चितवन, ३१ चैत । चितवनको स्थानीय निकायमा राजनीतिक दललाई उम्मेदवार छान्न सकस परेको छ । आकाङ्क्षी धेरै भएकाले उनीहरुलाई नाम छान्न सकस देखिएको हो ।
जिल्लामा प्रमुख राजनीतिक दलका नेताले चैतको २५ देखि २८ गतेसम्ममा उम्मेदवार तय गरिसक्ने बताएका थिए । तर चैतको मसान्तसम्म पनि उनीहरुले कुनै पनि स्थानीय तहमा उम्मेदवार तय गर्न सकेका छैनन् ।
नेपाली काँग्रेस जिल्ला कोषाध्यक्ष शङ्कर कँडेल अहिले प्रक्रिया चलिरहेको जानकारी दिनुहुन्छ । महानगरको हकमा सर्वसम्मत हुन नसकेमा केन्द्रले तय गर्ने उहाँ बताउनुहुन्छ । उम्मेदवारको चाहना बुझ्ने काम भइरहेको भन्दै कँडेलले भन्नुभयो, “खैरहनी, कालिका र राप्ती नगरपालिकाका केही वडाको सर्वसम्मत उम्मेदवार छनोट भएका छन्, ३ गते क्षेत्रले टुङ्ग्याएर ७ गते जिल्लाले सिफारिस गर्छ ।” काँग्रेसमा प्रमुख र उपप्रमुखमा आकाङ्क्षी धेरै भएकाले समस्या परेको स्रोतको भनाइ छ । काँग्रेसमा यसअघि भरतपुर महानगरको प्रमुखमा मात्रै २२ जनाको नामावली आएको थियो ।
नेकपा एमालेमा पनि त्यस्तै सकस छ । हालका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले चैत २८ सम्ममा उम्मेदवार छनौट टुङ्ग्याउने बताउनुभएपनि आजसम्म कुनै क्षेत्रमा पनि टुङ्ग्याउन सकेको छैन । सो दलका जिल्लासचिव तेजेन्द्र खड्का गाउँ र नगरका वडाबाट सिफारिस आए पनि निर्णय हुन बाँकी रहेको तर नगर प्रमुख र उपप्रमुखमा भने वैशाख ७ गतेभित्र टुङ्ग्याउने बताउनुहुन्छ ।
नेकपा माओवादी केन्द्रमा पनि चुनावी माहोल तातेपनि उम्मेदवार छान्न आकाङ्क्षी बढेकाले सकस नै भएको छ । चैत २५ र २६ मा सक्ने सार्वजनिक गरे पनि अहिलेसम्म टुङ्गो लाग्न नसकेको छैन । जिल्ला नेता घनश्याम दाहाल ‘अविनाश’ वैशाख ३ गते वडा तहको टुङ्ग्याउने गरी काम भइरहेको उल्लेख गर्नुहुन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत आफ्नो उम्मेदवार छान्ने प्रक्रिया तीव्र पारेको छ । जिल्ला अध्यक्ष बद्री तिमिल्सिना अहिले उम्मेदवार छनोट प्रक्रिया करिब अन्तिम चरणमा पु¥याएको बताउनुहुन्छ । तर वडाको समेत कुनै निर्णय उसले पनि गर्न सकेको छैन । भरतपुर महानगरको प्रमुखमा भने अहिलेसम्म आफ्नो मात्रै नाम परेको र अरू कोही आकाङ्क्षी नरहेको तिमिल्सिना बताउनुहुन्छ ।
जिल्लामा अहिले भरतपुर महानगरपालिकासहित रत्ननगर, खैरहनी, राप्ती, कालिका नगरपालिका छन् भने इच्छाकामना गाउँपालिका छन् । सात स्थानीय तहमा सात प्रमुख र सातजना उपप्रमुख, ९८ वडामा ९८ वडाध्यक्ष तथा सदस्य तीन सय ९२ गरी पाँच सय चार निर्वाचित हुन्छन् । रासस
प्रतिक्रिया दिनुहोस्