काठमाडौं, १ बैशाख । कलेज ड्रेसमा विद्यार्थीले बाइक चलाए पाँच हजार र मोबाइल बोकेमा तीन हजारसम्म जरिवाना तथा घुँडाभन्दा छोटो स्कर्ट लगाउने छात्रालाई निष्कासन गर्ने सम्मको कारबाहीको व्यवस्था आचारसंहितामा छ ।
कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी सरकारले बनाएको आचारसंहिता कलेज र विद्यार्थीले पालना गरेका छैनन् । विद्यार्थीले मोबाइल, मोटरसाइकल प्रयोग गर्न नपाउने, छात्राले छोटा स्कर्ट लगाउन नपाउनेलगायतको व्यवस्था गरी आचारसंहिता बनाइएको छ । तर, आचारसंहिता बनेको लगभग ४ वर्ष बित्न लागिसक्दासमेत त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को संयोजनमा शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी २८ असोज २०६९ देखि लागू हुने गरी ६३ बुँदे उच्च माध्यमिक तह आचारसंहिता बनाइएको थियो ।
विद्यालय शिक्षाको अन्तिम परीक्षालाई विगतका वर्षहरूमा एसएलसी भनिन्थ्यो भने अहिले एसइई भनिन्छ । सो परीक्षा उत्तीर्ण गरेपछि प्रायः विद्यार्थीले आफ्ना अभिभावकसँग विभिन्न माग राख्छन् । त्यसमध्येमा धेरैजसोको रोजाइमा मोबाइल, बाइक पर्ने गर्छन् ।
विद्यार्थीको पढाइमा नराम्रो असर परिरहेको, दुर्घटना हुने, उच्छृंखलता बढ्ने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न आचारसंहिता बनाइएको थियो । तर, केही विद्यार्थी भने आचारसंहिताले आफूहरूलाई अन्याय गरेको बताउँछन् । हेराल्ड इन्टरनेसनल कलेजका प्रिन्सिपल नारायण उपाध्याय आफूहरूले पूर्ण रूपमा आचारसंहिता कार्यान्वयन गर्न नसकेको स्विकार्छन् । ‘हामीले केही हदसम्म आचारसंहिता कार्यान्वयन गरेका छौँ, तर यसको प्रभावकारी कार्यान्वयनमा भने चुकेकै हौँ’, उनले भने ।
आचारसंहिता उल्लंघन गरे यस्तो छ कारबाही
कक्षा ११ र १२ का विद्यार्थीलाई विद्यालय(कलेज परिसरमा मोबाइल चलाउन प्रतिबन्ध लगाइएको छ । मोबाइलजस्तो कुरा टिनएजका विद्यार्थीको रवाफ देखाउने साधन भएको भन्दै निषेध गरिएको थियो । विद्यार्थीले मोबाइल प्रयोग गरेमा विद्यालयले जफत गरी पहिलोपटकका लागि चेतावनी पत्रसहित अभिभावकलाई बुझाउने, पुनः विद्यार्थीबाट सो आचरण भएमा विद्यालयले मोबाइल जफत गरी तीन हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । तर, यसमा कलेजहरू जिम्मेवार नबनेको अभिभावक संघका अध्यक्ष केशव पुरीको आरोप छ ।
त्यस्तै, मोटरसाइकल प्रयोग गर्न नपाउने प्रावधान पनि आचारसंहितामा उल्लेख छ । यसरी कक्षा ११ र १२ का विद्यार्थीले मोटरसाइकल चलाउँदा एकातर्फ विकृति देखापरेको र अर्कोतर्फ अत्यधिक दुर्घटना हुन थालेपछि विद्यार्थीलाई कलेज ड्रेसमा मोटरसाइकल चलाउन प्रतिबन्ध लगाइएको थियो । यदि विद्यार्थीले अटेर गरी चलाएमा पहिलोपटक अभिभावलाई जिम्मा लगाउने र पुनः प्रयोग गरे प्रत्येकपटक ५ हजार रुपैयाँका दरले जरिवाना गर्ने व्यवस्था छ । ‘शिक्षा मन्त्रालय र शिक्षा विभागले अनुगमन गर्न नसक्दा आचारसंहिताको उल्लंघन भइरहेको छ’, अध्यक्ष पुरीले भने ।
कलेजमा छात्राहरूले अत्यधिक छोटो स्कर्ट लगाउँदा विकृति फैलन थालेपछि यसको मापदण्ड तय गरिएको थियो । जसमा छात्राहरूले स्कर्ट लगाउँदा घुँडाभन्दा कम्तीमा २ इन्च तल हुनुपर्ने प्रावधान रहेको छ । यदि उल्लंघन गरेमा कलेज प्रशासनले कारबाही गरी निष्कासनसमेत गर्न सक्नेछ ।
कक्षा ११ र १२ का विद्यार्थी विद्यालय-कलेजको पोसाकमा कुनै पनि होटेल, सिनेमाहल, पार्क, सपिङ मललगायतको स्थानमा गएको पाइएमा सरोकारवाला निकायले प्रहरीको जिम्मा लगाउने व्यवस्था छ । विद्यालय÷कलेजको अनुशासन विभागको जिम्मा लगाई आवश्यक कारबाही गर्न सक्नेछ ।
त्यस्तै, विद्यार्थीले कक्षा बंक गरेमा बोर्ड परीक्षासमेत दिनै नपाउने गरी निष्कासित हुने प्रावधान रहेको छ । हाजिर भइसकेपछि विद्यार्थीले कक्षा बंक गरेको पाइएमा विद्यालयले विभिन्न किसिमको कारबाही गर्न पाउने व्यवस्था पनि रहेकाले पहिलोपटक बंक गरेमा विद्यार्थीलाई चेतावनी दिई अभिभावकलाई जानकारी दिने, दोस्रोपटक बंक गरेमा पाँच सय जरिवाना गरी अभिभावकलाई जानकारी दिने, तेस्रोपटक बंक गरेमा एक हजार जरिवाना गरी अभिभावकलाई जानकारी दिने, चौथोपटक बंक गरेमा अभिभावकलाई समेत कडा चेतावनी दिई दुई हजार जरिवाना गर्ने र पाँचौँपटक बंक गरेमा विद्यालयबाट निष्कासन गरी बोर्ड परीक्षामा समेत सामेल नगराउन सक्नेसम्मको व्यवस्था रहेको छ ।
ग्लोबल कलेज अफ म्यानेजमेन्टकी विद्यार्थी एलिसा लामिछाने आफूहरूले पूर्ण रूपमा आचारसंहिता पालना गरेको बताउँछिन् । भन्छिन्, ‘विद्यार्थीले आचारसंहिता पालना गरे वा गरेनन् भने अनुगमन हुनुपर्ने हो । तर, त्यसो हुन सकेको छैन । जसले गर्दा यसको प्रभावकारी कार्यान्वयन नभएको हो ।’
यसरी भयो आचारसंहिताको उल्लंघन
राजधानीका निजी क्याम्पसमा प्रायः बाहिरी जिल्लाका विद्यार्थी अध्ययन गर्छन् । जसले गर्दा धेरैजसो आफ्नो अभिभावकको निगरानीभन्दा बाहिर हुन्छन् । त्यस्ता विद्यार्थीले आफू स्वतन्त्र भएको महसुस गर्छन् । विशेषगरी निजी कलेजका विद्यार्थी आफूलाई बिन्दास मुडमा राख्न रुचाउँछन् । त्यही बिन्दास हुने चाहनामा उनीहरूले आफ्नो संस्कृतिलाई भुल्दै र आधुनिक संस्कृतिलाई प्रोत्साहन गरिरहेका छन् भन्दा कुनै अत्युक्ति नहोला ।
साथै, छात्राले स्कर्ट लगाउँदा छात्र आकर्षित हुने भएकाले विद्यार्थी संख्या बढाउन कलेजहरू स्कर्टमा बढी प्रतिस्पर्धी भएको विद्यार्थी संकेत आचार्य आरोप लगाउँछन् । ‘विद्यार्थीलाई अनुशासनमा राख्ने बहानामा कतिपय कलेजले आन्तरिक नियम पनि बनाउँछन्, तर त्यो नियमको पनि उल्लंघन गर्दै विद्यार्थी आफूखुसी कलेज पोसाकमै खुलेआम रूपमै खाने, खेल्ने, घुम्ने, रमाइलो गर्ने उद्देश्यले सिनेमा हल, पार्क, रेस्टुरेन्टलगायतका स्थानमा भेटिन्छन्,’ उनी भन्छन्, ‘तर त्यसको अनुगमन कतैबाट हुन सकेको छैन । न त यस्तो गर्नेलाई कारबाही नै भएको छ ।’
पछिल्लो समय काठमाडौंका चर्चित सिनेमा हल, पर्यटकीय स्थल, पार्क, गुम्बा एवं रेस्टुरेन्टमा चुरोटको धुवाँ उडाइरहेका, कलेज ड्रेसमै ब्वाइफ्रेन्ड एवं गर्लफ्रेन्ड एक–आपसमा रमाइरहेका र चलचित्र हलमा ड्रेसमै भेटिन्छन् विद्यार्थी । यसरी खुलेआम रूपमा विद्यार्थी यस्तो स्थानमा देखिनुमा सम्बन्धित निकाय, कलेज र अभिभावक नै गैरजिम्मेवार भएको हिसानका अध्यक्ष रमेश सिलवाल बताउँछन् । आचारसंहिताको प्रभावकारी कार्यान्वयन किन भएन भन्ने प्रश्नमा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल आफूहरू कडाइका साथ आचारसंहिता कार्यान्वयन गराउने बाटोमा लागिसकेको बताउँछन् । भन्छन्, ‘आचारसंहिता कार्यान्वयनलाई चुस्त बनाउने योजना बनाइसकेका छौँ, अब चाँडै नै त्यसको रिजल्ट आउँछ ।’
मोटरसाइकल चढ्नेहरू कारबाहीमा
मोटरसाइकल चलाएर आचारसंहिता उल्लंघन गर्ने केही विद्यार्थीलाई भने प्रहरीले कारबाही गरेको छ । आर्थिक वर्ष ०७२÷७३ मा एक हजार नौ सय एकजना र चालू आर्थिक वर्ष ०७३(७४ मा चार सय ४४ जना विद्यार्थीलाई कारबाही गरिसकेको ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रहरी नायब उपरीक्षक सविन प्रधानले जानकारी दिए । तर, कलेजहरूमा अझै पनि बाइक लिएर जाने विद्यार्थी थुप्रै छन् । उनीहरूलाई कलेज प्रशासनको भने कुनै रोक छैन ।
विद्यार्थी तह लगाउन चुल्ठे मुन्द्रे ?
विद्यार्थीलाई अनुशासनमा राख्न भन्दै कलेजहरूमा डिसिप्लिन इन्चार्ज (डिआई) राख्न थालिएको छ । तर, डिआईमा राखिएका व्यक्तिहरूको आफ्नै पृष्ठभूमि भने खराब हुने गरेको छ । प्रहरी अधिकारीहरूका अनुसार धेरैजसो कलेजमा गुन्डागर्दी पृष्ठभूमिका व्यक्तिहरू डिआईमा नियुक्त हुने गरेका छन् ।
राम्रो अध्ययनसमेत नगरेका व्यक्तिहरूलाई कलेजहरूले अनुशासन हेर्ने जिम्मेवारी दिएको हुन्छ । जसका कारण कतिपय कलेजमा पटक–पटक विवादसमेत भएका छन् । विद्यार्थीस“ग राम्रो व्यवहार नगर्ने र कतिपय डिआईहरूले गलत गतिविधिमा संलग्न विद्यार्थीहरूलाई सघाउने गरेका छन् । तीन वर्षअघि जेभियर्स एकेडेमीका एक विद्यार्थीले डिआईकै यातनाका कारण आत्महत्या गरेका थिए । विद्यार्थी सुस्किन गैरेले डिआई प्रकाश श्रेष्ठको यातनाका कारण आत्महत्या गरे । पछि श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो ।
गत वैशाखमा बालुवाटारस्थित इन्टरनेसनल कलेजका डिआई सुदीप गुरुङले आफ्नै विद्यार्थीलाई सट्टेबाजी खेलाउने गरेको खुलेको थियो । प्रहरीले गुरुङसहित विद्यार्थीहरूलाई पक्राउ गरेको थियो । गत वर्ष ललितपुरको कुमारीपाटीस्थित क्यास्पियन कलेजका डिआई दीपेन्द्र श्रेष्ठले कानको जाली फुट्ने गरी विद्यार्थी सलन श्रेष्ठलाई कुटेका थिए ।
जुन घटनामा उनी पक्राउसमेत परे । स्रोतका अनुसार डिआई नियुक्तिमै टोले गुन्डाहरूले आफ्नो मान्छे राख्न दबाब दिने गरेका छन् । त्यसरी नियुक्त भएका डिआईबाट अनुशासन कायम हुन सकेको छैन । कलेजमा डिआईका रूपमा काम गर्ने कतिपय व्यक्तिहरू गलत पृष्ठभूमिका हुने गरेको काठमाडौं परिसरका एसपी प्रद्युम्न कार्कीले बताए । डिआई नियुक्त गर्दा पृष्ठभूमि हेरेर राख्नुपर्ने उनको भनाइ छ । नयाँ पत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्