काठमाडौं, ३० चैत । विस्केट जात्राको पहिलो दिन सोमबार राती ढुंगामुढामा संलग्न पाँचजनामाथि भक्तपुर प्रहरीले सार्वजनिक मुद्दा चलाउने भएको छ ।महानगरीय प्रहरी परिसर भक्तपुरले सोमबार राती भक्तपुर नगरपालिका-७ बस्ने वर्ष ३० का श्यामकृष्ण शाही, भक्तपुर नपा- ५ क्वाछें बस्ने वर्ष १८ का सञ्जीव फाँसिखो, भक्तपुर नपा- ९ तौलाछें बस्ने वर्ष २२ का सगुन प्रजापति, भक्तपुर नपा- ८ च्याम्हासिंह बस्ने वर्ष २६ का अविनव प्रजापति र ललितपुर जिल्ला बडिखेल- ७ घर भई हाल भक्तपुरको सूर्यविनायक बस्ने वर्ष २१ का विकेश पहरीलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका पाँचमध्ये ललितपुरका पहरी हातमा खुकुरी लिई जात्रामा हिंडिरहेको अवस्थामा पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले बताए। उनका अनुसार पक्राउ परेका पाँचैजनामाथि मंगलबार जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरिएको छ ।
‘ सम्मानित जिल्ला अदालतबाट पाँचैजनामाथि म्याद थप भइसकेको छ’, प्रनाउ प्रसार्इंले भने, ‘अब उनीहरुमाथि जात्रामा ढुंगामुढा गरेको तथा खुकुरी बोकेर हिँडेका आरोपमा सार्वजनिक मुद्धा लगाउँछौं ।’
रोकिएन ढुंगामुढा
यसैबीच यस वर्षको बिस्केट जात्रामा पनि ढुंगामुढा हुन रोकिएन । जात्रा शान्तिपूर्ण सम्पन्न गर्न प्रहरी प्रशासनले जात्राको एक महिनाअघि देखि नै विभिन्न तयारी गरिए पनि सोमबार ढुंगामुढा भएको हो । भैरवनाथको रथ तान्ने क्रममा सोमबार साँझ करिब आठ बजे ढुंगामुढा भएको हो । प्रहरीका अनुसार भैरवनाथको रथ टौमढीबाट गःहिटी तान्ने क्रममा टौमढीस्थित डबलीमा रथको पांग्रा अड्केपछि ढुंगामुढा भएको थियो ।
‘भैरवनाथको रथ गःहिटीतर्फ तान्ने क्रममा टौमढीस्थित डबलीमा रथको पांग्रा अड्केपछि ढुंगामुढा भएको थियो’, भक्तपुर प्रहरीका प्रवक्ता प्रनाउ प्रसाईंले भने, ‘केही क्षण भएको ढुंगामुढामा प्रहरीसमेत घाइते भएका छन् ।’ उनका अनुसार जात्राको पहिलो दिन चार प्रहरीसहित एघारजना घाइते भएका छन् ।
जात्रालुले प्रहार गरेको ढुंगाबाट प्रहरी सहायक निरीक्षकद्वय सरोज खत्री र अम्बिका लामा, प्रहरी हवल्दार राजनकुमार खत्री र प्रहरी जवान लक्ष्मी मल्ल घाइते भएका थिए ।त्यस्तै जात्रालुतर्फ भक्तपुर नपf – ३ वंशगोपालका सरोज शिल्पकार, भनपा-१० कमलविनायकका सञ्जीव मधिकर्मी, सुरज ठकुरी, भनपा-९ का सुरेश जरेजु, भनपा-३ का क्षितिज धुख्वा, मनोहर चौगुठी र गोकुल सुवाल घाइते भएको प्रनाउ प्रसार्इंले जानकारी दिए । उनका अनुसार सामान्य घाइते प्रहरी एवं जात्रालु उपचारपछि सोमबार राती नै घर फर्किसकेका छन् । अन्नपुर्णमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्