सम्पादकीय

देउवा–निधि दूरी बढ्यो



काठमाडौं, २६ चैत । प्रहरी महानिरीक्षक नियुक्ति विवादलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच दूरी बढेको छ । निधिले सर्वोच्चको फैसलाअनुसार वरिष्ठताका आधारमा महानिरीक्षक नियुक्ति गर्नुपर्ने अडान राखेपछि देउवा उनीसँग आक्रोशित भएका हुन् ।

स्थानीय तहको निर्वाचन र प्रहरी महानिरीक्षक नियुक्तिका विषयमा निधिले बिहीबार पार्टीका तर्फबाट प्रतिनिधित्व गरेका कांग्रेस मन्त्रीहरूलाई बोलाएर छलफल गरेका थिए ।

निधिको छलफलप्रति सभापति देउवा असन्तुष्ट बनेको स्रोतले बतायो । छलफलमा अधिकांश मन्त्रीले स्वतन्त्र न्यायपालिकाको पक्षपाती पार्टीले सर्वोच्च अदालतको निर्णयविरुद्ध जान नमिल्ने भन्दै वरिष्ठताका आधारमा महानिरीक्षक नियुक्ति गर्नुपर्ने सुझाव दिएको एक मन्त्रीले बताए ।

‘उपप्रधान तथा गृहमन्त्री पनि सर्वोच्चको मानहानि हुने गरी प्रहरी महानिरीक्षक नियुक्ति गर्न नहुने अडानमा रहेको देखियो,’ ती मन्त्रीले भने, ‘अरू मन्त्रीहरूको सुझाव पनि त्यस्तै थियो ।’ निधि सुरुदेखि नै वरिष्ठताका आधारमा महानिरीक्षक नियुक्त गर्ने अडानमा थिए ।

तर आफ्नै पार्टी सभापति देउवाको ‘चेपुवा’मा परेर उनले जयबहादुर चन्दलाई बनाउने निर्णय लिएका थिए । त्यही बेलादेखि देउवा र निधिको सम्बन्ध धमिलिएको थियो ।

सर्वोच्चले चन्दलाई महानिरीक्षक बनाउने सरकारको निर्णय खारेज गर्दै वरिष्ठताका आधारमा नियुक्ति गर्न सरकारका नाममा निर्णय दिएको थियो । अदालतको उक्त निर्णयप्रति कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले समेत ‘कार्यकारणी अधिकारमाथि अदालतको हस्पक्षेप भएको’ निर्णय लिएको थियो । उक्त निर्णय सभापति देउवाकै आग्रहमा आएको थियो । त्यतिबैलै निधिलगायत नेताहरू अदालतको फैसलाविरुद्ध जान नहुने भन्दै त्यस्तो निर्णय गर्न नहुने पक्षमा उभिएका थिए ।

बुधबार पनि देउवा र निधिबीच महानिरीक्षक नियुक्तिका विषयमा छलफल भएको थियो । देउवाले चन्दलाई पुन: महानिरीक्षक बनाउनुपर्ने दबाब दिएका थिए । कान्तिपुरमा समाचार छ ।