काठमाडौं, २६ चैत । एकैचरणमा निर्वाचन गर्नुपर्ने पूर्व अडानबाट पछि हट्दै कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी मोर्चासँग सहमति भए निर्वाचन दुई चरणमा गर्न सकिने बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको शुक्रबार बसेको संयुक्त बैठकलाई सम्बोधन गर्दै देउवाले दुई चरणमा निर्वाचन गर्नेगरी मोर्चासँग समझदारी हुनसक्ने संकेत दिएका हुन् ।
‘निर्वाचनमा आउने समझदारी गरेमा दुई चरणमा भए पनि जानुपर्ने हुन्छ’ बैठकमा देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘निर्वाचन अब रोकिन्न । निर्वाचन हुन्छ–हुन्छ ।’ मोर्चासँग सहमतिको प्रयास भइरहेको पनि देउवाले जानकारी गराए ।
बैठकमा बोल्ने २८ सांसदमध्ये अधिकांशले एकैचरणमा निर्वाचन गर्न जोड दिएका थिए । मधेसका केही जिल्लालाई मात्रै अलग्याएर निर्वाचनमा जाँदा गलत सन्देश जाने भन्दै उनीहरुले एकैचरणमा निर्वाचन गर्नेगरी मधेसी मोर्चासंग समझदारी जुटाउन नेतृत्वलाई सुझाएका थिए ।
वैशाख ३१ को मिति सार्दा निर्वाचन नै नहुने खतरा रहने भएकाले मोर्चाको माग सम्वोधनका लागि दुई चरणमा भएपनि निर्वाचन गर्नका लागि लचक हुनुपरेको कांग्रेस नेतृत्वको भनाई छ । यसअघि कांग्रेस नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एकैचरणमा निर्वाचन गर्नेगरी मोर्चासंग समझदारी गर्न आग्रह गर्दै आएका थिए ।
संविधान संशोधनका अतिरिक्त मोर्चाका नेताहरुले छुट मतदाता नामावली थप्ने र स्थानीय इकाईको संख्या बढाउनु पर्ने अडान नछाडेपछि उनीहरुको सरोकार सम्वोधन गर्न सत्तापक्ष दुई चरणमै निर्वाचनमा जान तयार भएको हो ।मोर्चासंग समझदारी जुटेमा प्रदेश नम्वर २ र ५ का एघार जिल्लाको निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालले ल्याएका छन् ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावलाई सत्ता राजनीतिसंग जोडेर हेर्न थालिएकोमा आफ्नै पार्टी सभापति देउवासंग असन्तुष्ट पोखेका थिए । सत्ता स्वार्थकै कारण राष्ट्रिय राजनीति र सरकारमा पार्टीको भूमिका रक्षात्मक बनेको पौडेलको निष्कर्ष थियो ।
प्रधानमन्त्री दाहालका राजनीतिक तथा आर्थिक निर्णय र मन्त्रिपरिष्दको मर्यादाक्रमको बिषयले समेत पार्टीलाई रक्षात्मक बनाएको पौडेलले बताए । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्