काठमाडौं, ३१ चैत । संसारभर मृत्युदण्ड पाउनेको संख्यामा कमी आएको छ । एम्नेस्टी इन्टरनेसनलले एउटा प्रतिवेदन सार्वजनिक गर्दै सन् २०१६ मा विश्वभर मृत्युदण्डमा कमी आएको जनाएको हो । प्रतिवेदनअनुसार मृत्युदण्ड पाउने व्यक्तिको संख्यामा ३७ प्रतिशतले गिरावट आएको छ ।
चीनमा धेरैलाई मृत्युदण्ड
प्रतिवेदनअनुसार गत वर्ष चीनमा सबैभन्दा बढी मानिसलाई मृत्युदण्ड दिइएको थियो । मृत्युदण्डसँग सम्बन्धित विवरणलाई बेइजिङले गोप्य राख्ने भएकाले चीनमा मृत्युदण्डको सजाय पाउने वास्तविक व्यक्तिको संख्या थाहा पाउन गाह्रो हुने गरेको एम्नेस्टीले जनाएको छ ।
चीनमा हरेक वर्ष औसतमा एक हजारले मृत्युदण्ड पाउँछन् । ‘चीन विश्वकै नेतृत्व लिन चाहन्छ । तर, अहिले उसले मृत्युदण्डको सवालमा संसारको नेतृत्व गरिरहेको छ । अन्य देशको तुलनामा चीनमा मृत्युदण्ड पाउने मानिसको संख्या उच्च छ,’ एम्नेस्टी इन्टरनेसनलका महासचिव सालिल सेट्टीले भने ।
न्यायिक क्षेत्रमा चीन सरकार विश्वमै सबैभन्दा पछाडि रहेको उनले बताए । सन् २०१६ मा चीनबाहेक अन्य देशका एक हजार ३२ जनालाई मृत्युदण्ड दिइएको एम्नेस्टीको प्रतिवेदनमा उल्लेख छ । चीनपछि गत वर्ष मध्यपूर्व र उत्तर अफ्रिकामा सबैभन्दा बढीलाई मृत्युदण्ड दिइएको थियो ।
अमेरिकामा घट्यो मृत्युदण्ड
अमेरिकामा मृत्युदण्ड पाउने मानिसको संख्यामा ह्वात्तै गिरावट आएको छ । अमेरिकामा एक दशकमै पहिलोपटक मृत्युदण्डमा कमी आएको छ, जसका कारण मानवअधिकारवादीमा केही उत्साह र आशा पलाएको छ । गत वर्ष अमेरिकामा २० जनालाई मृत्युदण्ड दिइएको थियो ।
उनीहरूमध्ये धेरैलाई घातक इन्जेक्सनको प्रयोग गरिएको थियो । अमेरिकामा २८ सय ३२ मानिस मृत्युसँग सम्बन्धित विभिन्न विवादमा तानिएका छन् । मृत्युदण्डमा आंशिक रूपमा कमी आउनुमा घातक इन्जेक्सन रिपोर्टबारे थप न्यायिक सुनुवाइ र विभिन्न राज्यमा विष बिक्रीमा कडाइलाई लिइएको छ ।
मध्यपूर्व तथा उत्तर अफ्रिका
मध्यपूर्व तथा उत्तर अफ्रिकामा सन् २०१६ मा आठ सय ५६ जनालाई मृत्युदण्ड दिइएको थियो । यो तथ्यांक अघिल्लो वर्षको तुलनामा २८ प्रतिशत न्यून हो । इरानमा गत वर्ष मात्र पाँच सय ६७ जनालाई मृत्युदण्ड दिइएको थियो ।
‘मध्यपूर्व र उत्तर अफ्रिकामा गम्भीर सुरक्षा खतराको कारण देखाउँदै मृत्युदण्ड दिइएको छ, तर मृत्युदण्डपछि पनि ती देशमा हिंसामा कुनै कमी आएको छैन,’ एम्नेस्टी इन्टरनेसनलको मृत्युदण्डसम्बन्धी समूहका प्रमुख जेम्स लिन्चले भने । ती क्षेत्रमा गरिब र सीमान्तकृन्त समुदायका मानिसलाई विनाअपराध मृत्युदण्डको भागिदार बनाइएको उनले बताए ।
साउदी अरब र इजिप्टमा बढ्यो
साउदी अरबमा गत वर्ष एक सय ५४ जनालाई मृत्युदण्ड दिइएको थियो । यो संख्या सन् १९९५ यताकै सबैभन्दा बढी हो । त्यस्तै, इजिप्टमा सन् २०१५ मा २२ जनालाई मृत्युदण्ड दिइएकोमा गत वर्ष दोब्बरलाई फाँसी दिइएको थियो । विश्वमा सर्वाधिक मृत्युदण्ड दिने मुलुकको सूचीमा इजिप्ट छैटौँ स्थानमा छ ।
राष्ट्रपति अब्देल फताह इल सिसीले प्रमुख विपक्षी राजनीतिज्ञ र मुस्लिम ब्रदरहुडलाई निसाना बनाएपछि इजिप्टमा मृत्युदण्ड पाउनेको संख्या बढेको छ । ‘अदालतमा निष्पक्ष सुनुवाइको अभावमा इजिप्टमा सामूहिक मृत्युदण्ड पाउने व्यक्तिको संख्या बढेको छ ,’ एम्नेस्टीले भनेको छ । नयाँ पत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्