काठमाडौं, ३१ चैत । सुरक्षाका दृष्टिकोणले ०७३ सुखद वर्ष रह्यो । तुलनात्मक रूपमा यो वर्ष ठूला अपराध भएनन्, भएका अपराधको पनि प्रहरीले सफल अनुसन्धान गर्यो । यो वर्ष राज्यमा लुकेका केही संगठित अपराधलाई समेत प्रहरीले बाहिर ल्याएर दोषीहरूलाई कारबाही गर्न सफल भयो । ०७३ मा प्रहरीले गरेका टप १० अप्रेसनबारे रिपोर्टः
१. एयरपोर्टबाट हुने सुन तस्करीको पर्दाफास
तस्करीबाट भित्रिएको सुन त प्रहरीले पटक–पटक बरामद गर्दै आएको थियो । तर, २१ पुसमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बरामद गरेको सुनले देशमा ठूलै हल्लिखल्ली मच्चायो ।
विगतमा प्रहरीले सुन बरामद गरेलगत्तै थप कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउँथ्यो, तर यसपटक सिआइबीले संगठित अपराध मुद्दामा आफैँ अनुसन्धान अघि बढाउँदा देशमा कर्मचारी र प्रहरीकै मिलेमतोमा संगठित रूपमा भइरहेको सुन तस्करीको पर्दाफास भयो । प्रहरीले आफ्नै एसएसपीदेखि भन्सारका कर्मचारीलाई समेत हत्कडी लगायो ।
पक्राउ गर्न नसके पनि प्रहरीको अनुसन्धान मुख्य तस्करहरूसम्म पुग्यो । सिआइबीले १३ जना पक्राउ गरेकोमा एसएसपी श्याम खत्री र वैभवलक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका सञ्चालकहरू राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठ धरौटीमा छुटे । विमानस्थल भन्सार कार्यालयका तथ्यांक अधिकृत श्रीनारायण यादव तथा एक्सरे टेक्निसियनहरू राजकुमार ढकाल र श्याम श्रेष्ठ तथा तस्करीमा संलग्न रामहरि कार्की, दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपाल शाहीलाई अदालतले जेल पठायो ।
सिआईबीले गत २१ पुसमा विमानस्थलबाट भित्रिएको ३३ किलो ५ सय ७७।४० ग्राम सुन तिलगंगाबाट बरामद गरेको थियो । दुई महिना लगाएर अनुसन्धान गरी १२ जनालाई पक्राउ गरी सिआइबीले गत २२ फागुनमा उनीहरूविरुद्ध मुद्दा दायर गर्यो । अनुसन्धानको क्रममा तस्करीका मुख्य नाइके हरिशरण खड्का, रोशन (गुप्तलाल) भुसाल, राजन पन्थ, अर्जुन खरेल, किसनगोपाल अग्रवाल, चूडामणि उप्रेती, सीताराम खरेल, केशव चापागाईं, गोपी भुसाल भएको खुल्यो ।
उनीहरूविरुद्ध प्रहरीले रेडकर्नर नोटिस जारी गर्ने तयारी गरेको छ । सो समूहले विगत डेढ वर्षयता विमानस्थलबाट करिब दुई हजार केजी सुन तस्करी गरेको खुल्यो । भन्सार कर्मचारीलाई र प्रहरीलाई प्रभावमा पारी उक्त गिरोहले संगठित रूपमा सुन तस्करी गर्दै आएको थियो । उक्त अनुसन्धानपछि विमानस्थलबाट हुँदै आएको तस्करी रोकिएको छ । यो अनुसन्धानले सिआइबीको मात्र होइन, डिआइजी नवराज सिलवालको समेत छवि माथि उठायो ।
२. मिटर उल्टो घुमाउने गिरोह फन्दामा
जनताले एक दशकयता लोडसेडिङ भोग्दै आएका थिए । त्यसको एउटा कारण विद्युत् चोरी पनि हो । तैपनि नेपाल विद्युत् प्राधिकरणले विद्युत् चोरी नियन्त्रण गर्न सकेको थिएन । विद्युत् चोरी बढ्नुको कारण प्राधिकरणभित्रकै कर्मचारी थिए । उनीहरूले मिटर उल्टो घुमाएर विद्युत् चोरीमा सघाउँदै आएका थिए ।
अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी सर्वेन्द्र खनालले यो सूचना पाएपछि गत माघमा अप्रेसन चलाए । जसमा प्राधिकरणका २३ जना कर्मचारीको संलग्नता खुल्यो ।
३. दुर्गा तिवारी हत्याकाण्ड
०७३ को हाइप्रोफाइल मर्डरमा पर्दछ दुर्गा तिवारीको हत्या । गत ४ पुसमा युवा संघ रूपन्देहीका अध्यक्ष तिवारीको हत्या भयो । यो घटनाको अनुसन्धानमा प्रहरीको एउटा ठूलो टोलीले एक महिना खर्चियो ।
अनुसन्धानपछि हत्यामा सहयोगी भूमिका खेल्ने केहीलाई प्रहरीले पक्राउ गर्यो । रूपन्देही देवदहकै मनोज पुनको योजनामा उनको हत्या भएको थियो । एसएसपी शेरबहादुर बस्नेतको नेतृत्वमा भएको अनुसन्धानले घटनाको एक महिनापछि प्रहरीले हत्यामा संलग्न वसन्तबहादुर चापागाईं, तिलोत्तमाका बुद्धिसागर यादव र उनका भाइ राजेश यादव, तिलोत्तमाकै प्रयास भनिने खेमानन्द भट्टराई, देवदहका सागर थापा, नवलपरासीका अंगद थारू र देवदहका ऋषिश्वर कुमाललाई पक्राउ गर्यो ।
तिवारीसँगको पुरानो दुस्मनी र आतंक मच्चाउन उनले त्यस्तो हत्या गरेको अनुसन्धानमा खुल्यो । भारतमा अन्डरवल्र्ड शैलीमा बस्दै आएका पुनले तिवारी हत्यापछि विभिन्न व्यक्तिलाई धम्क्याएर पैसा असुल्दै आएका छन् । बुटवलबाट मात्र उनले एक करोडभन्दा धेरै उठाइसकेको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीले निकै दुःख गरेर हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गरेको थियो ।
हत्यामा संलग्न केही व्यक्तिलाई प्रहरीले पक्राउ गरे पनि मुख्य नाइकेलाई भने पक्राउ गर्न प्रहरी असफल छ । पुनसहित विकास भन्ने सोमबहादुर आले, श्याम गुरुङ फरार छन् । सुटरको त प्रहरीले नामसमेत पत्ता लगाउन सकेको छैन ।
४. हुसेन र रइसको सिरियल किलिङ
सकिल हुसेन र मोहम्मद रइस । यो यस्तो आपराधिक जोडी हो, जसले पैसाका लागि नौजनाको ज्यान लियो । विभिन्न प्रलोभनमा फसाउने र नजिकिएर पैसा हात पारेपछि मार्ने र भाग्ने उनीहरूको शैली हो । शृंखलाबद्ध हत्यामा संलग्न उनीहरूमध्ये रइसलाई गत भदौमा प्रहरीले पक्राउ गर्यो भने हुसेन अझै फरार छन् ।
रइसलाई प्रहरीले विदेशबाट फर्कंदै गर्दा विमानस्थलबाट पक्राउ गरेको थियो । रइससहितको समूहले सप्तरीमा ०६९ मा सहबुद मियाँ र उनकी बुहारी सगिरा खातुनको हत्या गर्यो । त्यस्तै, ०७० मा जन्डौल ६ की दुलारीदेवी साह र त्रिकोल गाविस– ५ की निर्मलादेवी साहको हत्या गरेको थियो । यस्तै सुनसरीको इनरुवामा एकै परिवारका तीनजनाको हत्यामा पनि सोही समूहको हात थियो ।
कारागारबाट छुटाउने भन्दै आश्वासनमा ठगी गरेपछि सहबुद मियाँ र सगिरा खातुनको उनीहरूले हत्या गरेका थिए । सहबुदका छोरा र सकिल हुसेन राजविराज कारागारमा थिए । जेलमा छोरा भेट्न जाने क्रममा सहबुदको उनीहरूसँग भेट भएको थियो । सकिल जेलबाट छुटेपछि सहबुदको घरमा ‘म पनि पैसा खर्च गरेर छुटेको हुँ, तपाईंको छोरालाई पनि पैसा दिए छुटाइदिन्छु’ भन्दै आश्वास दिएका थिए ।
त्यसरी उनीहरूले करिब २ लाख हात पारे । कारागारबाट छुटाउनका लागि काठमाडौंसम्म जानुपर्छ भन्दै १० असोज ०६९ मा दुवैजनालाई आफ्नो मोेटरसाइकलमा राखेर कल्याणपुर ८ मा आफैँले सञ्चालन गरेको कुखुरा फर्ममा लगी हत्या गरेर शव गाडेका थिए । घटनाको करिब तीन वर्षपछि मात्र प्रहरीले शव उत्खनन गरेको थियो ।
जेलबाट छुटाइदिने भन्दै ६ लाख लिएर उनीहरूले सप्तरी जन्डौल– ६ की दुलारीदेवी साहको पनि हत्या गरेका थिए । दुलारीदेवीका पति धीरेन्द्र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सप्तरी जिल्ला कारागारमा थिए । उनीहरूले दुलारीदेवीलाई भेटेर पैसा भए छुटाइदिन्छौँ भन्दै जग्गा बेच्न लगाएर ६ लाख लिए ।
६ मंसिर ०७० मा उनीहरूले कारागारमा भेट्न बोलाई बेलुकासम्म विभिन्न बहाना बनाएर राजविराजमै राखी अलमल्याई मोटरसाइकलमा घर पुर्याइदिने भन्दै जंगलमा लगेर हत्या गरी गाडेका थिए । वैशाखमा मात्र उनको शव उत्खनन भएको थियो ।
उनीहरूले अर्का हत्या बैदेसिक रोजगारीका नाममा ठगेको तीन लाख रुपैयाँ पचाउनका लागि गरेका थिए । सप्तरीकै त्रिकोल– ५ बस्ने निर्मलादेवीलाई छोरा दीपकलाई वैदेशिक रोजगारीमा पठाइदिने बहाना बनाई तीन लाख जम्मा गर्न लगाए । पैसा जम्मा गरेपछि मेडिकल गर्ने बहानामा १ चैत ०७० मा घरबाट लहान लगेर सोही राति घाँटी रेटेर हत्या गरेका थिए ।
उनीहरूले सुनसरीमा आफ्नै परिवारको समेत हत्या गरे । सदरमुकाम इनरुवामा हुसेनले जन्डौलका ५० वर्षीय ससुरा इद्रिस नट मियाँ, सासू ४५ वर्षीया जैतुन खातुन र श्रीमती १७ वर्षीया सेरुन खातुनको हत्या गरेको प्रहरीले जनाएको छ । उक्त हत्या जग्गाको विवादमा भएको थियो ।
५. पोखराका साइको सिरियल किलर
३० वर्षीय भारतीय युवक अखिलेश झाले लामो समय पोखरामा आतंक मच्चाए । रातको समयमा एक्लै हिँड्ने युवतीहरूलाई पिछा गर्दै आक्रमण गर्ने अनौठो अपराध लत उनमा थियो । भारतको मध्यप्रदेश घर भई पोखरा बस्दै आएका झाले १७ जनालाई आफ्नो ‘सिकार’ बनाइसकेका छन् । तीमध्ये दुईजनाले ज्यान नै गुमाए । अन्य १५ जना गम्भीर घाइते भए ।
‘साइको सिरियल किलर’का रूपमा लिइएका झा गत १४ भदौमा प्रहरी जालमा परे । वडा प्रहरी कार्यालय बैदामले निकै मिहिनेत गरेर उनलाई पक्राउ गर्यो । इन्स्पेक्टर मोहनमणि अधिकारीको कमान्डमा भएको सूक्ष्म अनुसन्धानले उनी फन्दामा परेका थिए ।
उनी पक्राउ पर्नुभन्दा अगाडिसम्म पोखरामा आतंक नै मच्चिएको थियो । लामो समयसम्म अपराधीको पहिचान हुन नसक्दा भूतले त्यसरी युवतीलाई आक्रमण गरेको हुन सक्नेसमेत आँकलन थियो ।
भूतको शैलीमा आक्रमण गर्ने झा पक्राउ परेपछि पोखरावासीले सुरक्षित महसुस गरे । लेकसाइडमा ह्यान्डीक्राफ्ट पसल चलाउने झाले राति केटी एक्लै हिँडेको देख्दा नराम्रो लाग्ने भएकाले आफूले आक्रमण गरेको बताए । हाल उनी जेलमा छन् ।
६. रूपन्देहीमा सिरियल किलिङको रहस्योद्घाटन
पाँच वर्षदेखि बुटवलआसपास क्षेत्रमा हत्या र डकैतीको शृंखला चल्दै आएको थियो । सुतिरहेकै अवस्थामा टाउकोमा हानेर मार्ने र गहना लुट्ने घटना एकपछि अर्को गर्दै बढिरहेको थियो । पाँच वर्षमा पाँचजनाको हत्या भएको थियो भने १५ जना घाइते भएका थिए । यो हत्या र डकैतीको घटना एउटा डरलाग्दो रहस्य बनिसकेको थियो । अनुसन्धानमा प्रहरी असफल बन्यो ।
पछिल्लोपटक अञ्चल प्रहरी कार्यालय लुम्बिनीका तत्कालीन एसएसपी शेरबहादुर बस्नेत र इप्रका बुटवलका डिएसपी मुकुन्द मरासिनीले विशेष टोली बनाएर अनुसन्धान अघि बनाए ।
प्रहरीले गम्भीरताका साथ अनुसन्धान अघि बढाइरहेकै वेला तिहारको मुखमा गत १२ कात्तिकमा देवदहनिवासी २१ वर्षीया नमकला पाण्डेको हत्या भएको थियो । हत्याको शैली उस्तै थियो । त्यही पुरानो समूहबाटै हत्या भएको थियो । हत्यापछि पाण्डेको मोबाइल पनि चोरी भएको थियो ।
उक्त मोबाइल बुटवलका एक ट्याक्सीचालकलाई बिक्री गरिएको थियो । त्यही मोबाइलबाट अनुसन्धान गरी प्रहरीले शृंखलाबाट हत्या र डकैतीको रहस्य बाहिर ल्यायो । सर्लाहीका चमरु हजारीले त्यसरी बुटवलमा हत्या र डकैती शृंखला चलाउँदै आएका थिए । तर, सजिलै उनले अपराध स्वीकार गरेनन् । अपराधको मनोवैज्ञािनक तरिका अपनाएपछि उनले अपराध स्वीकार गरेको डिएसपी मरासिनी बताउँछन् ।
६० वर्षीय चमरु बच्चैदेखि यस्तो धन्दामा लागेका व्यक्ति थिए । पछिल्लो पाँच वर्षयता उनले भदौदेखि कात्तिकसम्म मात्र डकैती र हत्या गरेका थिए । यो वेला गर्मी हुने भएकाले तराईमा धेरैजना ढोका नलगाई तथा कोठाबाहिर सुत्ने भएकाले उनले यस्तो समय रोजेका थिए । चमरु पक्राउ परेपछि बुटवल आसपास क्षेत्रको ठूलो आतंक पनि प्रहरीले यही वर्ष हल गर्न सफल भयो ।
७. अप्रेसन हकको फन्दा पाइलट
गत वर्ष प्रहरीले नक्कली प्रमाणपत्रधारी चिकित्सहरूविरुद्ध ‘अप्रेसन क्वाक’ अभियान चलाएर ४० भन्दा धेरै चिकित्सकलाई पक्राउ गरी मुद्दा चलायो । त्यसपछि अरू क्षेत्रमा पनि नक्कली प्रमाणपत्रधारीहरूको बिगबिगी रहेको खुल्न थाल्यो । नक्कली प्रमाणपत्रधारी इन्जिनियरहरू पक्राउ परे ।
त्यसपछि प्लेन उडाउने पाइलटहरूको समेत सर्टिफिकेट नक्कली हुने गरेको खुल्यो । सिआइबीले नक्कली पाइलटविरुद्ध यो वर्ष ‘अप्रेसन हक’ चलायो । जसमा गोमा एयरका विशाल कार्की र बुद्ध एयरका को–पाइलट स्वच्छन्द घले पक्राउ परे ।
नक्कली पाइलटविरुद्ध सिआइबीले अप्रेसन हक अभियान चलायो । दुईजना पक्राउ परेपछि अन्य नक्कली प्रमाणपत्रधारी पाइलटले जागिर छाडेका थिए । प्रहरीको यो अप्रेसनमा हवाई क्षेत्रको सुरक्षामा महत्वपूर्ण सुधार गर्यो ।
८. सिउडो अप्रेसनमा सफलता
लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले पनि यो वर्ष महत्वपूर्ण अप्रेसनहरू गर्यो । खासगरी औषधि कम्पनीहरूबाटै वर्षौंदेखि हुँदै आएको लागुऔषधको अवैध धन्दा बाहिर ल्यायो ।
देशका चर्चित व्यवसायी पवन संघाई, पूर्वसभासद् मधुसूदन अग्रवाललगायतका व्यक्तिहरूले चलाएको औषधि कम्पनीले नियन्त्रित रसायन सिउडो इफ्रेडिन औषधि बनाउन भनेर आयात गरेर अन्तर्राष्ट्रिय लागुऔषध कारोबारी गिरोहलाई बिक्री गर्दै आएको खुल्यो । प्रहरीले व्यवसायी रतनलाल संघाईलाई पक्राउ गरेरै मुद्दा चलायो । पवन संघाईलगायत अझै फरार छन् ।
त्यस्तै, पूर्वसंसाद अग्रवाललगायत विरुद्ध पनि प्रहरीले मुद्दा चलाउन सिफारिस गरेकोमा सरकारी वकिलले उनीहरूलाई उन्मुक्ति दिएपछि अभियोजन विवादमा तानियो । सरकारी वकिलहरू निलम्बनमा परे । प्रहरीको अनुसन्धानमा पनि प्रश्न उठ्यो । यद्यपि यो घटनाले औषधि कम्पनीहरूले गर्दै आएको डरलाग्दो धन्दा बाहिर ल्याइदियो ।
९. अन्तर्राष्ट्रिय ह्याकरको जालो तोड्दै
नेपाल अन्तर्राष्ट्रिय आपराधिक गिरोहको ट्रान्जिट बन्दै गएको छ । लामो समयदेखि वन्यजन्तुदेखि लागुऔषधसम्मको कारोबारमा अपराधीहरूले नेपाललाई ट्रान्जिट बनाउँदै आएका छन् । यो वर्षदेखि नेपाललाई अन्तर्राष्ट्रिय ह्याकरहरूले समेत ट्रान्जिट बनाएको खुल्यो ।
नेपालमा दर्जनौँ अन्तर्राष्ट्रिय ह्याकरहरू सक्रिय छन् । जसमध्ये केहीले नेपाली ग्राहककै पैसासमेत चोरी गरेपछि ठूलै तरंग ल्यायो । यस्तो समूहहरूमध्ये सातवटा समूहलाई प्रहरीले पक्राउ गर्न सफल भयो । सिआइबीले नै अन्तर्राष्ट्रिय एटिएम ह्याकरविरुद्ध अप्रेसन चलायो । वर्षभरि नै सिआइबीले एटिएम ह्याकरविरुद्ध अप्रेसन चलायो ।
गत पुसमा प्रहरीले बुल्गेरियन नागरिक डिमो अटानासोभ स्टेफानोभ पक्राउ परे । उनी अरूभन्दा फरक ह्याकर थिए । पिन नम्बरसमेत चोरी गरी उनले नेपालीकै पैसा चोरी गर्दै आएका थिए ।
एटिएम बुथमा सानो आकारको गोप्य क्यामरा राख्दथे । सोही क्यामराबाट ग्राहकले डायल गर्ने पिन नम्बर पत्ता लगाउँथे । एटिएम कार्डको डाटा चोर्न उनले एटिएम कार्ड राख्ने स्किमरमा अर्को एउटा डिभाइस राखेका थिए ।
कार्डको डाटा र पिन नम्बर पत्ता लगाएपछि उनले ल्यापटपबाट खाली कार्डमा डाटा राख्थे र पिन नम्बर प्रयोग गरी पैसा निकाल्थे । नक्कली एटिएम कार्ड बनाउने म्याग्नेटिभ स्ट्राभइ रिडर र तथा राइटर उनीसँग थियो । त्यसकारण सजिलै उनले नेपालको एटिएम बुथहरू प्रयोग गरी नक्कली एटिएमबाट पैसा चोर्दै आएका थिए । उनको साथबाट प्रहरीले १७ हजार २ सय ५० अमेरिकन डलर, ६ सय युरो, हिडेन क्यामेरा, स्किमर, ल्यापटपलगायतका सामान बरामद गर्यो ।
त्यस्तै नेपालीकै ६ लाखभन्दा धेरै चोरी गरिसकेका २ जना भारतीय युवकलाई पक्राउ गर्यो । दिल्ली घर भएका निरञ्जन मेहता र चण्डिगढका इक्तेदार खानलाई पक्राउ गरेको हो । सिआइबीले गत २५ कात्तिकमा टर्कीका मुजारिम उजुन र सेलाहात्तिन यावरलाई पक्राउ गरेको थियो ।
त्यस्तै, १९ कात्तिक १९ मा रोमानियाका घिता हुजुम, लोसिफ मोरारु र एलेक्से क्रिस्टियनलाई पक्राउ गरेको थियो । त्यस्तै, गत ११ कात्तिकमा बुल्गेरियाका डिमो एटान्सोभलाई समेत पक्राउ गरेको थियो । १९ चैतमा पनि प्रहरीले ५ विदेशी ह्याकरलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
१०. नक्कली भारु अप्रेसन
नक्कली भारतीय रुपैयाँ नेपालमा बरामद हुनु नयाँ कुरा होइन । पटक–पटक प्रहरीले बरामद गर्दै आएको छ । तर, यो वर्ष यस्तो नक्कली भारु प्रहरीले बरामद गर्यो, जुन नेपालकै बजारका लागि ल्याइएको थियो ।
विगतमा भारत लैजान नेपाल ट्रान्जिट मात्र बन्ने गरेको थियो । गत वर्ष वैशाखमा नेपाल प्रहरीको विशेष ब्युरोले एक अप्रेसन चलाई त्यस्तो गिरोहलाई पक्राउ गर्यो । ब्युरोले बुढानीलकण्ठका सुमन मल्ल, सप्तरी घर भई धुम्बाराही बस्ने तारिणीप्रसाद ठाकुर, दोलखा घर भई धुम्बाराही बस्ने मीना जिरेल, रूपन्देही घर भई धुम्बाराही बस्ने विजय शर्मा, गुल्मी घर भई महादेवटार बस्ने सनद प्रधान र डोटी घर भई कालोपुल बस्ने अमृतमान श्रेष्ठलाई मंगलबार सार्वजनिक गरेको छ । उनीहरूबाट १९ लाख ८७ हजार नक्कली भारु बरामद भएको थियो ।
उनीहरूले लाखौँ नक्कली भारु भित्र्याइसकेका थिए । भारु नेपालमा पनि चल्ने भएकाले उनीहरूले नेपालमै नक्कली भारुको कारोबार सुरु गरिसकेका थिए । प्रहरीले समयमै अप्रेसन नगरेको भए यो ठूलो समस्या बन्न सक्थ्यो । नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्