
के भएको थियो भन्ने प्रमाणको रुपमा सहरको उत्तरी भागमा एक सानो खाल्डो छ जहाँ बिषाक्त ग्याससहितको रकेट खसेको थियो जसका कारण ७० भन्दा बढीले ज्यान गुमाए । सिरियामा ६ वर्ष पहिले सुरु भएयताको यो सबैभन्दा ठूलो रसायनिक आक्रमण थियो ।
मंगलबारको आक्रमणपछि मानिसहरु बस्ने घरहरु खाली छन् र इडलिब प्रान्तको यो शहरमा अहिले रकेटका टुक्राहरु अझै छरपष्ट छन् ।
सन् २०१३ मा दमास्कस नजिकैको विपक्षीको कब्जामा रहेको स्थानमा सरकारले रसायनिक आक्रमण गरेपछि १ हजार बढीको ज्यान गएको थियो । त्यसयता सरकारले रसायनिक हतियार प्रयोग छाडेको भनिएको थियो ।
राष्ट्रपति बसर अल असदका मुख्य सहयोगी रुसले सिरियाली सरकारले विद्रोहीहरुले सञ्चालन गरिरहेको ग्यास उत्पादन गर्ने प्लान्टमा बम आक्रमण गरेको र लगत्तै उक्त ग्यास लिक भएर यो अवस्थामा पुगेको बताइरहेको छ ।
तर, रसायनिक आक्रमणलगत्तै घटनास्थल पुग्दा विद्रोहीले सञ्चालन गरेको भनिएको गोदामनजिकै रसायनिक मिसाइल खसेको देखिन्थ्यो । उक्त गोदामसँगै रहेको टावरमा केही क्षति पुगेको थियो र गोदाम पुरै धुलोले पुरिएको थियो ।
स्थानीयका अनुसार उक्त टावर पनि ६ महिना अघि भएको बम आक्रमणले नष्ट भएको थियो र त्यसयता प्रयोगमा छैन । विद्रोहीले सञ्चालन गरेको ग्यास उत्पादन उद्योगमा आक्रमण गरेको भन्ने रुसी दाबी स्थानीयले पत्याएका छैनन् ।
‘तपाईंले यहाँ हेर्न सक्नुहुन्छ, यो गोदाममा केही खाद्यान्न र मरेका जीवजन्तुका अवशेष बाहेक केही छैन्’, एक स्थानीयले भने । रसायनिक ग्यासले त्यत्रा मानिस मार्दा भर्खरै खसालिएको मिसाइलले अन्य भवन क्षति पुगेको वा भत्किएका छैनन् । सडक वरपर रहेका घरहर बाहिरबाट हेर्दा जस्ताको तस्तै देखिन्छन् ।
गार्डियनले घटनालगत्तै प्रत्यक्षदर्शी, उद्दारकर्ता, पीडितका आफन्त र घाइतेसँग अन्तर्वार्ता लिएको थियो । अन्तर्वार्ता लिइएकाहरुले विश्वभर विरोध भएको यो घटनाको ताजा विवरण दिएका थिए ।
‘त्यो संसारकै अन्तिम दिन हो जस्तो लागेको थियो’, स्थानीय नागरिक रक्षा स्वयमसेवक हमिद खुटैनीले भने । प्रत्यक्षदर्शीका अनुसार हवाई आक्रमण मंगलबार बिहान साढे ६ बजेदेखि सुरु भएको थियो ।
त्यो चार घण्टासम्म चलेको थियो । सुरुमा उनीहरुले यो पनि पहिले भएजस्तै हवाई आक्रमण सम्झिए । मानिसहरु भुइँमै लड्न थालेपछि उनीहरुले बल्ल रसायनिक आक्रमण हो भन्ने बुझे ।
खुटैनले भने, ‘स्थानीयले हामीलाई बचाउन आउ भन्दै फोन गरे । उनीहरुले आफूहरु हिड्न पनि नसक्ने बताए ।’ त्यसलगत्तै केही उद्दार टोली घटनास्थल पुग्यो । उनीहरु सामान्य मास्कको भरमा थिए । खुटैनले घटनालगत्तै ५ सय मिटर परसम्म रसायनको गन्ध आएको बताए ।
प्रत्यक्षदर्शीका अनुसार घाइतेहरु मुखमा फिँज निकालेर भुइँमा छटपटाइरहेका थिए । उनीहरुको ओठ निलो भएको थियो र अर्धचेत अवस्थामा थिए ।
‘बालबच्चाहरु भुइँमै लडेको देखें । उनीहरुको ओठ निलो थियो’, आक्रमणलगत्तै उद्दारको लागि पुगेका अबु अल बराले भने । मिसाइलले बनाएको खाल्डो नजिकै उभिएर उनले आफ्नो अनुभव सुनाए,‘मानिसहरु छत, बार्दली, सडक जहाँतही छट्पटाइरहेका थिए । जहाँ हेर्यो त्यही लाश थियो ।’
ग्यास आक्रमणपछि छट्पटाइरहेकाहरुलाई नजिकैको नागरिक रक्षा केन्द्र (सिभिल डिफेन्स सेन्टर) लगेर अस्थायी क्लिनिक बनाएर उपचार गरिएको थियो ।
तर, घाइतेहरुलाई उपचार गरिरहेको बेलामा पनि ८–१० मिसाइल वरपर नै झरे । र, अस्थायी क्लिनिक पनि प्रभावहीन बन्यो । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्