काठमाडौं, १ बैशाख । स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोगले तयारीलाई तीव्र बनाइरहेका छन् । मुख्य राजनीतिक दलहरू पनि स्थानीय तहमा आफ्नो उपस्थिति बलियो बनाउन कम्मर कसेर लागेका छन् ।
रूपान्तरित संसद्मा प्रतिनिधित्व गर्ने साना दल पनि निर्वाचनमा होमिने तयारीमा छन् । केही साना आफ्ना माग पूरा नभएको भन्दै पहिला संविधान संशोधन गरेर माग पूरा गरेपछि मात्रै निर्वाचनमा सहभागी हुने बताइरहेका छन् । केही भने संगठन नभएको भन्दै निर्वाचनभन्दा पनि संगठन निर्माणमा सक्रिय भएर लागेका छन् ।
नेकपा माले
नेकपा मालेले निर्वाचनमा भाग लिने निर्णय गरिसके पनि कुन–कुन जिल्लामा उम्मेदवार उठाउने भाग लिने भन्ने यकिन गरिसकेको छैन । पार्टी महासचिव सिपी मैनालीले ५० देखि ६० जिल्लाका स्थानीय तहमा भाग लिने तयारी पार्टीको रहे पनि कुन–कुन जिल्लामा भाग लिने भन्ने टुंगो लाग्न बाँकी रहेको नयाँ पत्रिकालाई जानकारी दिए ।
स्थानीय निर्वाचनका लागि आवश्यक पर्ने पार्टीको घोषणापत्र निर्माण भइरहेको बताउँदै मैनालीले उम्मेदवारको निक्र्योल गर्ने जिम्मा भने जिल्लाका कमिटीलाई दिइएको जानकारी दिए । रूपान्तरित संसद्मा मालेको ५ सिट छ ।
नेपाल मजदुर किसान पार्टी
नेपाल मजदुर किसान पार्टीले निर्वाचनमा भाग लिने भए पनि कति स्थानीय तह र जिल्लामा भाग लिने भन्ने यकिन गरिसकेको छैन । भक्तपुर जिल्लामा बलियो पकड रहेको नेमकिपाले दलहरूस“ग तालमेल गरेर भए पनि सकभर धेरै स्थानमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने जनाएको छ । संसद्मा यसको ४ सिट छ ।
नेकपा संयुक्त
नेकपा संयुक्तले स्थानीय तह निर्वाचनमा २१ जिल्लाका स्थानीय तहमा उम्मेदवारी दिने भएको छ । २७ जिल्लामा कार्यसमिति भए पनि जिल्ला निर्वाचन कार्यालयमा २१ जिल्लामा मात्र दल दर्ता गराएकाले सबै जिल्लामा उम्मेदवार दिन नपाउने भएको पार्टी अध्यक्ष गणेश शाहले बताए ।
पार्टीका सांसद जयदेव जोशी वर्तमान गठबन्धन सरकारमा जनसंख्या तथा वातावरण मन्त्री छन । रूपान्तरित संसद्मा यो पार्टीको तीन सिट छ ।
राष्ट्रिय जनमोर्चा
राष्ट्रिय जनमोर्चाले ६५ जिल्लामा उम्मेदवार उठाउने भएको छ । पार्टीको घोषणापत्र निर्माण र उम्मेदवार तय गर्ने काम भइरहेको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिइन् ।
उम्मेदवार तय भइसकेको भन्दै उनले केही दिनमा घोषणा गरिने बताइन् । रूपान्तरित संसद्मा राष्ट्रिय जनमोर्चाको तीन सिट छ । निर्वाचन प्रचारप्रसार गर्न सो पार्टीले ६ सदस्यीय टोली बनाएर देश दौडाहामा पठाएको छ ।
परिवार दल
परिवार दलले ७५ जिल्लाकै ७ सय ४४ स्थानीय तहमा उम्मेदवारी दिने तयारी गरे पनि प्राविधिक त्रुटि देखिएकाले अन्योल पैदा भएको बताएको छ । निर्वाचन आयोगका कारण २८ जिल्लामा मात्रै पार्टी दर्ता भएको परिवार दलका अध्यक्ष एकनाथ ढकालले बताए ।
व्यवस्थापिका संसद्मा दुई सिट रहेको सो पार्टीको ७५ जिल्लामै कार्यसमिति रहेको अध्यक्ष ढकालको भनाइ छ । संसद्मा यो पार्टीको दुई सिट छ ।
पार्टीले जिल्लास्तरमा आफ्नो प्रतिनिधित्व देखाउन तालमेल गर्ने तयारी गरिरहेको पनि अध्यक्ष ढकाले जानकारी दिए । ‘केन्द्रमा कुनै पनि दलसँग तालमेल हुँदैन,’ अध्यक्ष ढकालले नयाँ पत्रिकासँग भने, ‘जिल्लामा भने पार्टीको प्रतिनिधित्व सुनिश्चित गर्न विचार र भावना मिल्ने पार्टीसँग आवश्यकताअनुरूप तालमेल गर्ने जिम्मेवारी जिल्ला नेतृत्वलाई नै दिइएको छ ।’
दल दर्ता गर्न प्राविधिक कारणले छुटेका जिल्लामा दर्ताको व्यवस्था गरिदिन निर्वाचन आयोगसमक्ष परिवार दलले आग्रह गरेको भए पनि आयोगले यसबारे कुनै निर्णय दिएको छैन ।
राष्ट्रिय मधेस समाजवादी पार्टी
राष्ट्रिय मधेस समाजवादी पार्टीले संविधान संशोधन नहुँदासम्म निर्वाचनमा भाग नलिने स्पष्ट पारेको छ । संविधान संशोधनमा सहमति जुटे निर्वाचनमा भाग लिने तयारीमा पार्टी रहेको महासचिव केशव झाले बताए ।
झाका अनुसार तराईका जिल्लासमेत २७ जिल्लामा पार्टीको संगठन छ । यसले निर्वाचनमा भाग लिने गरी कुनै पनि जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराएको छैन । तर, संगठनको प्रयोजनका लागि भने २७ जिल्लामा दल दर्ता गरिएको झाले बताए । संसद्मा यो दलको दुई सिट छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) अहिले आन्दोलनमै छ । प्रदेशको सीमांकन संशोधन भए मात्र निर्वाचनमा सहभागी हुने उसको भनाइ छ । पार्टी अध्यक्ष रुक्मिणी चौधरीले आफूहरू निर्वाचमा सहभागी हुने वा नहुने सरकारको हातमा रहेको बताइन् ।
‘हामी निर्वाचनमा सहभागी हुने या नहुने भन्ने यकिन छैन, छलफलमा छौँ । सरकारले हाम्रा माग पूरा गर्न लचकता देखाउँछ या देखाउँदैन त्यसमा भर पर्छ,’ चौधरीले नयाँ पत्रिकासँग भनिन् । रूपान्तरित संसद्मा एक सिट रहेको पार्टीको तराईका २२ जिल्लामा कार्यसमिति छ ।
अखण्ड नेपाल
अखण्ड नेपाल पार्टीले ५७ जिल्लामा उम्मेदवार उठाउने भएको छ । केही जिल्लामा उम्मेदवार तय गरिसकेको र बाँकी रहेका जिल्लामा वैशाख पहिलो साताभित्र तय गरिसक्ने पार्टी अध्यक्ष एवं महिला बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले जानकारी दिए ।
विशेषगरी पश्चिमाञ्चल विकास क्षेत्रमा आफ्नो क्रियाशीलता देखाएको पार्टीले विचार मिल्ने र पार्टीलाई सम्मान गर्ने अन्य दलसँग तालमेल गर्न पनि सम्बन्धित जिल्ला समितिलाई अख्तियारी दिएको छ । पार्टीको रूपान्तरित संसद्मा एउटा सिट छ ।
नेपाल सद्भावना पार्टी
नेपाल सद्भावना पार्टीले ३ वैशाखमा बोलाएको महासमिति बैठकबाट ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भाग लिने–नलिने निर्णय गर्ने भएको छ । यद्यपि, पार्टी अध्यक्ष अनिल झाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसमक्ष राखेका माग पूरा नभएसम्म स्थानीय निर्वाचनमा भाग लिन नसकिने बताएका छन् । तराईका २० सहित काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर जिल्लामा पार्टी संगठन भएको नेपाल सद्भावनाको रूपान्तरित संसद्मा एउटा सिट छ ।
मधेसी जनअधिकार फोरम गणतान्त्रिक
संविधान संशोधनको माग राख्दै आन्दोलन गरिरहेको मधेसी मोर्चाको एउटा घटक भएकाले मधेसी जनअधिकार फोरम गणतान्त्रिकले स्थानीय तह निर्वाचनको तयारी गरेको छैन ।
पार्टी अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन भएपछि मात्रै स्थानीय तहको निर्वाचनबारे छलफल गरिने बताए । यो पार्टीको तराईका २० जिल्लामा संगठन रहेको यादवले जानकारी दिए । २० जिल्लाका निर्वाचन कार्यालयमा दल दर्ता गरिएको भए पनि निर्वाचनमा भाग लिने तयारी नरहेको उनले बताए ।
नेपाः राष्ट्रिय पार्टी
नेपाः राष्ट्रिय पार्टी भने स्थानीय तहको निर्वाचनमा सहभागी नहुने भएको छ । पार्टी खोलेको छोटो समय मात्र भएको र जनतालाई पार्टीका विषयमा आवश्यक जानकारी गराउन बाँकी रहेकाले यसपटक स्थानीय निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको पार्टी अध्यक्ष लक्ष्मण राजवंशीले जानकारी दिए । ‘हाम्रो पार्टी नयाँ छ, संख्या थोरै छौँ ।
पार्टी छ भन्ने नै आममानिसलाई जानकारी छैन,’ राजवंशीले नयाँ पत्रिकासँग भने, ‘त्यसैले अहिले निर्वाचनमा सहभागी हुने भन्दा हामी संगठन निर्माणमा कन्द्रित हुन चाहन्छौँ । यो पार्टीको रूपान्तरित संसद्मा एउटा सिट छ ।
जागरण पार्टी नेपाल
जागरण पार्टी नेपालले स्थानीय तहको निर्वाचनमा सहभागी हुने गरी आवश्यक तयारी गरिरहेको छ । विशेषगरी पूर्वी क्षेत्रका २२ जिल्लालाई लक्षित बनाएर उम्मेदवारी दिने तयारी भइरहेको पार्टी अध्यक्ष लोकमणि ढकालले जानकारी दिए । पार्टीले उम्मेदवार चयन र घोषणा पत्र तयारीको काम गरिरहेको उनले बताए । संसद्मा यो पार्टीको पनि एउटा सिट छ ।
नयाँ शक्तिः ७४४ तहमै उम्मेदवारी दिने तयारी
नयाँ शक्तिले ७५ जिल्लाका ७ सय ४४ वटै स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने तयारी गरिरहेको छ । पार्टी प्रवक्ता खिमलाल देवकोटाले कुनै जिल्लामा तालमेल हुने अवस्थाबाहेक सबै स्थानीय तहमा उम्मेदवार बनाउन पार्टीका निकायहरू लागिरहेको बताए ।
चुरेभावर र समाजवादी जनता पार्टी तालमेलको तयारीमा
समाजवादी जनता पार्टी र चुरेभावर राष्ट्रिय एकता पार्टी तालमेल गरेर निर्वाचनमा होमिने भएका छन् । झापा, मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुरलगायत २५ जिल्लाका स्थानीय तहमा उम्मेदवार उठाउने तयारी उनीहरूको छ ।
चुरेभावर पार्टीका अध्यक्ष बद्री न्यौपानेले २५ जिल्लाका स्थानीय निकायमा १० वैशाखभित्र तालमेलमा उम्मेदवार तोकी सकिने बताए । तीबाहेकका जिल्लामा स्वतन्त्र रूपमा उम्मेदवारी दिने कसरत भइरहेको न्यौपानेले जानकारी दिए । समाजवादी जनता पार्टीको रूपान्तरित संसद्मा एक सिट छ भने चुरेभावर सिटविहीन छ । नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्