सम्पादकीय

भारतले भन्यो – ४५ सय मात्रै भए पनि भारु साट



 काठमाडौं, ३० चैत । अर्थ मन्त्रालयले भारतीय पक्षको आग्रहअनुसार प्रतिबन्धित भारु नोट सटही व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । प्रतिबन्धित पाँच सय र हजार दरका भारु नोट प्रतिव्यक्ति ४ हजार ५ सय मात्र सटही गर्न भारतीय पक्षको आग्रह छ ।

भारत सरकारले पुराना पाँच सय र हजार दरका नोट प्रतिबन्ध लगाएपछि नेपालीसँग भएको ती नोट सटही हुन सकेको छैन । नेपाल र भारतबीच प्रतिव्यक्ति सटही सुविधा दिने अधिकतम सीमाबारे कुरा नमिल्दा नेपालीसँग भएको तोकिएका दरका सबै भारु सटही हुने वा नहुने अन्योल भएको छ ।

अर्थ मन्त्रालयले भारतले दिएको सीमाअनुसार नै नेपालीसँग रहेको पुराना भारु नोट सटहीको व्यवस्था गर्न राष्ट्र बैंकलाई मंगलबार पत्राचार गरेको छ । पहिलो चरणमा भारतको प्रस्तावअनुसार नै सटही सुविधा दिने र पछि थप भारु नोट सटहीका लागि सरकार र राष्ट्र बैंकबाट पहल गर्ने निर्णय भएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

राष्ट्र बैंकले प्रतिव्यक्ति २५ हजार भारुसम्म ठूला नोट बोकेर आउजाउ गर्नसक्ने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याइएकाले सोही परिमाणमा नोट सटही सुविधा दिन माग गरेको थियो । तर, भारतले प्रतिव्यक्ति चार हजार पाँच सय भारुसम्म सटही सुविधा दिन तयार रहेको नयाँ पत्रिकामा समाचार छ ।