सम्पादकीय

क्याबिनेट बैठकमा निधि गएनन्, सांसद्को प्रश्न –वरियता घुसको कबुल हो ?



काठमाडाै, २९ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि सोमबारको मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भए । वरीयता विवादका कारण गृहमन्त्री निधि मन्त्रिपरिषद् बैठकमा सहभागी नभएका हुन् ।

दुई उपप्रधानमन्त्रीको एक महिनायता देखिएको वरियता विवाद सोमबार संसद् बैठकमा पनि उठेको छ । विपक्षी दलका सांसद्हरुले मन्त्रीहरुले वरियता विवाद देखाएर पदलोलुपता देखाइरहेको आरोप लगाए ।

सोमबार संसद्मा विशेष समय लिएर बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले नै मुलुक ठप्प पारेर निकास नदिई गाईजात्रा देखाइरहेको आरोप लगाए । उनले सरकार टिकाउन सत्तारुढ दलले दोस्रो वरियतालाई घुसको कबोल गरेको आरोप लगाए । ‘सरकार धान्ने नाममा सत्ताधारी दलहरुले दोस्रो वरियतालाई घुसको कबोलका रुपमा प्रयोग गरेको देखियो ,’ केसीले भने, ‘एउटा मन्त्रिमण्डल बैठकमा ४० वटासम्म एजेण्डा हुन्छ । राज्यले पाउनुपर्ने निकास ठप्प गरेर सरकारले के गाईजात्रा देखाएको छ ?
एमाले सांसद् रेवतीरामण भण्डारीले राज्यको सेवासुविधा लिएर क्याबिनेट बैठक बहिष्कार गर्छु भन्नु संसदीय मान्यताविपरीत भएको बताए । नयाँ पत्रिकामा समाचार छ ।