सम्पादकीय

विद्युत जोगाउन प्राधिकरणको यस्तो योजना



काठमाडौं, ३० चैत । नेपाल विद्युत् प्राधिकरणले विद्युत् माग व्यवस्थापन (डिमाण्ड साइज म्यानेजमेन्ट) कार्यक्रमअन्तर्गत कम विद्युत् खपतमा बढी प्रतिफल दिने विद्युतीय उपकरणहरु प्रयोगलाई तीव्रता दिने तयारी गरेको छ।

प्राधिकरणले लेड बल्ल (बत्ती) र स्मार्ट सिलिङ फ्यानहरु प्रयोगमा ल्याउने तयारी गरेको हो। प्राधिकरणले यो योजना लागू भए बल्भ र पंखा विस्थापन गरी ८ अर्ब ६६ करोड रुपैयाँ बराबरको विद्युत बचत गर्ने दाबी गरेको छ।

‘भारतसँग त्यहाँ इनर्जी इफिसियन्सी सर्भिसेज लिमिटेडबाट उक्त बल्ब खरिद गर्ने मौखिक सहमति भएको छ’, उनले भने, ‘नेपाल र भारत सरकारबीच सम्झौता गरेर बल्ब खदिर प्रक्रिया अघि बढ्नेछ।’

यसअघि ६० देखि १०० वाट र त्योभन्दा माथिको क्षमताका विद्युत् खपत गर्ने चिमलाई विस्थापित गरी सिएफएल चिम प्रयोगलाई ब्यापक बनाएको प्राधिकरणले अब सिएफएलभन्दा पनि कम ऊर्जा खपत गर्ने लेड चिम र फ्यान प्रयोगलाई प्रोत्साहन गर्ने तयारी गरेको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका योजना तथा प्राविधिक सेवा विभागका निर्देशक ब्रजभूषण चौधरीले बताए। प्राधिकरणले यी दुवैथरि उपकरण वितरणका लागि हाल योजना बनाउने क्रममा रहेको र योजना सफल भए आगामी आर्थिक वर्षबाट नै एलइडी र स्मार्ट फ्यान वितरण गर्ने उनको भनाइ छ ।

वार्षिक २ अर्ब १२ करोड  बच्ने

विद्युत् माग व्यवस्थानकै लागि प्राधिकरणले करिब २ करोड थान सिएफएल र अन्य चिमलाई लेड बल्ब प्रतिस्थापन गर्ने योजना बनाएको छ। ‘१८ वाटको सिफएएल चिमले दिने उज्यालो करिब ९ वाटकै लेड चिमले दिन सक्छ,’ निर्देशक चौधरीले भने। यस कार्यक्रमका लागि प्राधिकरणले ऊर्जा मन्त्रालयमार्फत अर्थमन्त्रालयसँग करिब २ अर्ब २८ करोड बजेट माग गरेको छ। तर, बजेट माग गरेको लामो समय भइसक्दा पनि प्राप्त गर्न भने सकेको छैन।

प्रतिबल्ब करिब १ सय १४ रुपैयाँका दरले २ करोड थान लेड बल्ल वितरणका लागि प्राधिकरणले उक्त बजेट माग गरेको चौधरीको भनाइ छ। प्राधिकरणको प्रस्तावअनुसार नै ऊर्जाले अर्थमन्त्रालयमा बजेटको प्रस्ताव गरेको भए पनि हालसम्म अर्थले उक्त बजेट स्वीकृति नदिएको मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले बताए। ‘ऊर्जा मन्त्रालयले अर्थलाई उक्त शीर्षकमा बजेट प्रस्ताव पठाएको निकै भयो,’ पन्थले भने, ‘तर स्वीकृति दिएको छैन’, उनले भने।

२ करोड लेड बल्ब प्रयोगमा ल्याउँदा उच्च माग (पिक लोड)मा १५० मेगावाटले कमी आउने र वार्षिक २ अर्ब १२ करोड रुपैयाँ बराबरको विद्युत् बचत हुने उनको भनाई छ । त्यही ९१५० मेगावाट० क्षमताको जलविद्युत् आयोजना बनाउन करिब ३० अर्ब लाग्ने भएकोले प्राधिकरणले लेड बल्ब प्रयोगलाई प्रोत्साहन दिन लागेको उनले बताए ।

लेड बल्ब वितरण गर्न लाग्ने लगानी (२ अर्ब २८ करोड) विद्युत् बचतमार्फत करिब १३ महिनामा फिर्ता हुने पनि उनको भनाइ छ। लामो समय भइसक्दा पनि लेड बल्ब वितरण गर्ने योजना पूरा हुन सकेको छैन।

प्राधिकरणले भारतबाट पहिलो चरणमा एक करोड एलइडी बल्ब ल्याएर वितरण गर्ने र लगत्तै अर्को एक करोड पनि ल्याउने योजना रहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए। ‘भारतसँग त्यहाँ इनर्जी इफिसियन्सी सर्भिसेज लिमिटेडबाट उक्त बल्ब खरिद गर्ने मौखिक सहमति भएको छ’, उनले भने, ‘नेपाल र भारत सरकारबीच सम्झौता गरेर बल्ब खदिर प्रक्रिया अघि बढ्नेछ।’

स्मार्ट फ्यानले बचाउँछ वार्षिक साढे ६ अर्ब

प्राधिकरणले आफ्ना १८ लाख २८ हजार १६ ग्राहकलाई प्रतिग्राहक औषतमा ३ थान पर्ने गरी कुल ५४ लाख ८४ हजार ४८ थान फ्यान वितरण गर्ने अवधारणा अघि सारेको चौधरीले बताए।

‘पुराना प्रविधिका सिलिङ फ्यानहरु करिब ७० देखि ८० वाट क्षमताका छन्,’ उनले भने, ‘तर, ३० देखि ३५ वाट क्षमताका नयाँ प्रविधिका स्मार्ट फ्यानहरुले पनि उत्तिकै हावा दिन सक्छन्।’ चौधरीका अनुसार प्राधिकरणले ऊर्जा सक्षमता (इनर्जि इफिसियन्ट) प्रविधि अपनाइएका मोटरहरुको प्रयोग भएका सुपर इफिसियन्ट र स्मार्ट फ्यान प्रयोगमा ल्याउने अवधारणा बनाएको हो।

खासगरी ज्यादा गर्मी हुने तराई क्षेत्रमा गर्मी मौसमको ६ महिनामा मात्रै उक्त संख्यामा स्मार्ट फ्यान प्रयोगमा ल्याउन सके २०६ मेगावाट (६७५ गिगावाटआवर) विद्युत् बचत हुने उनको बताए। यस बापत वार्षिक ६ अर्ब ५४ करोड ७५ लाख रुपैयाँ बराबरको बचत हुने जनाएको छ।  तर, उक्त क्षमता (२०६ मेगावाट) को जलविद्युत् आयोजना ४८ अर्ब रुपैयाँ लगानी हुन्छ।

उक्त संख्यामा फ्यान वितरण गर्न करिब प्रति फ्यान ७ हजार रुपैयाँका दरले करिब ३८ अर्ब ३८ करोड ८३ लाख ३६ हजार रुपैयाँ लगानी हुने प्राधिकरकणको अनुमान छ । उक्त लगानी करिब ५ वर्ष ११ महिनामा असुल हुने अनुमान छ।

हाल छलफलकै चरणमा रहेकोले फ्यान वितरणको योजना भने बनिनसकेको उनले बताए। ‘पुराना फ्यानलाई स्मार्ट फ्यानले प्रतिस्थापन गर्ने विषय अहिले छलफलको क्रममा मात्र छ, योजना बनेको छैन,’ उनले भने, ‘तर, विद्युत् माग व्यवस्थापन गरी लोडसेडिङबाट सदैब जोगिन ऊर्जा सरक्ष (इनर्जि  इफिसियन्ट) उपकरणहरु प्रयोग गर्नुको आवश्यक छ । नागरिकमा समाचार  छ ।